एक लाख २८ हजार अलैँची बिरुवा बिक्री

शुक्रबार, १८ साउन २०८१
इलाम / अलैँचीको बिरुवा उत्पादन गरिरहेको अलैँची विकास केन्द्र इलामले यो वर्ष एक लाख २८ हजार ५६० बिरुवा बिक्री गरेको छ । प्रतिगोटा पाँच रुपियाँका दरले ६ लाख ४२ हजार मूल्य बराबरको बिरुवा बिक्री गरेको केन्द्रले जनाएको छ । देशभरबाट तीन लाख बेर्ना बढी बिरुवाको माग आए पनि माग पुर्‍याउन नसकिएको केन्द्रका प्रमुख राजन परियारले बताए । केन्द्रबाट यो वर्ष ताप्लेजुङ, पाँचथरसहित देशको पश्चिमी जिल्लामा अलैँचीको बिरुवा पठाइएको छ । केन्द्रले रामसाही र गोलसाही जातका अलैँचीका बिरुवा उत्पादन गरी बिक्री गरेको परियारले जनाएको छ । अलैँची खेती विस्तारका लागि बिरुवाको माग बढेपछि केन्द्रले यो आर्थिक वर्षदेखि विभिन्न दश जिल्लामा ४० वटा अलैँचीको नर्सरी राख्ने र बिरुवा उत्पादन गर्ने कार्यक्रम सुरु गरेको केन्द्रका प्रमुख परियारले बताए । फाकफोकथुम, गोर्खाको अजिरकोट गाउँपालिकामा तन्तु प्रजनन केन्द्रबाट उत्पादित बिरुवाको दोस्रो नर्सरी स्थापना गरिएको जनाइएको छ । किसानको मागलाई सम्बोधन गर्न र कम खर्चमा बिरुवा उपलब्ध गराउन अन्य जिल्लामा नर्सरी स्थापना गर्ने काम भइरहेको कार्यालयले जानकारी दिएको छ । पछिल्लो समयमा अलैँचीको उच्च मूल्यमा कारोबार भएपछि किसानहरूले अहिले अलैँचीको बिरुवा रोप्ने र खेती विस्तार गर्ने काम गरिरहेका छन् । अहिले ८५ हजार रुपियाँ प्रतिमनका दरले कारोबार भइरहेको अलैँची गएको आर्थिक वर्ष २०८०–८१ मा सात अर्ब ९४ करोड नौ लाख ६५ हजार मूल्यको निर्यात भएको केन्द्रले जनाएको छ । देशको १७ हजार चार हेक्टरमा अलैँची खेती भएको जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार