माडीमा घरदैलो गर्दै पोख्रेल, स्वर्गद्वारीलाई विश्व धार्मिक पर्यटन केन्द्र बनाउने प्रतिबद्धता

मंगलबार, २७ माघ २०८२

प्यूठान। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै घरदैलो अभियानमा माडी क्षेत्र पुगेका नेपाली कांग्रेसका उम्मेदवार डा. गोविन्दराज पोख्रेलले स्वर्गद्वारी क्षेत्रलाई विश्व धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। घरदैलोका क्रममा स्थानीय मतदातासँग भेटघाट गर्दै उनले माडीको समग्र उत्थानका लागि सिंचाइ सुविधा विस्तार, भौतिक पूर्वाधार सुदृढीकरण र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गर्ने योजना सुनाएका थिए।

स्थानीय मतदाताले माडी भेग लामो समयदेखि भौगोलिक, राजनीतिक र विकासका दृष्टिले पछाडि पारिएको अनुभूति सुनाउँदै अब ठोस परिवर्तन आवश्यक रहेको बताएका थिए। उनीहरूले माडी नदीका दुवै किनार जोड्ने पक्की पुल निर्माण, स्वास्थ्य र शिक्षामा गुणात्मक सुधार, रोजगारी सिर्जना तथा आधुनिक प्रविधिमा पहुँच विस्तारजस्ता विषयमा स्पष्ट पहल आवश्यक रहेको बताएका थिए।

जवाफमा डा. पोख्रेलले आफू राष्ट्रिय योजना आयोगमा रहँदा नै माडी नदीमा पुल निर्माणको योजना प्रस्ताव गरिएको स्मरण गराउँदै राजनीतिक पूर्वाग्रह, बजेट अभाव र कार्यान्वयन पक्षको कमजोरीका कारण योजना अलपत्र परेको बताएका थिए। जिल्लाको प्रतिनिधित्व गर्ने तहबाट प्रभावकारी समन्वय नहुँदा स्थानीयमा अन्यौल बढेको उल्लेख गर्दै उनले निर्वाचित भए यस्ता सबै अन्यौल चिर्दै माडीबासीको अभिभावकको भूमिका निभाउने बताएका थिए।

WhatsApp Image 2026-02-10 at 12.19.31 PM

घरदैलोका क्रममा उनले माडीको विकासलाई आफ्नो राजनीतिक यात्राको मुख्य एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गर्दै स्वर्गद्वारी क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने लक्ष्य रहेको बताएका थिए। स्थानीयले पनि यसपटक विकासमुखी नेतृत्वलाई अवसर दिनुपर्ने धारणा व्यक्त गरेका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार