राष्ट्रपति विद्यादेवी भण्डारीले मकर सङ्क्रान्तिको अवसरमा सुनसरीका प्रसिद्ध तीर्थस्थलहरुमा पूजा अर्चना गरेकी छन् । राष्ट्रपति भण्डारीले वराहक्षेत्र,धरानको दन्तकाली शक्ति पीठ, पिण्डेश्वर महादेव र बुढासुब्बा मन्दिरको दर्शन गरेकी हुन् ।
राष्ट्रपति भण्डारीलाई बराहक्षेत्रका नगरप्रमुख रमेश कार्की, उप प्रमुख नन्दकुमारी राई ,पूर्व नगरप्रमुख निलम खनाललगायतले आइतबार बिहान मन्दिर परिसरमा स्वागत गरे ।
राष्ट्रपति भण्डारीले धार्मिक मान्यताअनुसार सप्तकोशी नदीमा पूजा अर्चना गरी वराह भगवानलाई जल अर्पण गरिन् ।
वराह भगवानको पूजा अर्चनापश्चात् धरानको विजयपुरस्थित दन्तकाली शक्ति पीठका साथै, पिण्डेश्वर महादेव र बुढासुब्बा मन्दिरको दर्शन गरेकी थिइन् ।
बराहक्षेत्र दर्शन सकेर राष्ट्रपति भण्डारी हेलिमार्फत धरान आएकी थिइन् । धरानमा राष्ट्रपति भण्डारीलाई प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्की लगायत प्रदेश सांसदहरुले स्वागत गरेका थिए । धरान आएर दन्तकाली मन्दिरबाट दर्शन सुरु गरेकी भण्डारीले त्यसपछि पिण्डेश्वर मन्दिर हुदै बुढासुब्बा मन्दिरको दर्शन तथा पुजा गरेकी थिइन् ।
बुढासुब्बाका पुजारी उत्तम आलेले राष्ट्रपतिको भ्रमणले धार्मिक पर्यटनमा ठुलो टेवा पुग्ने भन्दै खुशी व्यक्त गरेका छन् । देशको राष्ट्रपति आफ्नै नगरमा आउदा पनि धरानका नगर प्रमुख हर्क साम्पाङ र उपप्रमुख अइन्द्रबिक्रम बेघाको अनुपस्थितिलाई धेरैले चासोका साथ हेरेका थिए । धेरैले यसलाई राजनितिक इगोका रुपमा व्याख्या गरेका छन् । पिण्डेश्वरमा उनको स्वागत अभिवादनका लागि धरानकी पूर्व उपप्रमुख मञ्जु भण्डारी, धरान-१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया