इलाम–२ उपनिर्वाचन - एमाले र रास्वपा घरदैलोमा, कांग्रेस र माओवादी अन्योलमा

सोमबार, १९ चैत्र २०८०
कांग्रेस, एमाले र माओवादीका आ–आफ्नै उम्मेदवार रहनुका साथै रास्वपा र पहिचान पक्षधरहरूले पनि प्रभाव बढाउँदै लगेकाले चुनावी प्रतिस्पर्धा रोचक हुने स्थानीयको अनुमान इलाम - इलाम–२ मा वैशाख १५ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारको टुंगो लगाएका दलहरू चुनावी प्रचार र घरदैलोमा पुग्न थालेका छन् । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पहिचान पक्षधरका उम्मेदवारले चुनावी प्रचार सुरु गरेका छन् भने संसद्को सबैभन्दा ठूलो दल कांग्रेस र सत्तारूढ माओवादी केन्द्रले हालसम्म उम्मेदवारको नाम टुंग्याउन सकेका छैनन् । संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त इलाम–२ मा सत्तारूढ एमालेले नेम्वाङका छोरा ३२ वर्षीय सुहाङलाई उम्मेदवार बनाएर प्रचारप्रसार अभियान थालिसकेको छ । चैत १५ देखि नै टोलभेला, भेटघाट र घरदैलो अभियानलाई निरन्तरता दिइएको एमाले इलामका सचिव उमेश गुरुङले बताए । कोशी प्रदेशका पहाडी जिल्लामा संगठन विस्तार गरिरहेको रास्वपाले चैत १७ मा इलाम चोकबजारमा औपचारिक रूपमा उम्मेदवारको घोषणा गर्दै चुनावी अभियान सुरु गरेको छ । रास्वपाले पत्रकार मिलन लिम्बूलाई उम्मेदवार बनाएर चुनाव केन्द्रित गतिविधि सुरु गरेको हो । यसअघि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका लिम्बूले रास्वपाबाट टिकट पाएसँगै भेटघाट र घरदैलो अभियानलाई तीव्रता दिएका छन् । एकीकृत समाजवादीले जितबहादुर राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा माई जोगमाई गाउँपालिका अध्यक्षमा निर्वाचित राई पनि राजनीतिक भेटघाटमा व्यस्त छन् । यता राप्रपाले आफूनिकट विद्यार्थी संगठनका पूर्वउपाध्यक्ष लक्ष्मी गुरुङलाई उम्मेदवार बनाएर प्रचार अभियान थालेको छ । यस्तै कोशी प्रदेशको नाममा असहमति जनाउँदै आन्दोलनमा रहेको किरात याक्थुङ चुम्लुङसहितका घटकहरूले उम्मेदवार बनाएका डकेन्द्र थेगिम दुई सातादेखि इलाममै छन् । जनमत पार्टीका तर्फबाट प्रेमदीप थाम्सुहाङले उम्मेदवारी दिने चर्चा चलेको छ । कांग्रेसबाट जिल्ला सभापति डम्बर खड्का, नेताहरू भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शशिकला राई गरी सात जनाको नाम सिफारिस भएको छ । आकांक्षीको नाम प्रदेश समितिमा पठाइए पनि हालसम्म टुंगो लागेको छैन । तत्काल कायकर्ता भेटघाट र सांगठनिक कामलाई निरन्तरता दिएको कांग्रेसले नाम टुंगो लागेर आएपछि भने चुनावी अभियानलाई तीव्रता दिने जनाएको छ । निर्वाचन क्षेत्रीय कार्यसमितिबाट जिल्ला हुँदै प्रदेशमा पुगिसकेको नाम त्यहाँ पनि टुंगो नलागे केन्द्रीय समितिबाट टुंगो लागेर आउने कांग्रेस इलाम–२ का क्षेत्रीय सभापति डिकेन्द्र इदिङ्गोको भनाइ छ । सत्तारूढ माओवादी केन्द्रका प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्वाङ सोमबारभित्रै उम्मेदवार टुंगो लगाउने बताउँछन् । ‘जिल्लाबाट सिफारिस भएर आएका चार जनामध्ये २ जनाले नाम फिर्ता लिन सहमति जनाउनुभएको छ, अब २ जना आकांक्षी मात्रै रहेकाले उहाँहरूबीच सहमति जुटाएर नाम सार्वजनिक गर्छौं,’ उनले भने । उनका अनुसार अहिले उम्मेदवार बन्न इच्छा देखाएका धीरेन्द्र शर्मा र ओमबहादुर गुरुङबीच सहमतिको प्रयास भइरहेको छ । २०७९ को निर्वाचनमा अहिले सिफारिसमा परेका कांग्रेस सभापति खड्का यो क्षेत्रको उम्मेदवार थिए । उनी एमालेका नेम्वाङसँग १ सय १४ मतान्तरले पराजित भएका थिए । नेम्वाङले ३० हजार २० मत ल्याउँदा खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए । त्यस बेला कांग्रेस र माओवादीको गठबन्धन थियो । यस पटक सत्ता समीकरण फेरिए पनि एमाले र माओवादीले गठबन्धन गरेका छैनन् । यो क्षेत्रमा समानुपातिकतर्फ एमालेले २६ हजार ५ सय ६२, कांग्रेसले २२ हजार ३ सय ३३, माओवादीले ५ हजार १ सय ५३ र रास्वपाले ४ हजार ६ सय ८६ मत पाएका थिए । यस पटक कांग्रेस, एमाले र माओवादीका आ–आफ्नै उम्मेदवार रहनुका साथै रास्वपा र पहिचान पक्षधरहरूले पनि प्रभाव बढाउँदै लगेकाले चुनावी प्रतिस्पर्धा रोचक हुने स्थानीयको ठम्याइ छ । पहिचान पक्षधरले सहयोग गर्ने विश्वास छ सुहाङ नेम्वाङ, एमाले उम्मेदवार तपाईंको उम्मेदवारी किन ? अहिलेको आवश्यकता र परिस्थिति अनि युवा हुनुका नाताले म चुनावी मैदानमा होमिएको हो । एमालेले अघिदेखि नै यो क्षेत्रमा जित्दै आएको छ । विकासका काम पनि निरन्तर गरिरहेकै छ । मेरो काँधमा आएको गहन जिम्मेवारी पूरा गर्न, रोजगारी सिर्जना गर्नुका अतिरिक्त विकास निर्माणका काम गर्न उम्मेदवारी दिन लागेको हुँ । एमालेलाई पहिचानविरोधी पार्टीको आरोप लागेको छ । तपाईंका धेरै मतदाता पहिचान पक्षधर देखिन्छन् । तपार्इं एक किसिमले घेराबन्दीमै हुनुहुन्छ । यस्तो परिस्थितिलाई कसरी सामना गर्दै हुनुहुन्छ ? यसको जवाफ दुई तरिकाले दिन चाहन्छु । सुरुमा स्पष्ट पार्न चाहन्छु कि नेकपा एमाले कहिल्यै पनि पहिचानविरोधी थिएन । किनभने संविधान निर्माणकै बखतलाई हेरौं न । आदिवासी, जनजातिका हकअधिकार सुनिश्चित गर्ने काम एमालेले गरेको छ । महागुरु फाल्गुनन्दकै कुरा गर्न सक्छौं । उहाँलाई राष्ट्रिय विभूति बनाउने मुख्य जिम्मेवारी एमालेले नै निर्वाह गर्‍यो । पहिचान पक्षधरले घेराबन्दी गर्ने कुरा हल्लामात्रै हो । पहिचान पक्षधरहरूले मलाई सहयोग नै गर्ने विश्वास छ । तपाईंको उम्मेदवारीलाई परिवारवादको आरोप पनि लागेको छ । कसरी खण्डन गर्नुहुन्छ ? सर्वप्रथम त परिवारवाद भनेको के हो भन्ने कुरा बुझ्न जरुरी छ । यो जुन भाष्य प्रयोग भइरहेको छ, त्यो अहिले प्रयोग गर्न मिल्दैन जस्तो लाग्छ । यो विशेष परिस्थितिमा भएको चुनाव हो । म जनतासमक्ष पुग्नैपर्छ । एजेन्डा राख्नैपर्छ । जनताले मेरा एजेन्डा मन पराएपछि बल्ल म अनुमोदित भएँ भने सांसद बन्ने हो । एमालेले मलाई छान्नुअघि विभिन्न चरण पूरा गरेको छ । जिल्ला तहदेखि नै मेरो पक्षमा निर्णय भएको हो । त्यसैले परिवारवादको भाष्य गलत हो भन्ने लाग्छ । म सबै पहिचानको सम्मान हुने राजनीतिको पक्षमा छु मिलन लिम्बू, रास्वपा उम्मेदवार तपाईंको जित्ने आधार के हो ? केही वर्षयता नेपाली समाजमा निराशाको प्रतिशत बढिरहेको आकलन गरिँदै छ । हिजोका दिनमा परिवर्तनको आन्दोलनमा म पनि सहभागी थिएँ । परिवर्तनको संवाहक मानिने कुनै राजनीतिक दलसँग म हिजोका दिनसम्म पनि आबद्ध थिएँ । तर, उनीहरूको शैली, संगठन र उद्देश्य जनतामा डेलिभरी दिने भन्दा पनि आफू शक्तिको केन्द्रमा कसरी टिकिरहने भन्ने दाउपेचबाट ग्रस्त रहेको पाएँ । आफ्नो मतको सम्मान होस् भन्ने सामान्यभन्दा सामान्य चाहना राख्ने इलामेली नागरिकले यस पटकको निर्वाचनमा विद्रोह गर्दै छन् । मेरो जितको आधार जनताको ब्यालेट विद्रोह हो । पत्रकारिता छाडेर एक्कासि राजनीतिमा आउनुभयो, यो परिस्थिति कसरी बन्यो ? जनताका गुनासो लिएर धेरै सरकारी अड्डा र दलका नेताकोमा धाएँ । उनीहरूसँग अनुनय, विनय गरें । सोचेजस्तो परिणाम निकाल्न धेरै प्रयास गर्दा पनि नसकिने देखेपछि मलाई के लाग्न थाल्यो भने गुनासो लिएर उनीहरूकामा जानुको सट्टा जनताका दुःख समाधान गर्ने ठाउँमै पुग्नुपर्छ । त्यसैले स्वतन्त्र उम्मेदवारी घोषणा गरेर इलामको निर्वाचनमा होमिएँ । म चुनावमा होमिएपछि रास्वपाका साथीहरूसँग गहन संवाद हुन थाल्यो । त्यसपछि उहाँहरूसँगै देश निर्माणमा अघि बढ्ने निधो गरें । पहिचानविरोधी पार्टीबाट उम्मेदवार बनेको आरोप छ नि ? तपाईंले भनेको पहिचानको जग हाल्ने पार्टीमा आबद्ध भएको म रातारात पहिचानविरोधी हुने र पहिचानविरोधी भनेर चिनिने पार्टीमा आबद्धहरू पहिचानको पक्षधर हुने कसरी हुन्छ होला त रु मलाई के लाग्छ भने यी सबै निर्माण गरिएका भाष्य हुन् । चुनावी मैदानमा निर्माण गरिएका भाष्यका आयु छोटा हुन्छन् । म सबै पहिचानको सम्मान गरिने व्यवस्था र राजनीतिक संस्कारको पक्षमा छु । आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार