काठमाडौँ / दुर्घटनाका घाइतेको उपचारको जिम्मेवारी वहन गरेको काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा म्याग्नेटिक रेसोनेन्स इमेजिङ (एमआरआई) स्क्यानर नै छैन ।
सो अस्पतालमा आउने बिरामीमध्ये अधिकांश दुर्घटनाका कारण घाइते वा चोट पटक लागेकाहरू हुने गरेका छन् । त्यस्ता बिरामीको अवस्था अनुसार एक्सरे, कम्प्युटराइज्ड टोमोग्राफी, सिटी स्क्यान र एमआरआई गर्नुपर्ने हुन्छ ।
अत्याधुनिक विशाल अस्पतालमा हालसम्म एमआरआई मेसिन उपलब्ध छैन । एमआरआई गर्नुपर्ने बिरामीलाई निजी स्वास्थ्य संस्थामा सिफारिस गरिँदै आएको छ ।
ट्रमा सेन्टरका निर्देशक डा. बद्री रिजालले एमआरआई मेसिन अनिवार्य भए पनि हालसम्म खरिद गर्न नसकिएको बताउनुभयो । “निकै महँगो पर्ने भएकाले अस्पतालको स्रोतबाट एमआरआई मेसिन खरिद गर्न सम्भव छैन ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई मेसिन अभावले समस्यामा परेकाले तत्काल मेसिन उपलब्ध गराइदिन आग्रह गरेका छौँ तर प्राप्त भइरहेको अवस्था छैन,” उहाँले भन्नुभयो ।
ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएका मध्ये ८० प्रतिशतको शल्यक्रिया गर्नुपर्ने हुन्छ । “त्यस्ता बिरामीका लागि एमआरआई अनिवार्य गर्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो, “ट्रमा सेन्टरमा एमआरआई नहुँदा दैनिक २० देखि २५ जना बिरामी निजी संस्थामा गएर एमआरआई गराउन बाध्य छन् ।
” आकस्मिकमा आउने बिरामीलाई भने सँगैको वीर अस्पतालमा एमआरआई गर्ने गरिएको छ । वीर अस्पतालमा सोही अस्पतालका बिरामीले पनि तत्काल पालो पाउँदैनन् र कुर्नुपर्ने अवस्था छ । वीर अस्पतालमा दिउँसो मात्र एमआरआई सेवा उपलब्ध छ । ट्रमा सेन्टरमा ल्याइएका बिरामी कतिपयलाई कुनै पनि समयमा एमआरआई गराउनुपर्ने अवस्था रहन्छ ।
ट्रमा सेन्टरका निर्देशक डा. रिजालले भन्नुभयो, “यहाँ आएका सबैलाई वीर अस्पतालमा पठाउन पनि सकिँदैन । त्यहीँका बिरामी नै पालो कुर्नुपर्ने अवस्था छ, हाम्रा बिरामी सबैको उसले एमआरआई गरिदिने अवस्था छैन । त्यसैले निजी संस्थामा पठाउनुको विकल्प नै छैन ।”
निजी संस्थामा एमआरआई गर्न निकै चर्को शुल्क तिर्नुपर्ने हुन्छ । एमआरआई सेवा सञ्चालन गर्ने गरेका संस्था र सरकारी अस्पतालका स्वास्थ्यकर्मीबिच आर्थिक सम्बन्ध रहने गरेको पनि आरोप लाग्दै आएको छ ।
दुर्घटनाका घाइतेको उपचारका लागि भारत सरकारको सहयोगमा निर्माण गरिएको ट्रमा सेन्टर २०७२ सालबाट सञ्चालनमा आएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले ट्रमा सेन्टरमा एमआरआई मेसिन अत्यावश्यक भएको बताउनुभयो । “ट्रमा सेन्टरबाट एमआरआई खरिदका लागि बजेट छुट्याउनका लागि माग आएको छ,” उहाँले भन्नुभयो, “मन्त्रालयले ट्रमा सेन्टर खरिदका लागि प्राथमिकता दिने छ ।”
यो समाचार आजको गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।
प्रतिक्रिया