झापा : लेखक तथा स्रष्टालाई प्रोत्साहन गर्दै साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले २०५६ सालमा स्थापित साहित्य चौतारी झापाले पछिल्लो समय डिजिटल माध्यमलाई समेत आत्मसात गर्दै आफ्नै पोडकास्ट शुभारम्भ गरेको छ ।
‘साहित्य चौतारीसँग स्रष्टा’ नामक पोडकास्टको बिर्तामोडमा औपचारिक शुभारम्भ गरिएको हो ।
निरन्तर साहित्यिक गतिविधिमा सक्रिय रहँदै आएको साहित्य चौतारीले यसअघि स्मारिका प्रकाशन, पुस्तक लोकार्पण, कृति चर्चा–परिचर्चा, अन्तरदेशीय काव्य गोष्ठी सम्मेलन, प्रतियोगितात्मक साहित्य सम्मेलन, शास्त्रीय सङ्गीत प्रतियोगिता, नारायण गोपाल साँझलगायत विविध कार्यक्रम गर्दै आएको छ ।
संस्थाले कवि शिरोमणि लेखनाथ पौड्याललगायत विशिष्ट साहित्यिक व्यक्तित्वहरूको जन्म जयन्तीमा विशेष कार्यक्रम गरी स्रष्टालाई सम्मान गर्दै आएको छ ।
संस्थाका संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा तथा मदन पुरस्कार विजेता साहित्यकार कृष्ण धरावासीको प्रमुख आतिथ्यमा पोडकास्टको शुभारम्भ गरिएको हो । साहित्य चौतारीले धरावासीलाई समेत यस अघि नै अभिनन्दन गरिसकेको छ ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि धरावासी, अग्रज गायक तथा सङ्गीतकार वरिष्ठ सङ्गीतकार टीका भण्डारी, कानुन व्यवसायी लीला उदासी, सामाजिक व्यक्तित्व अनिरुद्र ओलीलगायतले संयुक्त रूपमा गरेका थिए ।
काँकडभिट्टास्थित होटल हिकोला हेरिटेज प्रालिको छैटौँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा पर्यटन प्रवर्द्धनमा साहित्य, सङ्गीत र सञ्चारको भूमिका विषयक अन्तरक्रिया समेत गरिएको थियो ।
सोही अवसर पारेर साहित्य चौतारीले साहित्यलाई पर्यटनसँग जोड्ने आफ्नो अवधारणालाई थप सशक्त बनाउँदै पोडकास्ट शुभारम्भ गरेको संस्थाका अध्यक्ष श्रेष्ठले बताए ।
कार्यक्रमको सञ्चालन साहित्य चौतारीका सचिव तुलसीप्रसाद निरौलाले गरेका थिए । पोडकास्ट कार्यक्रमको नियमित सञ्चालन सञ्चारकर्मी भरत प्रसाईँले गर्ने जानकारी दिइएको छ ।
पोडकास्ट शुभारम्भकै अवसरमा साहित्य चौतारीका संरक्षक तथा अध्यक्ष श्रेष्ठको शुभकामना मन्तव्यसहित वरिष्ठ सङ्गीतकार डा। टीका भण्डारी र भारतको दार्जिलिङ निवासी वासुरी विज्ञ मोहन प्रधानको प्रस्तुति रेकर्ड गरिएको छ ।
नेपाल तथा भारतका साहित्यकार, कलाकार र स्रष्टालाई एउटै थलोमा उभ्याउँदै साहित्यिक विमर्शलाई निरन्तर अघि बढाउँदै आएको साहित्य चौतारीले डिजिटल प्लेटफर्ममार्फत नयाँ पुस्तासँग साहित्य जोड्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया