के हामीले चाहेको गणतन्त्र यस्तै हो ?

शनिबार, १६ मंसिर २०८०
रिकेश निरौला हजारौँ नेपाली जनताहरूको बलिदानबाट दुई ४० वर्ष लामो इतिहास बोकेको राजतन्त्रको विधिवत् रूपमा अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनको व्यवस्था लागू भएको आज १६ वर्षमा छ, मुलुक । जन निर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते शाह वंशीय राजतन्त्रको विधिवत् रूपमा अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको ऐतिहासिक संविधान सभाको बैठकबाट घोषणा भएको स्मरण गर्दछु । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुनेगरी ल्याएको गणतन्त्रमा हरेक नेपाली नागरिकहरूले सरकारप्रति निकै ठुलो आशा राखेका थिए । तर, आजको दिनसम्म आइपुग्दा जनताहरूको आशा निराशामा परिणत हुँदै आएको बुझ्न सकिन्छ । देशले समृद्धि र विकासको पाटोमा फड्को मार्ने, प्रत्येक नेपाली नागरिकहरूले राज्यबाट समान हक अधिकार पाउनेजस्ता अन्य थुप्रै चाहनाहरू अझै अधुरै छन् । गणतन्त्र प्राप्तिपछि पनि अझै देश शान्त बन्न नसक्दा जनता चरम निराशा छाएको छ । दश वर्षे लामो सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा ल्याएको गणतन्त्रले आम जनताले आशा गरेजस्तो उपलब्धि अझै हासिल गर्न सकेको छैन । यो तीतो यथार्थलाई अधिकांश जनताहरूले औँल्याउने गरेका छन् । ज्यालादारी र मजदुरी गरेर आफ्नो दैनिक जीवन गुजारा गर्ने, छोराछोरी पढाउने र अन्य घर खर्च चलाउने नागरिकलाई भने लोकतन्त्र, गणतन्त्र र सङ्घीयताजस्ता विषयले छोएको छैन । ठोस रूपमा भन्ने हो भने, यो व्यवस्थाले श्रम गर्ने श्रमजीवी जनताको जीवनमा खुसीयाली ल्याएको छ ? यो गणतन्त्रले दिन दुःखीको दर्दमा मलमपट्टी लगाउन सकेको छ ? खासमा भन्नुपर्दा, यो राज्यबाट अहिलेको स्थितिमा जनताले आफ्नो जीवनमा हुने कुनै किसिमको खुसीयाली पाएका छैनन् । धर्मनिरपेक्षता र सङ्घीयतासहितको गणतन्त्रात्मक राज्यव्यवस्था नेपाली जनताको दीर्घकालीन सपनाहरूको सम्बोधन गर्न सकेको छैन । अनि त्यस्तो गणतन्त्र हामीलाई के काम ? यी विषयमा अहिले बहस सिर्जना भएको पाइन्छ । हामीले ल्याएको गणतन्त्र यहाँ उपलब्ध प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै सामाजिक, आर्थिक र सांस्कृतिक रूपले सभ्य र समुन्नत समाज निर्माणमा एकजुट हुने प्रेरणा दिन सक्नुपर्छ । प्रत्येक नागरिक अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकारको संरक्षण, कानुनको शासन, सरकार जनताप्रति जबाफदेहिता, नागरिक सहभागिता, शान्तिपूर्ण तवरले शक्ति हस्तान्तरण, सामाजिक समानता, सार्वजनिक कल्याण, शिक्षा र ज्ञानको प्रवर्द्धन, विविधता र समावेशीकरणको प्रवर्द्धन, संस्कृति सम्पदाको संरसण, स्वदेशमै रोजगार सिर्जना जस्ता थुप्रै हक अधिकारको व्यवस्था गर्ने हुनु पर्छ । तर, अझै पनि हाम्रो मुलुक केही नेताहरूको सत्ता र कुर्सीको लोभले गर्दा राजनीतिक अस्थिरतातर्फ उन्मुख छ ।समग्र मुलुकको विकास र जनताको आर्थिक स्तर उकास्ने भन्दा पनि सत्ताधारी नेताहरू आफ्नै स्वार्थमा केन्द्रित भएको अनुभूत जनताले गरिरहेका छन् । गणतन्त्र प्रातिका लागि लडेका सबै शक्ति एकताबद्ध भएर जनअपेक्षा अनुसार सुशासन र विकासमा समर्पित हुनु राष्ट्रिय आवश्यकता भएको छ । यदि एकताबद्ध भएर जनचाहना अनुरूपको काम गर्न सकिँदैन भने  हामी आम जनतालाई यस्तो गणतन्त्र कदापि चाहिँदैन । पछिल्लो समय मुलुकमा भ्रष्टाचार झनै मौलाएको छ । साथै बेरोजगारी, नातावाद, कृपावाद, हत्या, हिंसा, बलात्कार, दाइजो प्रथा, छुवाछुत विभेद अझै निर्मूल भइसकेको छैन । हामीले ल्याएको गणतन्त्र नेपाली जनताको निकै ठुलो त्याग र बलिदानबाट प्राप्त भएको हो । आम जनताको बलिदानमाथि शासकहरूले मजाक गरिरहेका छन्, यसलाई अब जनताहरूले नै सच्याउने बेला आएको छ । किनकि, गणतन्त्र आफैँमा नागरिकलाई जबाफदेही बनाउने व्यवस्था पनि हो । नेपालमा गणतन्त्र खराब भएको भने हैन, यसलाई सञ्चालन गर्ने व्यक्ति खराब भएका हुन् कि भन्ने आभास हुन थालेको छ । अहिले जनस्तरबाट  खराब शासकहरूका विरुद्धमा आवाज उठिरहेको छ । यो सराहनीय पक्ष हो । र, यो गणतन्त्र बलियो बनाउने आशा पनि हो । अहिले धेरैजसो निरंकुशतावादी र जनविरोधी शक्तिले यो जनताको आक्रोशलाई आफ्नो स्वार्थ पुरा गर्ने हतियार बनाउन सक्छन्, त्यसतर्फ भने स्वतन्त्रता, नागरिक सार्वभौमता र गणतन्त्रमा विश्वास गर्ने प्रत्येक नागरिकले चलाएको हुनुपर्छ । किनकि, गणतन्त्रको विकल्पमा निरंकुशताबाद कदापि हुन सक्दैन । मुलुकमा मजदुर, गरिब, दलित, विपन्न परिवारमा खुसी साथै नागरिक सहभागिता र अभिव्यक्ति स्वतन्त्रता आएको दिनमात्र गणतन्त्रको अनुभूति मिल्ने छ । हाम्रो देशमा अझै पनि पूर्ण रूपले गणतन्त्र आएको छैन । जनताले चाहेअनुरुपको विकास हुन सकेको छैन । निरङ्कुश दासत्व, नातावाद, कृपावाद हामीलाई चाहिँदैन, गणतन्त्र नल्याई त मुक्ति पाइँदैन । त्यसैले म गणतन्त्र ल्याउन अहम् भूमिका खेल्ने राजनैतिक दलका नेता तथा कार्यकर्ताहरूसँग विनम्र अनुरोध गर्दछु । कि, सङ्कटमा परेको वा पारिएको यो गणतन्त्र र संविधानलाई आफ्नो प्रमुख एजेन्डा बनाएर गम्भीर विचार विमर्श, एकता र समाधानमा जुट्न आवश्यक देखिन्छ ? अन्यथा निकट भविष्यमा न तपाईँहरू रहनुहुनेछ, न तपाईँहरूको पार्टी रहनेछ, न त यो गणतन्त्र नै रहन्छ । आज तपाईँ केही सत्ताधारी स्वार्थी नेताहरूको कारणले गर्दा लाखौँ नेपाली जनताहरूको त्याग र तपस्याले ल्याएको गणतन्त्र धरापमा परेको छ । जनताले अहिलेसम्म गणतन्त्र आएको अनुभूत गर्न नपाउनु भनेको हजारौँ सहिदहरूको सपनाले सार्थकता नपाउनु हो । अहिलेको गणतन्त्रमा न आम जनताले खुलेर विरोध गर्न पाएका छन्, न त शान्तिपूर्ण वातावरणमा आन्दोलन गर्न पाएका छन् । यहाँ सरकारमा रहेका नेताहरू आफ्नो विपक्षमा वा विरोध हुने खालको कार्यक्रम कसैले आयोजना गर्न लाग्यो भने हतार हतार सुरक्षाको चुनौती देखाउँदै निषेधाज्ञा लगाइ हाल्छन् । बहालवाला प्रधान न्यायाधीशलाई समेत नजरबन्द गर्न भ्याइसकेको यो गणतन्त्रवादी सरकारले एउटा सामान्य नागरिकलाई नजरबन्दमा राख्दै विरोध प्रदर्शन गर्न निषेधाज्ञा लगाउनु सामान्य कुरा भइसकेको छ । एक अभियन्तासँग डराएर काप्ने कस्तो गणतन्न हो ? दुई तिहाईकासाथ ल्याएको गणतन्त्रलाई कसले यस्तो कातर बनायो ? यसको मुख्य जिम्मेवार को हुने ? आज आम सर्वसाधारण नेपाली जनताहरूलाई जवाफ चाहिएको छ । अब जनतालाई झुटो आश्वासन होइन । गणतन्त्रले नेताहरूको आसेपासे नातेदार, कार्यकर्तालाई हे¥यो । तर, सामान्य नागरिकको अवस्था लाई कहिल्यै हेरेन । जनताले ल्याएको व्यवस्थामा सबैभन्दा बलियो र सर्वशक्तिमान् जनता नै हुनुपर्ने थियो, तर अहिले विभिन्न दलका नेता र कार्यकर्ता बलिया भएका छन् । जनतालाई निर्बल बनाउनु नै गणतान्त्रिक मुलुकको लागि अत्यन्तै दुःखदायी कुरा हो । अब पनि गणतन्त्रका पक्षधरहरू सबै सचेत भएर आम जनताको स्वार्थमा काम नगरे आउने पुस्ताले यो गणतान्त्रिक व्यवस्थाको अनुभव गर्न नपाउँदै व्यवस्था साथै व्यवस्था सञ्चालन गर्ने व्यक्तिहरूको पत्ता साफ हुन केही समय मात्र लाग्ने जनताको भनाइ छ । गणतन्त्रको नामले सत्ताको मोहमा रहेका नेताहरूलाई यो कुरा स्मरण रहोस् कि, गणतन्त्र ल्याउन हजारौँ देशभक्त छोराछोरीहरूले बलिदान दिएका हुन् । र, भोलिका दिनमा गणतन्त्र फ्याल्न पनि ती मानिसहरू तयार हुन सक्छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार