‘ममाथिको छानबिनको कुरा छ, मैले भन्दै आएको थिएँ, म सघाउँछु, म यस मुलुकको नागरिक हो, सबै कुरामा राज्यलाई सघाउँछु, तर हचुवाका भरमा नवअधिनायकवाद देखिएको छ, यो तपाईं हामीमाथि र प्रेस स्वतन्त्रतामाथिको कुठराघात हो,’ कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाले भने, ‘मलाई कार्यकक्षबाटै गिरफ्तार गरेर लगिँदै छ, यसका विरुद्ध म अन्तिम समयसम्म लडाइँ लड्नेछु, तर यो देशमा कानुन छ भने दुईवटा पासपोर्ट बोक्ने, सहकारी ठगीमा प्रमाणित भएको समाचार छ ।’ उनले नागरिकता छानबिनको बहाना बनाएर सहकारी ठगीकाण्डविरुद्ध समाचार लेखेकोमा गिरफ्तार गरिएको प्रस्ट्याए ।सिरोहिया पक्राउको विषयमा कांग्रेस नेता विमलेन्द्र निधिले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी प्रतिशोधको नांगो कर्तुत भएको भन्दै भत्र्सना गरेका छन् । ‘जनकपुरमा उनको र मेरो घर सडकको वारिपारि हो, उनका मातापिता र पुरै परिवारलाई म राम्ररी चिन्छु, सञ्चार क्षेत्रमा उनको योगदान अद्वितीय छ,’ निधिले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘तत्काल उनको रिहाइ होस् ।’ त्यस्तै, नेकपा एकीकृत समाजवादीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउले प्रेस र राज्यबीच द्वन्द्व सिर्जना गरेको जनाएको छ । अध्यक्ष सिरोहियाको पक्राउलगत्तै एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले विज्ञप्ति जारी गरी निडर पत्रकारिताविरुद्ध गरिएको षड्यन्त्र नभएको पुष्टि गर्न सरकारलाई आग्रह गरेका छन् । ‘प्रतिष्ठित सञ्चारगृह कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरिएको घटनाले प्रेस र राज्यका बीच द्वन्द्व सिर्जना गर्न खोजिएको देखिन्छ, मिडियालाई दबाबमा राख्ने कुनै पनि प्रयास निन्दनीय छ,’ महासचिव भुसालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो कार्य कान्तिपुरको निडर पत्रकारिताविरुद्ध गरिएको पड्यन्त्र होइन भन्ने कुरा सरकारले तुरुन्त पुष्टि गर्नुपर्छ ।’ नेकपा समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राज्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गरी तत्कालीन राजा ‘ज्ञानेन्द्रपथ’ अनुसरण गरेको बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा टिप्पणी गर्दै अध्यक्ष सिरोहियाको गिरफ्तार गर्नु राम्रो नदेखिएको भन्दै आपत्ति जनाएका छन् । ‘जुनसुकै कारणले होस् सरकारले नाटकीय ढंगले कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गर्नु राम्रो देखिएन,’ भट्टराईले भनेका छन्, ‘झन् विडम्बनाको कुरा त के भने माओवादी जनयुद्धका बेला २०५८ जेठमा दरबार हत्याकाण्डसम्बन्धी मेरो लेख छापेबापत तत्कालीन राजा ज्ञानेन्द्रको सरकारले सिरोहियालगायतका कान्तिपुरकर्मीलाई यसरी नै गिरफ्तार गर्दा हाम्रा तत्कालीन सुप्रिम कमाण्डर प्रचण्डलगायत हामीले त्यसको तीव्र विरोध गरेका थियौं, आज उनै प्रचण्ड ज्ञानेन्द्रका ठाउँमा हुँदा उनले नै ज्ञानेन्द्रपथ अनुसरण गरेको देख्दा म अत्यन्त लज्जित छु ।’
प्रतिक्रिया