इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिकाबाट सोमबार साँझ प्रहरीले पेस्तोल र भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । २८ वर्षीय सिलास लिम्बू र २९ वर्षीय प्रेमबहादुर गुरुङ पक्राउ परेका हुन् ।
लिम्बू सुन्दरहरैँचा–२ र गुरुङ सुन्दरहरैँचा–३ का बासिन्दा रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरीको नेतृत्वमा गएको टोलीले लिम्बूको घरमा छापा हानेको थियो ।
हतियार लुकाएर राखिएको विशेष सूचनाका आधारमा छापा मारेर उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । घर खानलतासी गर्दा मेड इन यूएसए लेखिएको पेस्तोल, एउटा भरुवा बन्दुक र दुई वटा हेण्डसेट फेला परेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए ।
सोधपुछका क्रममा लिम्बूले हतियार गुरुङबाट लिएको स्वीकार गरेका थिए । यसपछि प्रहरीले प्रेमबहादुर गुरुङलाई पनि पक्राउ गरी इलाका प्रहरी कार्यालय बेलबारीमा हिरासतमा राखेको छ ।
डीएसपी चौधरीका अनुसार पक्राउ परेका दुवै जनाबाट हतियार कहाँबाट ल्याइएको र यसको प्रयोग केका लागि गर्न खोजिएको हो भन्ने विषयमा अनुसन्धान जारी छ । प्रहरीले दुवै जनाविरुद्ध हातहतियार खरखजाना मुद्दा दर्ता गर्ने तयारी गरिरहेको छ । घटनाको इलाका प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया