विराटनगर । विराटनगरमा भाडामा लिएको घरको फ्ल्याटमा राखेर युवतीहरुलाई यातना दिँदै जबरजस्ती यौन व्यवसायमा लगाउने गरिएको घटना सार्वजनिक भएको छ ।
अवैध हिसाबले यौन धन्दामा लगाउनकै लागि घरको फ्ल्याट भाडामा लिएर युवतीलाई राख्ने गरेको पाइएको हो । आकर्षक रोजगारी दिने भन्दै प्रलोभनमा पारेर यौन व्यवसायमा लगाइएका ६ जना युवतीलाई प्रहरीले उद्धार गरेको छ ।
प्रहरीका अनुसार विभिन्न ठाउँबाट युवतीलाई ल्याएर भाडाको कोठामा राख्दै सम्पर्कमा आएका व्यक्तिसँग जबरजस्ती यौन सम्पर्क गर्न बाध्य पार्ने र नमानेमा चरम यातना दिने गरिएको पाइयो । वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको डीएसपी बुद्ध श्रेष्ठ नेतृत्वको टोलीले वेश्यावृत्तिमा लगाउन युवतीलाई राखिएको फ्ल्याटमा शुक्रबार छापा मारेको थियो । त्यस क्रममा ६ जना युवतीलाई प्रहरीले उद्धार गरेको छ । प्रहरीले २१ देखि २३ वर्ष उमेर समूहका युवतीहरुको उद्धार गरेको हो ।
उद्धार गरिएकामध्ये काठमाडौं, काभ्रेपलाञ्चोक, स्याङ्जा र उदयपुरका १-१ जना तथा झापाका २ जना रहेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । उनका अनुसार सुनसरीको इनरुवा घर भएका अन्दाजी ३० वर्षीय राजकुमार साह र झापा गरामनीकी २३ वर्षीया सन्ध्या चुँडालले विराटनगर महानगरपालिका–११ स्थित नयाँ गुद्रीमा घरको फ्ल्याट भाडामा लिएर युवतीहरुलाई राख्ने गरेको पाइएको छ । भाडाको फ्ल्याटमा राखेर यौन व्यवसायमा लगाउने गरिएको उनको भनाइ छ ।
एसपी कार्कीका अनुसार साह र चुँडालले यौन व्यवसायमा लगाउनकै लागि मोहन सिटौलाको २ तले घरको भुइँ तलाको फ्ल्याट भाडामा लिएर युवतीहरुलाई राख्ने गरेका थिए । ‘२ महिनाअघिदेखि फ्ल्याट भाडामा लिएर युवतीहरुलाई राख्ने गरेको पत्ता लागेको छ ।
आकर्षक रोजगारीको प्रलोभनमा पारेर काठमाडौंलगायत विभिन्न ठाउँबाट झिकाइएका युवतीहरुलाई आफ्नो सम्पर्कमा रहेका व्यक्तिसँग जबरजस्ती यौन सम्पर्क गर्न बाध्य पार्ने गरेको खुल्यो,’ कार्कीले भने । उनका अनुसार फ्ल्याट भाडामा लिएर युवतीलाई राखिएको भए पनि यौन व्यवसायमा लगाउन भने सम्पर्कमा रहेका व्यक्तिमार्फत अन्यत्र नै पठाउने गरेको यकिन भएको छ ।
साह र चुँडालले यौन व्यवसायमा लगाउने नाममा युवतीहरुलाई चरम यातनासमेत दिँदै आएको प्रहरीले पत्ता लगाएको छ । उद्धार गरिएका युवतीहरुको शरीरभरि निलडाम र चोटपटक थियो ।
हातलगायत शरीरका विभिन्न भागमा चुरोटका ठुटाले पोलेको घाउ थिए । ‘आफूहरुले भनेको नमानेमा साह र चुँडाल मिलेर युवतीलाई कुटपिट गर्दै यातना दिने गर्दा रहेछन्,’ कार्कीले भने, ‘चरम यातना दिने र यौन शोषण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’
युवतीलाई यातना दिँदै यौन क्रियाकलापमा लगाउनेमध्ये चुँडाललाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले चुँडालविरुद्ध मानव बेचबिखन मुद्दा चलाउन आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी दिए । चुँडालका व्यावसायिक साझेदार साह भने फरार छन् । साहको खोजी तीव्र पारिएको डीएसपी बस्नेतले बताए ।
उद्धार गरिएका युवतीहरुलाई भने प्रहरीले महिला अधिकारवादी संस्थाको जिम्मा लगाएको थियो । संस्थामार्फत नै युवतीहरुलाई घर फिर्ताका लागि प्रक्रिया अघि बढाइएको जानकारी प्रहरीले दिएको छ ।
प्रतिक्रिया