धनकुटा । नेपाली कांग्रेस धनकुटाका प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिनेश राईले कृषिमा आत्मनिर्भरता र रोजगारीको उपलब्धताका आफ्नो उम्मेद्बारी भएको बताए । धनकुटामा आयोजित चुनावी भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै राईले आफ्नो प्राथमिकता कृषिमा आत्मनिर्भरता, रोजगारी सिर्जना र पर्यटन प्रवर्द्धन रहेको जानकारी दिए ।
उनले किसानले उत्पादन गरेको दूधको समयमै भुक्तानी नपाउने समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै “दूधको पैसा एक हातले दिने र अर्को हातले फिर्ता लिने अवस्था अन्त्य गरिन्छ, किसानले समयमै भुक्तानी पाउने व्यवस्था गर्छौँ,” भने ।
राईले धार्मिक तथा प्राकृतिक सम्पदालाई जोडेर पर्यटन क्षेत्रको विकास गर्ने योजना रहेको बताए । “धनकुटामा धार्मिक र पर्यटकीय सम्भावना धेरै छन्, त्यसलाई उजागर गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गरी काम गर्छौँ,” उनले भने ।
उनका अनुसार रोजगारी व्यवस्थापन, गौरवका योजनाको संख्या वृद्धि, व्यवस्थित शहरीकरण तथा सबै पालिकामा योजनाबद्ध नयाँ सहर विकास गर्ने दीर्घकालीन योजना कांग्रेसको प्राथमिकतामा छ । साथै, पार्टीको घोषणापत्र निर्माणका लागि स्थानीय नागरिक र सरोकारवालासँग सुझाव संकलन गरिरहेको पनि उनले जानकारी दिए।
निर्वाचनको स्वरूप पनि परिवर्तन भइसकेको उल्लेख गर्दै राईले डिजिटल माध्यम र सामाजिक सञ्जालमार्फत मतदातासम्म पुग्ने रणनीति अपनाइएको बताए। “निर्वाचन अब हिजोजस्तो रहेन, डिजिटल माध्यम प्रयोग गरेर युवासम्म पुग्नुपर्छ,” उनले भने ।
प्रतिक्रिया