विराटनगर / नेपाली काँग्रेसले समुदायमा काँग्रेस अभियानका लागि जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि खटाएको छ । देशका ७७ जिल्लामध्ये हिमाली १० जिल्ला छाडेर अन्य जिल्लामा अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाएको काँग्रेसले जनाएको छ । पदाधिकारीहरू भने केन्द्रीय प्रतिनिधिका रूपमा खटिएका छैनन् ।
जिल्लामा खटिएकाहरूले १५ गतेसम्म पार्टीको आन्तरिक काम गर्नेछन् । १६ गते देशभरका वडाहरूका कार्यक्रम गरेर काँग्रेसले समुदायमा काँग्रेस अभियान सुरु गर्नेछ । त्यसपछि २६ गतेसम्म अभियान अन्तर्गतका विभिन्न कार्यक्रमहरू हुनेछन् । २६ माघमा काँग्रेसका पूर्व सभापति सुशील कोइरालाको स्मृति दिवसमा यो अभियान समाप्त हुने काँग्रेस नेताहरूले बताएका छन् ।
चिसो मौसममा अभियान सञ्चालन गर्न कठिन हुने भन्दै १० वटा हिमाली जिल्लामा भने प्रतिनिधि खटाइएको छैन । ती १० जिल्लामा सोलुखुम्बु, खोटाङ, मनाङ, मुस्ताङ, डोल्पा,जुम्ला, मुगु, हुम्ला, कालिकोट र दैलेख जिल्लामा केन्द्रीय प्रतिनिधि खटिएका छैनन् ।
प्रतिक्रिया