विराटनगर / नारायणगढ–मुग्लिन सडक खण्डको सिमलताल भन्ने स्थानमा पुरिएको गणपति डिलक्सको बसमा २७ यात्रु रहेको बताइएको छ । जसमा चालक र सहचालकसहित ३१ यात्रु रहेको खुलेको छ ।
काठमाडौँस्थित टिकट बुकिङ इन्चार्ज दीपु कुमारका अनुसार काठमाडौँको नयाँबसपार्कबाट गौर प्रस्थान गरेको ०००१ ख २४९५ नम्बरको बसमा चालक, सहचालक र २७ यात्रु गरी जम्मा २९ जना थिए ।
दुई जना बिच बाटोबाट चढेका थिए । बस किशोर कुमार चौधरीले चलाएका थिए ।
यात्रुहरूको विवरणमा पूरा नाम र ठेगाना भने लेखिएको छैन । नन्दन दास, राज पटेल, प्रिन्स जैशवाल र ओकिल खाँको नाम मात्र पूरा लेखेको देखिन्छ ।
यसै गरी नन्दु, अमिता, हरिचन्द्र, शम्भु, नवीन, ओम, राज किशोर, शैलेन्द्र लगायतको नामबाट सिट बुक भएको छ ।
नन्देको नामबाट ५ जनाको सिट बुक भएको देखिन्छ ।
यसै गरी शन्तु र नवीनको नामबाट ४ जनाको सिट बुक भएको छ । जोरपाटी काउन्टरका लागि ५ सिट छुट्याइएको छ । जोरपाटीबाट चढेका यात्रुहरूको नाम पनि उल्लेख छैन ।
काठमाडौँबाट गौरका लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको एन्जल डिलक्सका दुई वटा बसलाई आज बिहान करिब साढे तीन बजे चितवनको भरतपुर महानगरपालिका–२९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले पुरेको थियो ।
काठमाडौँबाट गौर जाँदै गरेको बसका तीन जना यात्रुहरू भने हाम फालेर ज्यान जोगाउन सफल भएका छन् । अन्य यात्रुहरूको अवस्था अज्ञात छ ।
प्रतिक्रिया