सुनसरी घर भएका दुई जना बालक विराटनगरको सुधारगृहबाट फरार

मंगलबार, ०४ भदौ २०८१
विराटनगर । सुनसरी घर भएका दुई जना बालक विराटनगरको बाल सुधारगृहबाट फरार भएका छन् । कानुनको विवादमा परेका उनीहरुलाई अदालतको फैसला र आदेश अनुसार विराटनगर महानगरपालिका–३ स्थित बाल सुधारगृहमा राखिएको थियो । दुवै जना मंगलबार दिउँसो ३ बजेतिर भागेका हुन् । फरार हुनेमा एक जना कर्तव्य ज्यान तथा डाँका मुद्दामा दोषी ठहर भएका र अर्का जबरजस्ती करणी (बलात्कार) मुद्दामा पुर्पक्षका लागि सुधारगृहमा पठाइएका बालक छन् । कानुनको विवादमा परेर अदालतबाट दोषी ठहर भएका तथा अनुसन्धान गर्नुपर्ने बालकहरुलाई बाल सुधारगृहमा राख्ने गरिन्छ । सुनसरीको कोशी गाउँपालिका–२ र बराहक्षेत्र नगरपालिका–११ घर भएका बालक फरार भएको सुधारगृहका प्रमुख मिलन चौहानले बताए । उनका अनुसार कोशी–२ घर भएका बालकलाई अदालतले कर्तव्य ज्यान तथा डाँका मुद्दामा दोषी ठहर गरेको थियो । अदालतले २०७९ माघ १६ गते पुर्पक्षका लागि बालसुधार गृहमा पठाउन आदेश दिएका ती बालकलाई पछि मुद्दाको किनारा लगाउँदा १२ वर्ष ६ महिना कैद सजाय हुने फैसला भएको थियो । त्यस्तै, अदालतले बराहक्षेत्र–११ घर भएका बालकलाई जबरजस्ती करणी मुद्दामा गत असार २८ गते पुर्पक्षका लागि सुधारगृहमा पठाउन आदेश दिएको थियो । आफूविरुद्धको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा उनी भागेका हुन् । प्रमुख चौहानका अनुसार सुधारगृहभित्र रहेको विद्यालयमा अतिरिक्त क्रियाकलाप चलिरहेका बेला पर्खाल नाघेर दुवै जना भागेका हुन् । सुधारगृहमा रहेको दीपज्योति माध्यमिक विद्यालयमा बालकहरु पढ्छन् । त्यहाँ प्रत्येक मंगलबार मनोरञ्जनसहितको अतिरिक्त क्रियाकलाप हुन्छ । ‘सुधारगृहभित्र प्रत्येक मंगलबार ‘बुक फ्री डे’ हो । त्यो दिन अतिरिक्त क्रियाकलाप हुन्छ । सुधारगृहभित्र रहेकाले कार्यक्रममा आआफ्ना प्रतिभाहरु देखाउँछन् । मनोरञ्जनात्मक कार्यक्रम चलिरहेका बेला दुई जना सुधारगृहको पर्खाल नाघेर भागेको पाइयो । प्रहरीसँग समन्वय गरेर खोजी जारी राखिएको छ,’ उनले भने । सुधारगृहको सुरक्षाका लागि प्रहरी सहायक निरीक्षक (असइ)को नेतृत्वमा १३ जना प्रहरी परिचालन गरिएको छ । हाल असइ टेकमणि खड््काको नेतृत्वमा प्रहरी परिचालित छ । सबैतिर समन्वय गरेर सुधारगृहबाट फरार भएका बालकको खोजी जारी राखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । दुवै जना साँझसम्म फेला नपरेको उनको भनाइ छ । क्षमताभन्दा बढीलाई राखिएपछि सुधारगृह अस्तव्यस्त बनेको छ । त्यहाँ राखिएकालाई खान, बस्न र सुत्न समस्या छ । चौहानका अनुसार ५० जनाको क्षमता रहेको सुधारगृहमा २ सय ३८ जनालाई राखिएको छ । उनका अनुसार सुधारगृहभित्र १८ वर्षमाथिका १२४ जना रहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार