ताप्लेजुङ / ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिएको कक्षा ८ को वार्षिक परीक्षामा पाँच जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी एक सय ७८ विद्यार्थीमध्ये पाँच जना विद्यार्थी मात्र उत्तीर्ण भएका हुन् ।
गाउँपालिकामा आठ वटा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८ का विद्यार्थी परीक्षामा सामेल थिए । जसमध्ये चार वटा विद्यालयका विद्यार्थी निल भएको मैवाखोला गाउँपालिकाका शिक्षा शाखाले जनाएको छ ।
शाखाका अनुसार ग्रेड वृद्धिका लागि परीक्षासमेत दिन नपाउने दुई वटा सामुदायिक विद्यालय रहेका छन् । दुई वटा विषयमा अनुत्तीर्ण हुने २५ जना विद्यार्थीले मात्र ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउने भएका हुन् ।
आउँदो वैशाख १० गते ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले परीक्षा सञ्चालन गर्न विषय विज्ञको व्यवस्था गरी प्रश्न पत्र बनाएर परीक्षा सञ्चालन गरिएको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताए ।
उत्तर पुस्तिकासमेत गाउँपालिका बाहिरका विषय विज्ञ शिक्षकबाट मूल्याङ्कन गरी परीक्षाफल सार्वजनिक गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया