धरान :बालबालिकामा साहित्यप्रतिको अभिरुचि अभिवृद्धि गर्दै पठन संस्कृतिको विकास गर्ने उद्देश्यले इटहरीमा ‘इटहरी बालकला साहित्य महोत्सव–२०८२’ आयोजना हुने भएको छ।
पाथीभरा माध्यमिक विद्यालय इटहरीले आगामी फागुन १ र २ गते महोत्सव आयोजना गर्न लागेको आज पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएको छ । महोत्सवमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सञ्चालन हुने कार्यक्रम संयोजक विक्रम कुमार घिमिरेले बताए ।
महोत्सवमा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त बाल साहित्यका सर्जकका साथै स्थानीय साहित्यकार, कवि, अभिभावक, शिक्षक तथा विद्यार्थीको सहभागिता रहने छ। महोत्सवमा करिब सात हजार सहभागी रहने अनुमान गरिएको छ। कार्यक्रममा शिक्षक, कलाकार तथा साहित्यकारबाट कला–साहित्यका विभिन्न विधामा कार्यशाला सञ्चालन गरिने विद्यालयले जनाएको छ।
इटहरी उपमहानगरपालिकाको अभिभावकत्वमा पाथीभरा माध्यमिक विद्यालय इटहरीको आयोजनामा हुने उक्त महोत्सव बुकल्याण्ड काठमाडौँको सह–आयोजनामा सञ्चालन हुनेछ। साथै काव्य–डबली, प्याब्सन कोशी प्रदेश, नगर प्याब्सन इटहरी, हिसान सुनसरी, सङ्गीत साधना प्रतिष्ठान इटहरी, कारखाना, वेदा, प्ले नेपाल र नाइसको साझेदारी तथा सहकार्य रहने जनाइएको छ।
महोत्सव पाथीभरा माध्यमिक विद्यालय परिसरमा बिहान ९ बजेदेखि दिउँसो ३ः३० बजेसम्म सञ्चालन हुने छ।
प्रतिक्रिया