नेपाल उद्योग परिसंघ कोशीको पाँचौं वार्षिक साधारणसभा सम्पन्न, आर्थिक तथा कार्यप्रगति प्रतिवेदन सर्वसम्मत पारित

आइतबार, १८ माघ २०८२

विराटनगर : नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिको पाँचौं वार्षिक साधारणसभा विराटनगरस्थित रत्ना होटलमा सम्पन्न भएको छ। परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष पवन कुमार सारडाको अध्यक्षतामा सम्पन्न साधारणसभाले संस्थाको वार्षिक कार्यक्रम, योजना तथा कार्यप्रगति प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ। कोषाध्यक्ष साकेत राठीले प्रस्तुत गरेको आर्थिक प्रगति प्रतिवेदन समेत सभाले अनुमोदन गरेको हो।

साधारणसभाका प्रमुख अतिथि परिसंघका केन्द्रीय गभर्निङ काउन्सिल सदस्य बासुदेव गोल्यानले नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले पूर्वका उद्योगी व्यवसायीको हकहितका लागि उदाहरणीय काम गरेको बताए। अध्यक्ष सारडाले स्वागत तथा सम्बोधन गर्दै उद्योगी व्यवसायीमाथि बिना कारण अनेक आक्षेप लाग्ने गरेको गुनासो गरे। उनले राज्यले उद्योगी व्यवसायीको सुरक्षा गर्न नसकेको, तस्करी नियन्त्रण प्रभावकारी हुन नसकेको उल्लेख गर्दै सुरक्षा निकायको ध्यानाकर्षण गराए।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेपाल उद्योग परिसंघ का केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे, सुनसरी अध्यक्ष अनिल अग्रवाल लगायत परिसंघ कोशीका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो। सोही अवसरमा परिसंघका तर्फबाट कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी विनोद घिमिरेलाई स्वागत तथा सम्मान गरिएको थियो।

डिआईजी घिमिरेले उद्योगी व्यवसायी अर्थतन्त्रकै मेरुदण्ड भएको बताए। देशको आय वृद्धि र आर्थिक सुदृढीकरणमा उद्योगीहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै औद्योगिक सुरक्षाका लागि प्रहरीले सधैं सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले चुनौतीपूर्ण परिस्थितिमा समेत अन्ततः कानुनकै राज हुने स्पष्ट पारे।

साधारणसभामा परिसंघ केन्द्रीय समितिका लागि आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटसम्बन्धी सुझाव उद्योगी व्यवसायीबाट संकलन गरिएको थियो। संकलित सुझावहरू नेपाल उद्योग परिसंघ केन्द्रीय समितिमा पठाइने जनाइएको छ। सुझावमा विभिन्न स्थानमा राजनीतिक आडमा अवैध रूपमा कवाडी कर उठाउने प्रवृत्ति, मूल्य अभिवृद्धि कर, भन्सार दर तथा सरकारी खर्च प्रणालीमा सुधार आवश्यक रहेको विषय समेटिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार