स्थायी समितिमा विरोधपछि प्रदेश अध्यक्षहरूको वरीयता घटाउने निर्णय भए पनि सर्कुलर जारी हुन बाँकी, दश लाख सदस्य पुर्याउन महासचिवको अलग्गै सर्कुलरकाठमाडाैं - पोलिटब्युरो सदस्यसरह वरीयतामा रहेका एमालेले प्रदेश कमिटीका अध्यक्षहरूको वरीयता घट्ने भएको छ । प्रदेशको कार्यकारी कमिटीमा कार्यकारी अभ्यास गरिरहेका प्रदेश अध्यक्षहरूको अब केन्द्रीय कमिटी सदस्यसरह वरीयता रहनेछ । अघिल्लो जेठमा केन्द्रीय सचिवालय बैठकबाट एमालेले प्रदेश कमिटी अध्यक्षहरूको वरीयता पोलिटब्युरो सदस्यसरह हुने निर्णय गरेको थियो ।
गत ८, ९ र १० फागुनमा केन्द्रीय कमिटी बैठक चलिरहेका वेला बसेको स्थायी समिति बैठकमा उनीहरूको वरीयताको विरोध गर्दै बहुसंख्यक स्थायी कमिटीका नेताहरूले प्रश्न उठाएपछि एमालेले घटुवा गर्ने निर्णय लिएको हो । स्थायी समितिमा नेताहरूको विरोध र दबाब थेग्न नसकेपछि अध्यक्ष केपी ओलीले विरोध र असन्तुष्टि जायज भएकाले सच्याउने जवाफ दिएका थिए ।
केन्द्रीय कमिटी बैठक सम्पन्न भएको एक महिना हुन लाग्दा पनि निर्णयसहित वरीयता घटाइएको सर्कुलर भने भइसकेको छैन । बैठकको निर्णय महासचिव शंकर पोखरेलले उतार्दै आएका छन् । बैठकको निर्णयसम्बन्धी सर्कुलर जारी भएपछि प्रदेश अध्यक्षहरूको वरीयता औपचारिक रूपमै केन्द्रीय सदस्य सोसरह हुने गरी एक तह घट्ने एक स्थायी समितिका एक सदस्यले बताए ।
‘प्रदेश तहको नेतालाई एकैपटक दुई तह माथि ल्याएर पोलिटब्युरो सदस्य मान्दा पार्टीले अभ्यास गर्दै आएको लेनिनवादी संगठनात्मक पद्धति भत्किने भएकाले निर्णय सच्याउन अध्यक्षको ध्यानाकर्षण गराउँदै सबैजसो स्थायी समिति सदस्यले विरोध गर्नुभएको थियो,’ ती सदस्यले भने, ‘अध्यक्षले सच्याइने प्रतिबद्धतासहित निर्णय भएको हो, त्यसैले महासचिवले जारी गर्ने अबको सर्कुलरमा घटुवा भएको निर्णय सार्वजनिक हुनेछ ।’
निर्वाचित प्रदेश अध्यक्षहरूले चार महिनायता दुईवटा केन्द्रीय कमिटी बैठकको निर्णयपुस्तिकामा पोलिटब्युरो सदस्यको सूची र मर्यादाक्रममा हस्ताक्षर गरेका थिए । तर, अब भने उनीहरू केन्द्रीय सदस्य सोसरहको मर्यादामा मात्र रहनेछन् ।
पछिल्लो केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षहरूले आ–आफ्नो प्रदेशका पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरूको टोली नेताका रूपमा समग्र प्रदेशको रिपोर्टिङ गरेका थिए । प्रदेश अध्यक्षहरूको भूमिका बढी देखिएपछि अन्य पोलिटब्युरो सदस्य छायाँमा परेका थिए ।
कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले वरीयतामा हेरफेर गरेर घटुवा गर्ने विषय पार्टीभित्र उठे पनि नयाँ सर्कुलर नआइसकेकाले अहिलेसम्म पुरानै कायम रहेको बताए । ‘स्थायी समितिका नेताहरूले प्रदेशका पदाधिकारीलाई एकैपटक दुई तह बढुवा गरिनु ठीक भएन, त्यसैले हटाउनुपर्छ भनेर छलफल गर्नुभएको हो, अब अर्को सर्कुलर आएपछि नै सबै थाहा हुन्छ,’ खतिवडाले नयाँ पत्रिकासँग भने, ‘नेतृत्वले अर्को सर्कुलर नआएसम्म पुरानै वरीयता कायम छ भन्नुभएकाले अहिलेलाई त्यसअनुसार नै निर्णयपुस्तिकामा पनि हस्ताक्षर गरेका छौँ ।’
स्थायी समिति सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले प्रदेश अध्यक्षहरूको वरीयताबारे पार्टीभित्र आन्तरिक छलफलको विषय बने पनि औपचारिक निर्णय सर्कुलरबाट थाहा हुने बताए ।
एमालेमा पहिलो प्रदेश अधिवेशनबाट कोशीमा खतिवडा, मधेशमा चन्द्रेश्वर मण्डल, बागमतीमा कैलाश ढुंगेल अध्यक्ष निर्वाचित भएका थिए । त्यस्तै, गण्डकीमा नवराज शर्मा, लुम्बिनीमा राधाकृष्ण कँडेल र सुदूरपश्चिममा कृष्णप्रसाद जैसी, एमाले उपत्यका विशेषमा प्रेम पराजुली अध्यक्ष छन् । उनीहरूमध्ये ढुंगेल मात्र केन्द्रीय सदस्य थिए । सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेत भने मनोनीत संयोजक भएकाले केन्द्रीय सदस्यका रूपमा मात्र बैठकमा सहभागी हुँदै आएका छन् ।
दश लाख पार्टी सदस्य पुर्याउन सर्कुलर
महासचिव शंकर पोखरेलले पार्टी सदस्य संख्या १० लाख पुर्याउन सर्कुलर गरेका छन् । अहिले कायम करिब ६ लाख हाराहारी सदस्य संख्या बढाएर दश लाख पुर्याउने गरी काम गर्न प्रदेश, जिल्ला, पालिका र वडा कमिटीहरूलाई पोखरेलले सर्कुलर गरेका हुन् ।
‘एघारौँ महाधिवेशनसम्ममा सक्रिय सदस्य संख्या नै दश लाख पुर्याउनुपर्नेछ । प्रत्येक गाउँपालिकाले एक वर्षमा कम्तीमा ५० जना, नगरपालिकाले १०० जना, उपमहानगरले १५० जना र महानगरपालिकाले २०० जना ४० वर्षमुनिका युवाहरूलाई पहिचान गरी नेतृत्व विकासको प्रशिक्षणसहित पार्टीमा आबद्ध गराउनुपर्दछ,’ सर्कुलरमा छ ।
२८ फागुनमा जारी परिपत्रमा आगामी जेठभित्र सातै प्रदेश र ७७ वटै जिल्लामा पार्टी सदस्यता नवीकरण, विस्तार र स्थानीय अधिवेशनहरू सुव्यवस्थित ढंगले समयमै गर्न भनिएको छ । नयाँ सदस्यले पार्टीको मिसन २०८४ को महत्व बुझेको हुनुपर्ने उल्लेख छ । महिला सदस्य संख्या ३३ प्रतिशत पुर्याउन जोड दिइएको छ । पालिका र वडा कमिटीमा निर्वाचित हुनेको मापदण्ड पनि सर्कुलरमा समेटिएको छ ।
घटुवा हुने अध्यक्षहरूमा को–को ?
प्रदेश कमिटीहरूमध्ये कोशीमा घनश्याम खतिवडा, मधेशमा चन्द्रेश्वर मण्डल, बागमतीमा कैलाश ढुंगेल, गण्डकीमा नवराज शर्मा, लुम्बिनीमा राधाकृष्ण कँडेल र सुदूरपश्चिममा कृष्णप्रसाद जैसी तथा उपत्यका विशेषमा प्रेम पराजुली अध्यक्ष छन् । उनीहरूमध्ये ढुंगेल मात्र केन्द्रीय सदस्य छन् ।
सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेत भने मनोनीत संयोजक भएकाले केन्द्रीय सदस्यका रूपमा मात्र बैठकमा सहभागी हुँदै आएका छन् । गत ८, ९ र १० फागुनमा केन्द्रीय कमिटी बैठकमा स्थायी समिति सदस्यले उनीहरूको वरीयताको विरोध गरेपछि एमालेले घटुवा गर्ने निर्णय लिएको हो ।
नयाँ सर्कुलर नआइसकेकाले अहिलेसम्म पुरानै कायम छ स् घनश्याम खतिवडा, कोशी प्रदेश अध्यक्ष,स्थायी समितिका नेताहरूले प्रदेशका पदाधिकारीलाई एकैपटक दुई तह बढुवा गरिनु ठीक भएन, त्यसैले हटाउनुपर्छ भनेर छलफल गर्नुभएको हो, अब अर्को सर्कुलर आएपछि नै सबै थाहा हुन्छ । नेतृत्वले अर्को सर्कुलर नआएसम्म पुरानै वरीयता कायम छ भन्नुभएकाले अहिलेलाई त्यसअनुसार नै निर्णयपुस्तिकामा पनि हस्ताक्षर गरेका छौँ ।
स्थिरताका लागि ‘त्याग गर्ने’ ओलीको सन्देश
नयाँ समीकरण निर्माणका लागि मन्त्रालय भागबन्डामा लचकता देखाएका एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको कार्यकाललाई लिएर पनि अर्थपूर्ण सन्देश प्रवाह गरेका छन् । ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै संसद्को कार्यकालभर सरकारको नेतृत्व गर्न सक्ने सन्देश दिएका छन् । ओलीको यो सन्देशको पछाडिको रणनीतिचाहिँ स्पष्ट छैन ।
नयाँ समीकरण निर्माणसँगै प्रचण्ड, ओली र माधव नेपाल आलोपालो प्रधानमन्त्री बन्ने राजनीतिक वृत्तमा चर्चा चलिरहेका वेला गठबन्धनको सबैभन्दा ठूलो दलका अध्यक्षले बिहीबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीमा आलोपालो सहमतिको चर्चालाई खण्डन गरेका छन् ।
‘हाम्रो राजनीतिक वृत्तमा अराजनीतिक सोच यति बढेको छ कि नेतृत्वमा आलोपालो गरेर पद प्राप्त गर्ने कुरालाई पनि संस्कारका रूपमा लिन थालिएको छ । तर, राजनीति अहिले तपाईंको पालो त्यसपछि मेरो पालो, मेरोपछि उसको पालो भनेर धारामा पानी थाप्न लाइन बसेजस्तो होइन,’ ओलीले भनेका छन्, ‘नेतृत्व गर्ने कुरा योग्यता, क्षमता, सक्रियता, बुझाइ र इमानदारीमा भर पर्छ । यस्तो संस्कार बसाएर मात्र राजनीतिलाई गुणात्मक र परिणाममुखी बनाउन सकिन्छ ।’
उनले देशलाई स्थिरताको दिशामा अगाडि बढाउन नयाँ समीकरण बनेको दोहोर्याएका छन् । ‘आलोपालो पदको अभ्यासले सञ्चारकर्मीदेखि समाजको ठूलो हिस्सालाई प्रभाव पारेको देखिन्छ र प्रश्नहरू सोधिन्छ– तपाईंको पालो कहिले, उहाँको पालो कहिले ? हामी राजनीतिमा बसेको गलत संस्कारलाई तोड्दै अघि बढिरहेका छौँ । राजनीतिलाई गुणरदोषमा आधारित रहेर परीक्षण गर्ने संस्कार बसालौँ, आलोरपालो वा तेरोरमेरोमा आधारित रहेर होइन,’ ओलीले भनेका छन् ।
आजको नयापत्रिका दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया