✍ युवराज गौतम
केही वर्षअघि कोसी प्रदेशको पर्यटनका सवालमा एउटा नारा सार्वजनिक भएको थियो–‘प्रदेश १ को शान, सबैको अनुहारमा मुस्कान’ । नारा आकर्षक र मिठो सुनिए पनि त्यो कार्यान्वयनमा आएन ।
नेपालका सात प्रदेशमध्ये कोसी प्रदेशमा संसारकै अग्लो स्थान सगरमाथादेखि नेपालकै होचो स्थान झापाको केचना कवलसम्म पर्दछन्। वास्तवमा कोसीमा अथाह सम्भावना भएका स्थानहरू छन् ।
ती स्थानहरूको विकास र प्रवर्द्धनमा सरकारी योजना त्यति प्रभावकारी भएनन् । कोसीको अस्थिर राजनीति र सत्ता परिवर्तनले पर्यटकीय क्षेत्रहरूले गति लिन सकेका छैनन् । स्थानीय तहले अघि सारेका कार्यक्रमहरूले पर्यटनमार्फत समृद्धिको बाटो त कोरेका छन् तर ती पर्याप्त छैनन् । अपुग छन् ।
अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवर्द्धन गर्न सङ्घीय सरकारको नजर कोसीमा परेको छैन । तथापि, कोसी पर्यटनको अब्बल हब हो र आर्थिक समृद्धिका लागि आधार क्षेत्र हो । विश्वको नजरमा कोसी एक सम्भावना हो ।
कोसी प्रदेश कृषि, धार्मिक, प्राकृतिक, सांस्कृतिक हिसाबले कमजोर छैन । प्रदेशको पूर्वतर्फ भारतको पश्चिमबंगाल र दक्षिणतर्फ बिहार पर्दछ । यसै गरी उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत पर्ने भएकाले भारतीय, बङ्गलादेशी एवम् चिनियाँ पर्यटकहरू भित्र्याउन सकिने प्रशस्त आधारहरू छन् ।
हिमाली क्षेत्र सगरमाथा, कन्चनजंगा मकालु, चोयु, लोत्से हिमश्रृृखंला देखाएर वा आरोहण गराएर कोसीले समृद्ध हासिल गर्न सक्छ तर यसमा सङ्घीय सरकारकै योजना अनुसार प्रदेश चल्नुपर्ने भएकाले प्रदेशले आफ्नो स्वामीत्व ग्रहण गर्ने आधारहरू तय गर्नुपर्छ । निकुञ्जको उपयोगका लागि कानुन र क्षेत्राधिकारका विषयमा सङ्घ र प्रदेशबिच तालमेल भएको देखिदैन् ।
जसका कारण सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु बरुण राष्ट्रिय निकुञ्ज, कोसी टप्पु वन्यजन्तु आरक्षण, कन्चनजंघा संरक्षण क्षेत्रलगायतबाट कोसीले फाइदा उठाउन सकिरहेको छैन । यसका लागि प्रदेश सरकारले प्रशस्त काम गर्नुपर्ने अवस्था छ ।
कोसी सुन्दर पहाड र हिम वत् खण्ड, उच्च हिम श्रृखलालगायत प्राकृतिक सम्पदाले भरिएको मात्र होइन जल पर्यटनको पनि प्रशस्त सम्भावना छ । तमोर, अरुण, दूध कोसी, तामाकोसी, सुनकोसी, लिखु र इन्द्रावती मिसिएको सप्तकोसी जलाशयबाट प्रदेशले धेरै फाइदा लिन सक्ने भए पनि सरकारले कुनै किसिमका योजनाहरू बनाउन नसक्नु दुर्भाग्यपूर्ण छ ।
असङ्ख्य मठ, मन्दिर, पाटी, पौवा, गुम्बा, मस्जिदले भरिपूर्ण कोसी धार्मिक पर्यटनको उत्तिकै सम्भावना छ । किनकि ताप्लेजुङको पाथीभरा, इलामको माइपोखरी र सानी पाथीभरा, झापाको अर्जुनधारा र सताक्षी धाम, सुनसरीको बराह क्षेत्र, बुढासुब्बा, पिण्डेश्वरी, दन्त काली र रामधुनी, खोटाङको हलेसी महादेवलगायत बराह पोखरी, साल्पा पोखरी, दूधकूण्ड, कालिका देवी, छिन्ताङ देवी, कन्काई आदि प्रख्यात धार्मिक स्थलहरू रहेका छन् ।
ती स्थानहरूमा भारतीय पर्यटकहरूलाई भित्र्याएर कोसीले ठुलो उपलब्धि हासिल गर्न सक्छ ।
हुन त कोसीमा विकासका पूर्वाधारहरूको योजना प्रशस्त अघि बढेका छन् । तर ती कुनै पनि पर्याप्त र कार्यान्वयन प्रक्रियामा गएका छैनन् । मोरङको विराटनगर देखी सुनसरीको इटहरी हुँदै तरहरासम्म मोनो रेल, विराटनगर–धरान सडक खण्डमा व्यापारिक मार्गको माथिबाट लिक बनाएर रेल सञ्चालन गरिने योजना अलपत्रजस्तै छन् ।
यी योजनाहरू बाह्य पर्यटक भित्राउने गतिलो आधारहरू हुन तर काम अघि बढ्न नसक्नु दुर्भाग्यपूर्ण छ । विश्वकै गहिरो उपत्यका अरुण उपत्यका, ३२ प्रकारका लाली गुराँसमध्मे २८ प्रकारका लालीगुराँस पाइने तीनजुरे–मिल्के–जलजले (टिएमजे), नेपालकै अग्लो झरना ह्यात्रुङ, साल्पापोखरी, सभा पोखरी, मुक्कुमलुङ जस्ता स्थानहरूको प्रवर्द्धनमा प्रदेश सरकार सुस्ताएको छ ।
निजी क्षेत्रलाई आकर्षित गर्न र अन्तर्राष्ट्रिय मिडियामा ती स्थानहरूको प्रचारमा सरकारले कुनै योजना अघि बढाउन सकेको छैन । प्रदेश सरकारले सोही अनुरूपका योजनाहरू अघि बढाइ स्थानीय सरकारलाई पनि प्रोत्साहित गर्न सक्नुपर्छ । १४ जिल्लामा समेटिएको कोसीमा सबै जिल्ला घुम्न लायक छन् ।
सुविधा सम्पन्न होटल, रिर्सोट र कटेजहरु सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्न कोसी सरकार जाग्न जरुरी छ ।
०३८ सालमा बेलायती युवराजले भ्रमण गरेको भेडेटार र ०६८ सालमा सिएनएनले भेडेटार नाम्जे गाउँलाई विश्वका उत्कृष्ट १२ पर्यटकीय गन्तव्यको सूचीमा राखिसकेकाले कोसीको पहिचान विश्वमा छरिएको छ ।
सर्वोच्च शिखर सगरमाथा मात्र होइन विश्वको तेस्रो अग्लो चुचुरो कञ्चनजङ्घा हिमाल, किराँत धर्मका प्रवर्तक राष्ट्रिय विभूति फाल्गुनन्दको कर्मभूमि, अत्यधिक उर्वर तथा घना बस्ती भएको झापा ‘धान उत्पादनको भण्डार’ नै हो ।
पुरानो औद्योगिक नगरी विराटनगर अन्तर्राष्ट्रिय व्यापारको अब्बल स्थान हो । किनकि वि.स.१९९३ मा स्थापना भएको नेपालकै पहिलो उद्योग विराट जुट मिल र १९९४ को जुद्ध म्याच फ्याक्ट्री अन्तर्राष्ट्रिय व्यापारमा आफ्नो बेग्लै अस्तित्व कायम गरिसकेको छ ।
विश्वका साहसिक, प्राकृतिक तथा सांस्कृतिक विषयमा चाख राख्ने पर्यटकका लागि सोलुखुम्बु आफैँमा अब्बल छ । प्रदेशको सबैभन्दा रमणीय जिल्ला इलाम चिया खेतीका कारण चर्चित छ ।
अर्ग्यानिक चिया उत्पादनमा ख्याति कमाएको यो जिल्ला प्राकृतिक रूपमा उत्तिकै सुन्दर छ । कोसी टप्पुलाई अर्ना र चराको स्वर्ग मानिन्छ । यो स्थान विश्वका पर्यटकका लागि रोजाइमा पर्ने स्थान नै हुन् ।
कोशिका १४ जिल्ला विश्वका पर्यटक र अन्तर्राष्ट्रिय ट्रेड व्यापारका लागि उपयुक्त स्थान भएकाले चाँडै दीर्घकालीन योजनामार्फत विश्व जगतमा आफ्नो पृथक् पहिचान बनाउनु जरुरी छ ।
प्रतिक्रिया