काठमाडौं । बाल संगठनले बालमन्दिर चलाउन छुट्ट्याएको २८ रोपनी ५ आना जग्गा हडप्न मुलुककै ठूलोमध्येको व्यापारिक घराना ‘विशाल ग्रुप’ योजनाबद्ध रूपमा लागिपरेको विभिन्न तथ्यहरूले पुष्टि गरेको छ ।
बृहस्पति र राय स्कुलमा विशाल ग्रुपकै अधिक सेयर
जग्गा हडप्नकै लागि विशाल ग्रुपको योजनामा ६० वर्षका लागि बाल संगठनको जग्गा भाडामा लिइएको देखिएको छ । नेपाल बाल संगठनका तत्कालीन पदाधिकारीलाई विभिन्न प्रलोभनमा पारी जग्गा हडपेको प्रमाण फेला परेपछि केन्द्रीय अनुसन्धान विभाग ९सीआईबी०ले पक्राउ पुर्जी जारी गरेको थियो ।
सरकारी जग्गालाई गैरकानुनी रूपमा सम्झौता गरी अनन्तकालसम्म प्रयोग गर्न दिने र लिने दुवै पक्ष गरी २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरी केन्द्रीय अनुसन्धान विभाग ९सीआईबी०ले अनुसन्धान थालेको हो ।
विशाल ग्रुपले बालमन्दिरको जग्गा हत्याउन बृहस्पति विद्यासदन र राय स्कुललाई अघि सारेको कुरा उनीहरूको सो संस्थामा भएको आबद्धताले पनि पुष्टि गरेको छ ।
बृहस्पति र राय स्कुलको सेयर लागतमा विशाल ग्रुपकै सदस्यहरूको नाममा बढी सेयर रकम देखिएको देखिन्छ । सुरुमा बृहस्पति विद्यासदन पुरुषोत्तमराज जोशीले सञ्चालन गरेको भए पनि अहिले उनको नाममा सेयर संख्या न्यून छ भने सेयर रकम र संख्यामा विशाल ग्रुपमै रहेकाहरूको वर्चस्व रहेको छ । बृहस्पतिमा रहेका १४ जना सेयर सदस्यमध्ये प्रत्यक्ष–अप्रत्यक्ष गरी अधिकांश विशाल ग्रुपकै परिवारका सदस्य पाइएको छ ।
३ वैशाख २०६९ सम्म बृहस्पतिमा पुरुषोत्तमराज जोशी, मुरारीनिधि तिवारी, प्रवीणराज जोशी, प्रज्जवलराज जोशी र मीनुकुमारी जोशीसमेत पाँच जनाको लगानी रहेको थियो । त्यसपछि क्रमशः विशाल ग्रुपका अग्रवाल परिवारको लगानी हुँदै र बढ्दै अहिले आएर बहुमतभन्दा बढी सेयर अग्रवाल परिवारकै रहेको छ ।
७ जेठ २०७४ देखि बृहस्पतिमा लगानीकर्ताका रूपमा अनुज अग्रवाल, अर्पित अग्रवाल, श्रद्धा संघाई र ‘ग्रिनफिल्ड इंक प्रालि’ प्रवेश गरेको थियो । अनुज र अर्पित विशाल ग्रुपका निर्देशक हुन् भने ग्रिनफिल्ड नामक कम्पनीका अधिकांश सदस्य विशाल ग्रुपकै सदस्यहरू हुन् ।
यसैगरी, २०७८ सालसम्म आउँदा महेशकुमार सिंघानियाँ, सञ्जयकुमार मोर, सञ्जय अग्रवाल, विशाल अग्रवाल, निकुञ्ज अग्रवाल, श्यामसुन्दर कँडेल, सन्दीपा थापा, बसुन्धरा श्रेष्ठ, समीर थापा, सुनील जाकेबञ्जा पनि लगानीकर्ताका रूपमा देखिएका छन् । यीमध्ये विशाल र निकुञ्ज पनि विशाल ग्रुपकै निर्देशकका रूपमा रहेका छन् ।
बृहस्पति विद्यासदनमा ५८ प्रतिशत सेयर विशाल ग्रुपकै रहेको देखिएको छ । श्रद्धा संघाई पनि विशाल ग्रुपकै परिवारभित्रकै मानिने हो भने ७३ प्रतिशत सेयर हुन आउँछ ।
बृहस्पतिमा विशाल ग्रुपका अनुजको नाममा ३ करोड ६१ लाख २३ हजार ५ सयको सेयर रकम रहेको छ । यसैगरी, विशाल ग्रुपकै विशाल अग्रवालको नाममा २ करोड ३६ लाख ७५ हजार, निकुञ्ज अग्रवालको नाममा २ करोड ३६ लाख ७५ हजार र अर्पित अग्रवालको नाममा १ करोड १२ लाख १० हजार रुपैयाँ सेयर रकम रहेको छ । विशाल ग्रुपकै मातहत रहेको ग्रिनफिल्ड इंक प्रालिको नाममा ५० लाख १७ हजार सेयर रकम रहेको पाइएको छ ।
बालमन्दिरकै जग्गामा खोलिएको अर्को राय स्कुलमा पनि विशाल ग्रुपकै सदस्यहरूको बढी लगानी रहेको देखिएको छ । राय स्कुलमा विशाल ग्रुपका निर्देशक तथा सञ्चालक रहेका अनुजको नाममा ५० लाख ३६ हजार २ सय, विशाल अग्रवालको नाममा ३३ लाख ६० हजार ६ सय, अर्पितको नाममा १६ लाख ८७ हजार र श्रद्धा संघाईको नाममा ७५ लाख ५५ हजार १ सय रुपैयाँ सेयर रकम रहेको पाइएको छ । यसैगरी, श्रद्धा संघाईको नाममा ७५ लाख ५५ हजार तथा ग्रिनफिल्ड इंक प्रालिको नाममा १० हजारको सेयर रकम रहेको छ ।
बृहस्पति विद्यासदन अहिले ८० वर्ष पुगिसकेका पुरुषोत्तमराज जोशीले स्थापना गरेका थिए । अहिले पनि उनको २५ लाख ८० हजार, उनका छोराहरू प्रवीणराज जोशीको १ करोड ८७ लाख १० हजार र प्रज्वलराज जोशीको १ करोड ३१ लाख १० हजार रुपैयाँ मूल्यको सेयर छ । तर, यो बृहस्पतिमा गरिएको लगानीको सानो हिस्सा मात्र हो । बृहस्पतिको अधिकांश सेयर विशाल ग्रुपकै सदस्यहरूको हातमा रहेको उनीहरू देखाउँछन् ।
अटोमोबाइल, बैंक, सिमेन्ट उद्योगदेखि अरू धेरै व्यवसाय सञ्चालन गरिरहेको विशाल ग्रुप यसरी ‘इमर्ज’ भइरहेको व्यापारिक घराना हो, जो पछिल्ला केही वर्षयता करका दर हेरफेरमा समेत प्रभाव पार्न सफल हुँदै आएको छ ।
३ वैशाख २०६९ सम्म बृहस्पतिमा पुरुषोत्तमराज जोशी समूहको लगानी थियो । तिवारीबाहेक अरू सबै पुरुषोत्तमका परिवारका सदस्य हुन् । ७ जेठ २०७४ सम्म आइपुग्दा बृहस्पतिमा लगानीकर्ताका रूपमा अनुज अग्रवाल, अर्पित अग्रवाल, श्रद्धा संघाई र ‘ग्रिनफिल्ड इंक प्रालि’ भित्रिइसकेको थियो । त्यस मितिमा बृहस्पतिबाट मुरारीनिधि र मीनुकुमारी बाहिरिएका थिए ।
अहिले बृहस्पति विद्यालय व्यवस्थापन प्रालिको १७ लाख २० हजार कित्ता सेयरमध्ये विशाल ग्रुपका सदस्यहरूको मात्र कम्तीमा ५७ दशमलव ९५७ अर्थात् ९ लाख ९६ हजार ९ सय ३५ कित्ता सेयर छ ।
बृहस्पतिमा करिब १ हजार ८ सय विद्यार्थी अध्ययनरत छन् । उनीहरूबाट स्कुलले यातायात खर्चबाहेक प्रतिविद्यार्थी औसतमा मासिक २१ हजार शुल्क उठाउँछ । २०४२ सालदेखि सञ्चालित यो स्कुल २२ साउन २०५९ मा नाफा कमाउने कम्पनीमा रूपान्तरण भएको हो ।
बृहस्पतिले बाल संगठनबाट भाडामा लिएर भोगचलन गरिरहेको जग्गालाई सम्झौता र कानुनविपरीत ‘लियन’ (धितो) राखेर बैंकबाट ऋण लिएको थियो । संगठन र बालमन्दिर’दयगत छानबिन गर्न गठित आयोगको प्रतिवेदनमा बृहस्पतिले तत्कालीन बैंक अफ काठमाडौंबाट सोही जग्गा ‘लियन’ राखेर २६ भदौ २०७५ मा ३० करोड र १ असोजमा १ करोड ३३ लाख रुपैयाँ ऋण लिएको उल्लेख छ ।
बृहस्पतिले बाल संगठनबाट लिजमा लिएको जग्गामध्ये ९ रोपनी जग्गा भारतको केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट सम्बन्धनप्राप्त ‘राय स्कुल’लाई ‘सबलिज’मा दिएको छ । ३ साउन २०७२ मा भएको पूरक सम्झौतामा टेकेर बृहस्पतिले बाल संगठनको जग्गा ‘राय स्कुल’लाई दिएको हो ।
१ कात्तिक २०७६ मा बृहस्पति र राय स्कुलबीच सम्झौता भएको थियो । राय स्कुलमा ९ जनाको २ लाख ७५ हजार कित्ता सेयर रहेकामा विशाल ग्रुपका सदस्यको मात्र १ लाख ३४ हजार ५ सय ४९ कित्ता सेयर छ । यो ४८ दशमलव ९२५ प्रतिशत हो ।
आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया