वराहक्षेत्र -सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ प्राचीन हरिद्वार चतराधाममा सुरु वाह्रवर्से पिण्डेश्बर पूर्ण महाकुम्भ अन्तर्गत वराहक्षेत्र मन्दिर स्थित कोका कौशिकीको सङ्गममा प्रथम महा (शाही) स्नान गरिएको छ ।
शनिवार बिहान शुभ साइतमा नौमती बाजासहित चतरा धामबाट पैदल हिँडेर वराहक्षेत्र मन्दिरको कोकाहा कौशिकी सङ्गममा पुगेर महास्नान गरिएको हो ।
शाही स्नान गर्न चतराधाम बाट हजारौँ सङ्ख्यामा बाजागाजासहित भजन कीर्तन गर्दै वराहक्षेत्र मन्दिर पुगेका थिए । चतरा धामबाट जगद्गुरु बालसन्त मोहन शरण देवाचार्य, भारतका धर्म रत्न गोपाल शरण देवाचार्य, वराहक्षेत्र नगर प्रमुख रमेश कार्की पैदल खालि खुटै वराहक्षेत्र पुगेका थिए ।
स्नानमा उप-प्रमुख नन्द कुमारी सुनुवार, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, वडाध्यक्षहरू लगायत शिष्ट, विशिष्ट , सन्त महन्त , पिठाधिस, साधकी, धर्माचार्य, मठाधिस, समाजसेवी , राजनैतिक दलका नेता , धार्मिक व्यक्तित्व , स्थानीय जनप्रतिनिधि , स्थानीयवासिहरु गरी हजारौँको सहभागिता रहेको नगर प्रमुख तथा वाह्रवर्से पिण्डेश्बर पूर्ण महाकुम्भ मेला समितिका सह-अध्यक्ष रमेश कार्कीले बताए ।
गत चैत्र २७ गतेदेखि २०८१ वैशाख २८ गते सम्म लाग्ने कुम्भ मेलामा मुख्य पाँच स्नान रहेका छन् । पहिलो स्नान कुम्भ प्रारम्भको दिन चैत २७ गते गरिएको थियो । महिना दिनसम्म लाग्ने महाकुम्भ मेलामा पाँच दिन कुम्भ स्नानका विशेष दिनहरू रहेका छन् ।
कुम्भमा नुहाए अक्ष प्राप्ति हुने मान्यता रहेकाले मानिसहरू देश विदेशबाट कुम्भ स्नान गर्न चतरा धाम आउने गरेको कुम्भ मूल आयोजक समितिले जनाएको छ ।
कुम्भ प्रारम्भ महास्नान चैत २७ गते भइसकेको छ । प्रथम कुम्भ महास्नान वैशाख १ गते, द्वितीय कुम्भ महास्नान वैशाख ११ गते कुम्भ नगरी क्षेत्रमा रहेको सप्तकोसी नदीमा विधिपूर्वक स्नान गरिने भएको छ । त्यस्तै तृतीय कुम्भ महास्नान वैशाख २६ गते गरिएको थियो ।
नेपालमा एक र भारतका चार गरी जम्मा पाँच स्थानमा लाग्ने गरेको कुम्भ मेला नेपालमा सुनसरीको वराहक्षेत्रस्थित चतरामा लाग्दै आएको छ । विश्वको सबैभन्दा ठुलो धार्मिक मेलाको रूपमा सनातन हिन्दु धर्मलम्बीहरुले लिने गरेको कुम्भ मेलामा लाखौँ मानिसहरूको जमघट हुने बताइएको छ ।
प्राचीन हरिद्वारका नामले समेत चिनिने चतराधाममा २०५९ सालदेखि कुम्भको आयोजना हुँदै आएको छ । चतराधाममा प्रत्येक ६ वर्षमा अर्ध कुम्भ मेला र बाह्र वर्षमा पूर्ण कुम्भ मेला लाग्ने गरेको हो ।
कुम्भको विधान उल्लेखित हस्त लिखित पुस्तक अनुसार नै चतराधाममा कुम्भ मेलाको सुरुवात गरिएको जगद गुरु वाल सन्त मोहन शरणले बताए ।
अमृतको थोपा झरेको भारतको मध्यप्रदेशस्थित उज्जैन, प्रयाग, महाराष्ट्र स्थित नासिक र उत्तराखण्डस्थित हरिद्वारमा कुम्भ मेला लाग्दै आएको र नेपालको चतराधाममा अमृतको तर भेटिएकोले यसको महत्त्व र महिमा ठुलो रहेको छ ।
कौशिकी (सप्तकोसी) नदीमा कुम्भ स्नान गर्नाले पापबाट मुक्त भई मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । समुन्द्र मन्थन पछि उत्पन्न अमृतमय कुम्भ घडा आफ्नो बनाउन देवता र दैत्यका बिच भएको लुछातानीको क्रममा जहाँ-जहाँ अमृत खस्यो खस्यो त्यहाँ कुम्भ पर्व लाग्ने गर्दछ । नेपालको चतराधाममा अमृतको पीठ नै खसेकाले कुम्भको चतराधाम राजधानीको रूपमा स्थापित भएको उनले बताए ।
प्रतिक्रिया