वर्तमान समयमा अन्तर्राष्ट्रिय नारी दिवस महिलाहरू समाज, राजनीति र आर्थिक क्षेत्रमा कहाँ आइपुगे भन्ने चिन्तन मनन गर्ने दिन बनेको छ । नारी दिवसको रङ्ग विशेष किसिमको हुन्छन् जसमा बैजनी, हरियो र सेतो रङ्गको प्रयोग गरिएको हुन्छ ।
बैजनीले न्याय र गरिमा इङ्गित गर्छ । हरियो आशाको प्रतीक हो । सेतोले पवित्रताको प्रतिनिधित्व गर्छ, यद्यपि यो विवादास्पद धारण हो । सन् १९०८ मा युकेमा महिलाहरूको सामाजिक र राजनीतिक सङ्घबाट यी रङ्गको अवधारणा सुरु भएको थियो ।
अहिलेको नारी कार्यालय, कलकारखाना, उद्योग, व्यवसाय, शिक्षा, स्वास्थ्य हरेक ठाउँमा पुरुषको बराबरी गरिरहेकी हुन्छिन् । सन्तुलन, सहनशीलता र सृजनको पर्याय हुन् नारी । एक पल्ट नारीको ठाउँमा स्वयंलाई राखेर तुलना गर्नुस् । अनि बुझ्न सक्नु हुन्छ की सबैको भावना र समस्यालाई साथमा लिएर जीवन जिउन कत्तिको चुनौती र महत्त्वपूर्ण हुन्छ ।
यदि हामी नारी रूपलाई सम्मान गर्न सकेनौ भने त्यो प्राकृतिक र दैवत्वको अपमान हो । नारीको अर्थ पुरुषले मात्र नभई एउटा नारीले पनि अर्को नारीलाई राम्ररी बुझ्न सकेको छैनन् ।। यदि बुझ्न पाएको भए आज भ्रूण हत्या जस्तो अपराधले समाजमा स्थान पाउने थिएन होला ।
यो स्वार्थी संसारमा, हामी सबै नवरात्रीको नौ दिन माता भगवतीको पूजा आरती गछौं । तर त्यही आफ्नो सामु रहेका भगवती स्वरूप नारीलाई अपहेलित गरिरहेका हुन्छौँ । के मातृ शक्ति र नारी शक्ति एउटै रूप होइन ? यदि यस्तो होइन भने, संसार असन्तुलित हुन्छ ।
त्यो दिनको कल्पना गर्नुस् जब पृथ्वीमा मात्र पुरुष बाच्छन् । त्यसो भयो भन्ने कुन स्त्री मित्र, आमा, श्रीमती र प्रेमिकाको हात अगाडी आउँछ आशु पुछ्नलाई । बाहिरको कार्यबाट थाकेपछि कसको काखमा शिर राखेर थकान मेट्छन् । कसले भन्छिन् होला– बाबु उता नजाऊ, त्यहाँ ठुलो खाल्डो छ ।
नारी यही समाजमा जन्मिन्छे ,हुर्किन्छे , छोरी, आमा, बुहारी, श्रीमती हुँदै संसारबाट बिदा हुन्छे । केवल यही जीवन हो ? अर्थात् के हो जीवन र जीवनको सार्थकता ? जीवन त्यो हो जसले कसैलाई खुसी दिन्छ भन्ने कसैको लागि जीवन जिउने सहारा बन्छ । जीवन शब्दको गहिराइमा जानु छ भन्ने ती स–साना बालबालिकालाई हेर्नुस् , रङ्ग–विरङ्गी फूल झैँ सुन्दर, आँखाले टप्प टिप्ने, वसन्त ऋतुमा पलाएका नयाँ बिरुवाको टुसा झैँ कलिला हात खुट्टाले घर–आँगनमा दौडिरहेका, उफ्रिरहेका तथा उड्ने प्रयास गरिरहेका ।
उनीहरूका ती कलिला पाइलाहरूले उडान भर्छन् सगरमाथाको चुच्चो छुने तर तिनीहरूलाई के थाहा ती स–साना इँटाका टुक्राहरू सगरमाथाको चुच्चो होइन । लुकामारीको त्यो खेलमा आफ्नो साथीलाई खोज्नु जीवनरूपी समस्याको समाधान होइन तर पनि उनीहरू जीवन चिन्ताबाट पर आफ्नो संसारमा रमाई रहेका हुन्छन् । तर हामी रु आधुनिक सुख–सुविधाको सपना बुनेर हाम्रो आँखामा निद्रा र सुख चैनको लागि समय नै हुदैन ।
वर्तमान समयमा कम सङ्ख्यामा छोरी जन्मिई रहेका छन् । हामी भन्छौँ नारी पुरुष एउटै रथको दुई वटा पाङ्ग्रा हो । एउटा नभई अर्को अर्थ विहीन हुन्छ । नारी स्वयं एउटा शक्ति हो । उनीहरूको आकार, प्रकार, व्यवहार एउटा कला हो । नारी छ भने संसारमा शृङ्गार छ, प्रेमको भाव छ, घृणाको शिर निहुरिएको छ । तर पनि नारीको जीवन कष्टमा परेको छ ।
यो सत्य हो की देवी देवताको महाप्रभु शिव पनि शक्ति विना शव बराबर मानिन्छ । नारी विना शिव पूर्ण हुन सकेको छैन भने हामी त साधारण मनुष्य । शिव मात्र होइन कृष्ण पनि राधाको साथ पाएर सोह्र कलामा परिपूर्ण भएको मान्यता छ । पाँच कला मनुष्यमा पनि हुन्छ । मर्यादा पुरुषोत्तम श्रीराम पनि चौध कलामा सम्पन्न थिए, तर कृष्णलाई वहाँ भन्दा दुई वटा कला बढी प्राप्त थियो । त्यसको कारण थिइन् नारी शक्तिको साथ प्रेम, रस ।
आज पनि हाम्रो समाजमा नारी शक्तिको उपेक्षा भइरहेको छ । छोरी–चेली जन्म लिनुभन्दा अगावै गर्भपात गराइन्छ । यसरी त मानव प्राणी नै बाच्न सक्दैनन् । हामी नारी शक्तिको बारेमा विचार अवश्य गरौँ , ताकी यो संसार असन्तुलित नहोस् साथै जीवनको मूल्य बाँचिरहोस् ।
प्रतिक्रिया