सुत्केरी हुँदा इलामका पालिकाको सुविधा : रोङमा मह, चुलाचुलीमा भाले, देउमाईमा नगद

शनिबार, २६ साउन २०८१
टीका खतिवडा/इलाम : पछिल्लो समय पहाडी जिल्लाबाट अरू जिल्लामा बसाइँसराई जानेको संख्या बढ्दो छ । न्यून जन्मदर र तराईमा बसाइँसराईले पहाडको जनसंख्या घट्दै जाँदा जिल्लाभरका पालिकाले भने सुत्केरीलाई विभिन्न सुविधा दिँदै आएका छन् । बच्चा जन्मिएपछि पोषणका रूपमा पालिकाले सहयोग गर्दैै बताएको बताएका छन् । सुत्केरी अवस्थामा आमाको लागि विशेष स्याहार जरूरी हुने भएकाले यो अभियान चलाइको बताइन्छ । खासगरी सुत्केरी आमालाई माछा–मासु, दूध, अण्डा, फलफूल वा झोलिलो पदार्थ सेवन गराउनुपर्छ । आमाको दूधबाट शिशुले आहारा लिने भएकाले पनि सुत्केरीलाई उचित स्याहारसुसार नपुगेको अवस्थामा आमा र शिशु दुवैको स्वास्थ्य कमजोर हुनसक्छ । आमा र शिशु दुवैको स्वास्थ्य कमजोर बन्न नदिन इलामका पालिकाले विशेष कार्यक्रम सुरु गरेका हुन् । इलामको रोङ गाउँपालिकाले आफ्नो पालिकाभित्रका सुत्केरी महिलाहरूलाई मह वितरण गर्ने गरेको छ । चुलाचुली गाउँपालिकाले लोकल भाले वितरण गर्ने गरेको छ । इलाम नगरपालिकाले गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने गरेको छ । देउमाई नगरपालिकाले भने बच्चा जन्मिएपछि नगद नै उपलब्ध गराउने गरेको छ । देउमाईले नगद पाँच हजार पोषणका रूपमा वितरण गर्ने गरेको छ । इलामको रोङ गाउँपालिकाले पालिकाका हरेक सुत्केरी महिलालाई आफ्नै पालिकामा उत्पादन भएको मह वितरण गर्दे आएको जनाएको छ । महले मान्छेको स्मरणशक्ति तेज बनाउनुका साथै दैनिक जीवनमा आवश्यक कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमजस्ता आवश्यक पाइने भएको कारण सुत्केरी महिलालाई मह वितरण गर्ने गरिएको गाउँपालिकाका अध्यक्ष मनीकुमार तामाङ (सुवास)ले बताए । मह सेवन गरेमा शरीरमा इनर्जी आउने र शरीरका अङ्गलाई ठीक ढङ्गबाट काम गर्न प्रेरित गर्ने भएका कारण प्राथमिकतामा राखेर सुत्केरी महिलालाई वितरण गर्ने अभियान नै सञ्चालन गरिएको उनले बताए । पालिकाभित्र सुत्केरी भएको वा बच्चाको जन्म दर्ता गराएपछि महसहित पोसिलो आहारा लिएर जनप्रतिनिधि एवम् कर्मचारी पुग्ने गरेका छन् । सो अभियानले पालिकामा कति महिला सुत्केरी हुँदैछन् भन्ने समेत तथ्याङ्क सङ्कलनमा सहज भएको छ । रोङ गाउँपालिकाले गुणस्तरीय र व्यावसायिक मह उत्पादनको अभियान समेत चलाइरहेको छ । सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’ भन्ने सन्देशलाई सार्थक बनाउन पालिकाले विभिन्न प्रयास गरिरहेको छ । चालू आर्थिक वर्षमा व्यावसायिक मौरी पालनका लागि पालिकाले ५० लाख रकम विनियोजन गरेको छ । गाउँपालिकाले मौरी विकास केन्द्र नै स्थापना गरेर मौरी पालनको विकासमा लागेको अध्यक्ष स्याङ्बोले बताए । पर्यावरणीय सन्तुलन कायम गर्न मौरीले राम्रो भूमिका निर्वाह गर्दछ । यसको पराग सेचनले तरकारी बाली फल्नसमेत मद्दत गर्ने भएकाले पनि मौरी जोगाउन लगानी गरेको गाउँपालिकाले जनाएको छ । मौरी विकास केन्द्रबाट मह तथा मौरीका घार साथै मौरीसमेत बिक्री वितरण गर्ने र आम्दानीको स्रोत बढाउने उद्देश्य गाउँपालिकाले लिएको उपाध्यक्ष विष्णुमाया भुजेलले बताइन् । चुलाचुली गाउँपालिकामा भने सुत्केरी महिलालाई भाले वितरण गरिदैँ आएको छ । चुलाचुली ५ का वडाध्यक्ष बबिन राई स्वास्थ्यकर्मी र कर्मचारीसहित सुत्केरी महिला भेट्न पुग्ने गरेका छन् । सुत्केरी महिलाको घरघरमा पुग्ने गरिएको वडाध्यक्ष राईले बताए । लोकल कुखुराको भाले, गाईको शुद्ध घ्यू, हर्लिक्स र फलफूल लिएर सुत्केरीको घरमा पुग्ने गरिएको अध्यक्ष राईले बताए । वडाको ‘सुरक्षित प्रसूति मातृत्व स्याहार, पोसिलो आहार’ कार्यक्रम अन्तरगत वडाध्यक्ष राई सुत्केरीको घरमा पुग्ने गरेका हुन् । स्थानीय स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य जाँच गराएर नजिकैको अस्पतालमा सुत्केरी भई ३५ दिनभित्र वडा कार्यालयमा बच्चाको जन्म दर्ता गरेका आमाहरूका लागि वडा कार्यालयले पोसिलो आहार प्रदान गर्ने गरेको छ । चुलाचुली गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने सुत्केरी लक्षित कार्यक्रम अन्तरगत मांशाहारी सुत्केरीलाई दुई केजी बराबरको लोकल कुखुराको भाले एउटा, गाईको शुद्ध घ्यू एक केजी, हर्लिक्स आधा केजी र मौसम अनुसारको स्थानीय फलफूल वितरण गर्ने गरेको राईले बताए । त्यस्तै शाकाहारी सुत्केरी आमाहरूका लागि गाईको शुद्ध घ्यू दुई केजी, हर्लिक्स एक केजी र मौसम अनुसारको स्थानीय फलफूल वितरण गर्ने गरेको छ । परम्परागत अन्धविश्वासले निम्त्याउने समस्या न्यूनीकरण गर्दै सुत्केरी आमा तथा नवजात शिशुको मृत्युदर घटाउन, कुपोषण तथा निमोनिया झाडापखाला लगायत रोगबाट बच्न, स्वास्थ्यकर्मीलाई परिचालन गर्दै स्वास्थ्य समाज निर्माण गर्न कार्यक्रम सुरु गरिएको वडाध्यक्ष राईले बताए । चुलाचुली गाउँपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को स्वीकृत नीति तथा कार्यक्रम र बजेट अन्तरगत वडा सिलिङतर्फको बजेटबाट सो वडाले ‘सुरक्षित प्रसूति मातृत्व स्याहार, वडा नं. ५ को पोसिलो आहार’ कार्यक्रम सञ्चालनमा ल्याएको हो । सङ्घ, प्रदेश र गाउँपालिकाले सञ्चालन गरेका आयोजना, कार्यक्रमका साथमा वडालेसमेत छुट्टै रूपमा विद्यार्थी पुरस्कृत कार्यक्रम, पोसिलो आहार कार्यक्रम जस्ता लोकप्रिय कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । यता इलाम नगरपालिकाले भने गर्भवती महिलालाई अस्पतालसम्म लैजान एम्बुलेन्स उपलब्ध गराउने गरेको छ । पालिकाभित्रका गर्भवती महिलाहरूले इलाम अस्पतालसम्म पुग्न सहज होस भनेर एम्बुलेन्स उपलब्ध गराउने गरिएको नगरपालिकाले जनाएको छ । इलाम ४ मा वडा कार्यालयले बसाइँसराई आउने परिवारलाई फूल मालाले स्वागतसमेत गर्ने गरेको छ । जिल्लाकै देउमाई नगरपालिकाले पनि सुत्केरीलाई पोषण भत्ता उपलब्ध गराउँदै आएको छ । हरेक बच्चाको जन्म दर्तापछि नगद उपलब्ध गराउने गरिएको नगरप्रमुख सूर्यप्रसाद पोख्रेलले बताए । सुत्केरी शिशु पोषण व्यवस्थापन कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७९।८० मा नगरभित्रका सुत्केरीलाई पाँच हजारका दरले १५ लाख ६० हजार पोषण भत्ता वितरण गरिएको नगरपालिकाले जनाएको छ । पछिल्लो समय पहाडी भेगमा बसाइँसराई गरी अन्यत्र जानेको संख्या बढ्दो भएकाले यसलाई रोक्नका लागि विभिन्न कार्यक्रम ल्याइनु सकारात्मक भएको जानकारहरू बताउँछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार