मकैको चनाचटपटे बेचेर आत्मनिर्भर

बुधबार, ०५ भदौ २०८१
दाङ : मकैबाट पनि चटपटे बनाइन्छ भन्दा आश्चर्य लाग्नसक्छ । देशका अधिकांश स्थानमा भुटेका चना, भुजा, चाउचाउलगायत खाद्यपदार्थ मिसाएर बनाइने चनाचटपटे मकैबाट पनि तयार गर्नसकिन्छ भन्ने सबैलाई थाहा छैन । तर, दाङको देउखुरी क्षेत्रमा व्यावसायिक रूपमा मकैखेती हुने भएकाले सारती अधिकारी मकै चटपटे बेच्दै आएकी छन् । राप्ती गाउँपालिका–३ मसुरिया निवासी अधिकारी मकैको चटपटेबाट आम्दानी पनि प्रशस्त गर्दै आएकी हुन् । सुरुमा आफूले पनि भुजा, चाउचाउको चनाचटपटे बनाउने गरेको तर पछि यसमा प्रयोग हुने मेसिन र तालिम गाउँपालिकाबाट निःशुल्क पाएपछि नयाँकाम सुरु गरेको बताइन् । “घरमा त्यसै बस्नुभन्दा व्यवसायमा जोडिएपछि दुई–चार पैसा आवश्यक परेका बेला अरुसँग माग्नुपर्ने बाध्यता अन्त्य भएको छ”, उनले भनिन् । चटपटे बनाउन प्रयोग गरिने मेसिन निःशुल्क पाएपछि अझ सहज भएको उनको भनाइ छ । मेसिन मकै उसिन्ने, अचार बनाउनेलगायत काममा प्रयोग हुने गरेको छ । अन्यको भन्दा मकैको चटपटे सबैले मन पराएर खाइदिने हुँदा व्यवसाय गर्ने हौसला बढ्दै गएको उनी सुनाउँछिन् । २८ वर्षीया सारती सोही वडाको खुरुरिया पुलनिर विगत चार वर्षदेखि चटपटेसँगै पानीपुरीको व्यवसाय पनि गर्दै आएकी छन् । यो व्यवसायबाट दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म आम्दानी हुने भएकाले मासिक २०–२५ हजार बढीको कारोबार गर्दै आएको उनले बताइन् । “मासिक १०–१२ हजार बचत हुने गरेको छ”, उनले थपिन् । -रासस

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार