सभामुख र पटक-पटक मन्त्री छँदा नै महराको साँठगाँठ सुन तस्करसँग

सोमबार, १२ चैत्र २०८०
काठमाडौँ - सुन तस्करीको आरोपमा पक्राउ परेर हाजिरी जमानतमा छुटेका पूर्वसभामुख तथा सत्तारूढ माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा एक दशकभन्दा बढी समयदेखि नै चिनियाँ गिरोहसँग निकट सम्बन्धमा रहेर शंकास्पद गतिविधि गर्दै आएको पाइएको छ । महरा प्रतिनिधिसभाको सभामुख, उपप्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री र परराष्ट्रमन्त्रीका रूपमा बहाल छँदै चिनियाँ सुन तस्करसँग निकट रहेर सहयोग गरेको तथ्य खुलेको हो । सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगसमक्ष पनि महराले चिनियाँ नागरिक दावाजिन वाङसँग आफ्नो पारिवारिक सम्बन्ध रहेको स्वीकार गरेका छन् । साथै, उनले सुन तस्करका लागि काठमाडौंमा ‘व्यवस्थापकीय भूमिका’ समेत निर्वाह गरेको पाइएको छ ।
सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, गृह मन्त्रालय र नेपाल प्रहरी स्रोतबाट प्राप्त विवरणअनुसार महरा २०६७ सालयता चिनियाँ गिरोहसँग निकटमा रहेर सुन तस्करलाई सघाउँदै आएका बलिया प्रमाणहरू फेला परेका छन् ।
महराले संसद् सचिवालयकी एक कर्मचारीमाथि यौन शोषणको अभियोगमा मुद्दासमेत खेपेका थिए । २०७९ पुस १० मा भेपमा सुन ल्याउने तस्करलाई सघाएको कसुरमा गत सोमबार पक्राउ परेका महराविरुद्ध सुन तस्करलाई सहयोग गरेका दर्जन बढी तथ्य फेला परेका छन् ।
विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको ९ किलो अवैध सुन तस्करी प्रकरणमा दावाजिन फरार छन् भने त्यही प्रकरणमा महराका कान्छा छोरा रेशम भनिने राहुल महरा काठमाडौं जिल्ला अदालतको आदेशमा हाल पुर्पक्षका क्रममा कारागारमा छन् । भेप प्रकरणमा प्रहरी अनुसन्धानबाट उन्मुक्ति पाए पनि महरालाई जाँचबुझ आयोगले भने ‘दोषी किटान’ गर्‍यो । त्यसपछि भने गत सोमबार उनी कपिलवस्तुको पकडीबाट पक्राउ परेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौं ल्याएर अनुसन्धान गरेकामा ४ दिन बयान लिएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार हाजिरी जमानतमा रिहा गरिदियो । महरामाथि सुन तस्करीका अरू प्रकरणमा अनुसन्धान नै अघि बढेको छैन । भेप प्रकरणमा महरामाथि सुन तस्कर दावाजिनसँगको सम्बन्धसँग मात्रै जोडेर हेरिएकोमा उनीमाथि तस्करलाई काठमाडौंमा संरक्षण दिएको तथा सुन तस्करले प्रयोग गर्ने सवारीसाधनको बन्दोबस्तीलगायत कसुरमा संलग्नता देखिएको छ । जसको पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको जाँचबुझ आयोगले पनि पुष्टि गर्दै महरामाथि ‘मतियार’ का रूपमा मुद्दा चलाउन राय दिएको छ । सीआईबीले त्यसलाई नै मुख्य आधार बनाएर अनुसन्धान गरिरहेको छ । छोराद्वय राहुल र निर्मलमार्फत महराले दावाजिनसँग सम्बन्ध बनाएका थिए । दुई छोरा चीनमा अध्ययन गर्न जाँदा सन् २०११ मा दावाजिनसँग भेटघाट भएको र नेपाल आएपछि सम्पर्क झनै बाक्लिएको थियो ।
यतिसम्म कि, दावाजिनले महराको परिवारसँग घरदेखि महरा मन्त्री र सभामुख हुँदा सरकारी निवाससम्मै सहज पहुँच राख्ने गरेका थिए । महराले प्रहरी र जाँचबुझ आयोगमा दावाजिनलाई फलफूल पसलेका रूपमा चिनेको बयान दिएका छन् । तर, दावाजिन भने फलफूल पसले मात्र नभई हाइड्रोका लजिस्टिक सपोर्टर, जडीबुटी, गलैँचा, खाद्यान्न, विद्युतीय सामग्री आयातकर्तासहितका भूमिकामा देखिएर सुन तस्करी गर्ने गरेको पनि अनुसन्धानबाट देखिन्छ । महराले बयानमा दावाजिनको अन्य व्यापारबारे केही उल्लेख गरेका छैनन् ।
दावाजिनका साथी ली हाङसाङले दुबईबाट ल्याएको भेप विमानस्थलमा बरामदपछि मात्रै महराका बाबुछोराको संलग्नता र भूमिका बाहिरिएको थियो । विमानस्थल भन्सारले भेप नियन्त्रणमा लिएपछि भन्सार प्रशासक अरुण पोखरेललाई फोन गरेर आफूले छाडिदिन भनेको कुरा महराले स्विकारेका छन् । महराले ‘मेरो छोरा आउँछ हेरिदिनु भनेका हुन्’ भनेर आफूलाई दबाब दिएको पोखरेलले प्रहरी र जाँचबुझ आयोगमा कागज नै गरेका छन् । त्यसपछि महराका बाबुछोराले सुन छुटाउन तस्करसहितका विभिन्न व्यक्तिलाई २ सय ५६ पटक फोन गरेका तथ्यहरू बाहिरिसकेका छन् । त्यही कसुरमा महराका कान्छा छोरा राहुलविरुद्ध काठमाडौं अदालतमा मुद्दा दायर भइसकेकोमा उनी पुर्पक्षका क्रममा जेलमा छन् । दावाजिनसँग महराले १८ पटक फोनकल गरेकोमा १२ पटक आफ्नै मोबाइलबाट र बाँकी छोराको मोबाइलबाट गरेको तथ्य जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ । महराले यो विषयमा आफ्नो मोबाइलबाट अरूले नै गरे होला भनी उम्किन खोजेका छन् । तर, आयोगले भने प्रतिवेदनमा महराको यो दाबी पत्याउन नसकिने उल्लेख गरेको छ । दावाजिनसँग राहुलको ८० पटक, राहुलकी श्रीमती विमलाको मोबाइलबाट ६ पटक, महरा परिवारका नातेदार गंगाबहादुर केसीको मोबाइलबाट २३ पटक सम्पर्क हुनुले पारिवारिक रूपमा नै सम्बन्ध र सम्पर्क स्थापित रहेको आयोगको प्रतिवेदनमा उल्लेख छ । आयोगले भनेको छ, ‘फलफूल व्यापारीका रूपमा मात्रै आफूले चिनेको भनेर महराले दाबी गरे पनि दावाजिनसँग उठबस र खानपानको तथ्यलाई अन्य सहप्रतिवादीहरूको बयान बेहोराबाट प्रमाणित भएको समेतका तथ्य र प्रमाणहरूबाट एक पटक मात्र सम्पर्क र भेट भएको भन्ने कृष्णबहादुर महराको भनाइ झूटा देखिन्छ ।’ महरा राजकीय पदमा बसेर विदेशी सन्दिग्ध पात्रहरूसँग सहज उठबस र खानपानसम्मका गतिविधिमा सामेल भएको भन्दै राज्य शक्तिकै दुरुपयोग गरेर सुन तस्करलाई सहयोग गरेको आयोगको ठहर छ । ‘वाङसँगको सम्बन्ध र सन् २०११ देखिको नियमित सम्पर्कले महरा राजकीय शक्तिमा रहेको समय अवधिमा निरन्तर रूपमा भई राजकीय शक्तिको दुरुपयोग हुने गरी तस्करसँगको सम्पर्कले निरन्तरता पाएको देखियो,’ प्रतिवेदनमा भनिएको छ । महराले आफूमाथि सुन तस्करीको आरोप लागेपछि यसबाट उम्किन नेपालस्थित एक विदेशी राजदूतावासका पूर्वकर्मचारीसँग पनि हारगुहार मागेको खुलेको छ । जुन विषय महराबारे डीएफएल (डिजिटल फरेन्सिक ल्याब) रिपोर्टबाट भेटिएको हो । ती कर्मचारीले पनि आफूले ‘सकेको सहयोग’ गर्ने वचन दिएको तथ्य आयोगले पत्ता लगाएको हो । यसबारे बयानमा सोध्दा महराले इन्कार गरे । जबकि उनको १४ केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका वैदेशिक मामिलाविज्ञ जीवन गुरुङ र अर्का सुन तस्कर दावा छिरिङबीच पनि सन्दिग्ध भूमिका खेलेको देखिन्छ । जीवनकुमार गुरुङले पनि पूर्वसभामुख महराले भनेबमोजिम दावाजिनको लगानीमा खरिद गरेको सवारीसाधन आफ्नो नाउँमा राखी दावाजिनलाई नै प्रयोग गर्न दिएको आयोगमा बयान दिएका छन् । दावा छिरिङ हाल ६१ किलो सुन तस्करी प्रकरणमा पुर्पक्षका क्रममा जेलमा छन् । सुन तस्करी प्रकरणमा जेलमै रहेका भारतीय नागरिक राघवराव मरगलेले ‘मैले सुनेअनुसार सुन तस्करीमा महरा र फरार चाइनिजहरूको लगानी छ’ भनी आयोगमा बयान दिएका छन् । सुन तस्करीकै अर्का अभियुक्त जीवनकुमारले पनि महराको चिनियाँ गिरोहसँग अस्वाभाविक सम्बन्ध रहेको स्विकारेका छन् । सह–प्रतिवादीका रूपमा देखिएका जीवनकुमारले दावाजिनसँग १७ पटक, दीपेश पुनसँग २६६ पटक, राहुल महरासँग ४ पटक, निर्मल महरासँग ८ पटक, कृष्णबहादुरसँग ४१ पटक सम्पर्क रहेको भन्ने कलडिटेलबाट देखिएको छ ।
आयोगले उपलब्ध तथ्य र प्रमाण तथा अरू परिस्थितिजन्य प्रमाणले महरालाई सुन तस्करीमा मुख्य तस्करको मतियारका रूपमा सजाय हुने गरी मुद्दा दायर गर्नुपर्ने राय दिएको छ । ‘भेप तथा ब्रेक सुमा सुन लुकाई ल्याउने कार्यका प्रमुख व्यक्तिमध्ये एक रहेका दावाजिनसँग कृष्णबहादुर र निजको परिवारको निरन्तर सम्बन्ध रहेको भन्ने तथ्यलाई सह–प्रतिवादीहरूसहित बुझिएका अन्य व्यक्तिहरूको कागज र परिस्थितिजन्य प्रमाणबाट पुष्टि भएको छ,’ आयोगले भनेको छ ।
अन्तरदेशीय संगठित अपराध गम्भीर प्रकृतिको अपराध मानिने र यस प्रकारको अपराधमा प्रत्यक्ष प्रमाणको अभाव हुने हुँदा परिस्थितिजन्य प्रमाणका आधारमा दोषी पत्ता लगाउनुपर्ने र परिस्थितिजन्य प्रमाणको मालाकार रूप देखिएको अवस्थामा दोषी मानिने स्थापित न्यायिक मान्यता रहेको भन्दै महरालाई उन्मुक्ति दिन नमिल्ने आयोगको राय छ । आयोगले महरामाथि संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ र ४ बमोजिम मतियारका रूपमा तस्करलाई सघाएको र भन्सार ऐन, २०६३ को दफा ५७ प्रतिकूल काम गरेकाले बिगो, कैद र जरिवानासहितको सजाय मागदाबी गरेको छ । आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार