अचाक्ली महँगियो तरकारी

आइतबार, ३० बैशाख २०८१
काठमाडौँ: नेपाल राष्ट्र बैंकले उपभोक्ता मुद्रास्फीति (महँगी) ४.८२ मा सीमित रहेको बताइरहँदा तरकारीको मूल्य अचाक्ली बढेको छ। पोहोरको तुलनामा तरकारीको मूल्य धेरै बढेको हो। मूल्य बढ्दा उपभोक्ताको भान्सा महँगिएको छ। पोहोर वैशाख २९ गते १२ रूपैयाँ किलोमा बिक्री भएको बन्दाको मूल्य २८९ प्रतिशत बढेर यो वैशाख २९ (शनिबार) ४६ रूपैयाँ पुगेको छ। भान्सामा दैनिक प्रयोग हुने अधिकांश तरकारीको भाउ बढेको छ। आलुदेखि प्याज, सागसम्मको मूल्य बढेको हो। पोहोरको तुलनामा आलुको मूल्य प्रतिकिलो १४ रूपैयाँले बढेको छ। पोहोर ३३ रूपैयाँ किलो पाइने आलु यसपालि ४७ रूपैयाँ पुगेको छ। यो कालीमाटी तरकारी तथा फलफूल बजारमा बिक्री भएको मूल्य हो। कालिमाटीको तुलनामा काठमाडौं उपत्यकाका भित्री बजारमा पुग्दा मूल्य अझै महँगो छ। गोलभेडाको मूल्य किलोको ३० बाट ४५ रूपैयाँ पुगेको छ। प्याजको मूल्य शतप्रतिशतजस्तै बढेको छ। गत वर्षको वैशाखमा प्याजको मूल्य किलोको ३४ रूपैयाँ रहेकोमा यस वर्ष ३३ रूपैयाँ बढेर ६७ रूपैयाँ पुगेको छ। मुला किलोमा २२ रूपैयाँबाट ४०, चिचिन्डो ४६ बाट ६६ रूपैयाँ, घिरौंला ४५ बाट ५६ रूपैयाँ, रायो साग ४५ बाट ७६ रूपैयाँ, हरियो प्याज ६६ रूपैयाँबाट १०१ प्रतिशत बढेर १२६ रूपैयाँ किलो र निगुरो ७६ रूपैयाँबाट बढेर १४६ रूपैयाँ पुगेको छ।
स्रोत: कालीमाटी फलफूल तथा तरकारी  बजार विकास समिति
आपूर्ति कम भएकाले तरकारीको मूल्य बढेको व्यवसायीहरू बताउँछन्। सुक्खा मौसममा कम उत्पादन भएकाले तरकारीको भाउ बढेको नेपाल तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए। ‘उत्पादन घटेकाले बजारमा कम आपूर्ति भएको छ,’ घिमिरेले भने, ‘मागअनुसार आपूर्ति नभएपछि भाउ बढ्यो।’ भारतबाट आयातित तरकारीको मूल्य पनि अचाक्ली बढेको उनले बताए। तरकारीमा मुलुक आत्मनिर्भर हुनुपर्नेमा परनिर्भर हुँदै गएको घिमिरे बताउँछन्। काउली, भन्टा, बोडीको मूल्य भने यथावत् छ। तरकारी पकेट क्षेत्रमा उत्पादन कम भएकाले मूल्य बढेको व्यापारी बताउँछन्। उपत्यकाका मुख्य तरकारी बजार कालीमाटी, टुकुचा, बल्खु, कुलेश्वर, बानेश्वर, बालाजु, लगनखेल, बानेश्वरबाट तरकारी बिक्री हुन्छ। ती बजारमा व्यापारीले लगेपछि अन्य खुला बजारमा अझ निकै महँगोमा बेच्ने गरेका छन्। कालीमाटी फलफूल तथा तरकारी बजारमा मात्र दैनिक साढे ६ सय टन तरकारी बिक्री हुन्छ। सरकारले प्रभावकारी अनुमगन नगर्दा पनि तरकारी बिक्रीमा धेरै तह छन्। बिचौलियाहरूका कारण पनि तरकारी महँगो भएको उपभोक्ता अधिकारकर्मी बताउँछन्। किसानले उत्पादन गरेको तरकारी सिधै उपभोक्तामा पठाउन सके केही सस्तो हुने तर्क छ। प्रभावकारी अनुगमन नहुँदा बिचौलिया हाबी हुने गरेको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले बताए। ‘सरकारको बजारमा उपस्थिति देखिँदैन,’ उनले भने, ‘बजारमा मनपरी ढंगले तरकारी बिक्री गर्दा महँगो भयो।’ ग्रामीण क्षेत्रबाट बजारमा कम तरकारी आएको व्यवसायी बताउँछन्। तरकारी अचाक्ली महँगिएपछि उपभोक्तालाई भान्सा चलाउन हम्मे परेको छ। तरकारी महँगो हुँदा निम्न वर्गीय परिवार, विद्यार्थी, ज्यालादारी काम गरेर खर्च चलाउनेलाई समस्या छ। तरकारी महँगो हुँदा न्यून आय भएका प्रभावित भएका छन्। आलु, प्याज, साग महँगो हुँदा भान्सा चलाउनै हम्मे परेको वनस्थलीमा बस्दै आएकी फूलमाया विकले बताइन्। ‘हामी न्यून कमाइ हुनेले तरकारी किनेर खान कठिन भयो,’ उनले भनिन्। उपत्यकामा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, धादिङ, मकवानपुरको दामन, चितवनलगायत जिल्लामा उत्पादित तरकारी बिक्री हुन्छ। सरकारले तरकारी उत्पादन बढाउने बताए पनि व्यावसायिक तरकारी खेती नहुँदा उपभोक्ता सधैं महँगो मूल्य तिर्न बाध्य छन्। ठुलो मात्रामा तरकारी खेती नहुँदा उत्पादन कम भएकाले भाउ बढी हुने गरेको छ। नेपाल राष्ट्र बैंकले भने सार्वजनिक गरेको फागुनसम्मको तथ्यांकले मुद्रास्फीति गर्त वर्ष ७.४४ रहेकोमा यो वर्ष २.६२ प्रतिशतले घटेको देखिए पनि तरकारीको मूल्य भने बढेको छ। राष्ट्र बैंकले समग्रमा मुद्रास्फीति घटेको देखाए पनि उपभोक्ताले अनुभूति गर्न नसकेको गुनासो गर्छन्। राष्ट्र बैंकका अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.९४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत छ। खाद्य पदार्थअन्तर्गत मरमसला उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २८.१७, तरकारीको १४.०७, दाल  र गेडागुडीको ११.२२, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३५ र दुग्ध पदार्थ तथा अण्डाको ७.११ प्रतिशतले बढेको छ। आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार