चितवन अपडेट : बसमा ६५ यात्रु सवार रहेको, उद्धारमा जुट्न प्रधानमन्त्रीको निर्देशन

शुक्रबार, २८ असार २०८१
विराटनगर / नारायणगढ मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाएको दुई वटा बसमा ६५ जना यात्रु रहेको प्रारम्भिक अनुमान गरिएको छ । बागमती प्रदेशको १५१६ नम्बरको बसमा ४१ र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले बताए । बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् ।              बेपत्ता यात्रुको खोजी तथा उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन नारायणगढ–मुग्लिन सडक खण्डको सिमतालमा पहिरोले दुई वटा यात्रु बस बगाएको घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गर्दै खोज र उद्धारमा खटिन सरकारका सबै निकायहरूलाई निर्देशन दिनुभएको छ । शुक्रवार बिहान भएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दाहालले घटनामा बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासनलगायत सरकारका सबै निकायलाई निर्देशन दिएका छन् । ‘झन्डै पाँच दर्जन यात्रु बेपत्ता एवं देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दछु । बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासनलगायत सरकारका सबै निकायलाई निर्देशित गर्दछु । साथै मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनीकरण सम्बन्धी पूर्व तयारी व्यवस्थित तुल्याउन, उद्धार र रातमा आवश्यक सहकार्य र समन्वयका लागि सङ्घीय, प्रादेशिक र स्थानीय सरकारलाई हार्दिक अपिल गर्दछु ।’ दाहालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार