धनकुटा । नेपाली काँग्रेसकी सह–महामन्त्री डा. डिला सङ्ग्रौलाले आगामी निर्वाचनमा पार्टीले कसैसँग पनि गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्ने स्पष्ट घोषणा गरेकी छन्। गठबन्धनको राजनीतिले अपेक्षित उपलब्धि दिन नसकेको र त्यसले मुलुकलाई नै हानी पुगेको उल्लेख गर्दै उनले अब काँग्रेसको भोट ‘रुख’ चिन्हमा मात्रै केन्द्रित हुने बताइन्।
नेपाली काँग्रेस धनकुटाको निर्वाचन प्रचार–प्रसार मूल समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सङ्ग्रौलाले “देशलाई स्थायित्व, सुशासन र विकासको बाटोमा लैजान काँग्रेसलाई जिताउनुको विकल्प छैन, अब भोट रुखमै हाल्नुपर्छ,” भनिन्।
उनले ‘बदल्यौँ काँग्रेस, बदल्छौँ देश’ भन्ने नारासहित पार्टी चुनावी अभियानमा होमिएको जानकारी दिँदै सुशासन, भ्रष्टाचार नियन्त्रण, युवामैत्री नीति, रोजगारी सिर्जना र सामाजिक न्यायलाई प्राथमिकतामा राखिएको बताइन्। लाभका पदमा पुगेका व्यक्तिको सम्पत्ति छानबिन, देशभित्रै रोजगारीका अवसर विस्तार, भौतिक पूर्वाधार विकास, महिला सशक्तीकरण र युवालाई केन्द्रमा राखेर समुन्नत नेपाल निर्माण काँग्रेसका मुख्य एजेन्डा रहेको उनको भनाइ थियो।
“अब चुनावमा काँग्रेसले कसैसँग गठबन्धन गर्दैन, काँग्रेसको रुख चिन्हमा मात्रै मतदान हुन्छ,” उनले दोहोर्याइन्, “जसको नीति उसकै नेतृत्व—हाम्रो अर्जुन दृष्टि फागुन २१ को चुनाव हो।”
सङ्ग्रौलाले पार्टीभित्र गुटतन्त्र अन्त्य भइसकेको दाबी गर्दै काँग्रेस राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायको पक्षमा दृढ रहेको उल्लेख गरिन्। साथै, गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएको जानकारी पनि दिइन्।
कार्यक्रममा केन्द्रीय अनुशासन विभाग संयोजक, पूर्वमन्त्री तथा संविधानसभा सदस्य तारामान गुरुङले काँग्रेसभित्र उम्मेदवार विवाद नरहेको बताउँदै यस पटक ठूलो सङ्ख्यामा नयाँ र जिम्मेवार अनुहारलाई अवसर दिइएको जानकारी दिए।
प्रचार–प्रसार मूल समितिका धनकुटा संयोजक विजय सन्तोषी राईले काँग्रेसले परिवर्तन र विकासको एजेन्डा आत्मसात् गर्दै समृद्धि हासिल गर्न सक्ने दाबी गरे।
पत्रकार सम्मेलनमा नेताहरूले स्थायित्व, सुशासन र आर्थिक समृद्धिका लागि यस पटक काँग्रेसलाई बहुमत दिन मतदातासँग आग्रह गरेका थिए।
प्रतिक्रिया