काठमाडौँ । चर्चित गायिका विष्णु माझीको बहुप्रतिक्षीत तीज गीत ‘आइन् आमा यो तीजमा’ले एक दिनमै रेकर्ड बनाएको छ । शनिवार युट्युबमार्फत रिलिज गरिएको गीत एक दिनमै १५ लाखभन्दा बढीले हेरिसकेका छन् ।
आइतवार मध्यान्हसम्म माझीको गीत झण्डै १७ लाखले हेरेका छन् । ‘पुतलीको भट्टी’ श्रृङ्खलाको २० औं भागको रूपमा आएको गीतमा एक दिनमै झण्डै १५ हजारले कमेन्ट गरेका छन् ।
नेपाली संगीतको कुनै गीत छोटो समयमै यति धेरैले हेरेको पहिलो भएको कलाकारहरू बताउँछन् ।
माझीका पति सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको गीतको नृत्यमा ललिता पौडेलले अभिनय गरेकी छिन् । गीतमा खराब पतिका कारण एउटा महिलाले ब्यहोर्नुपरेको कष्ट उतारिएको छ ।
माझीको गीत आएपछि आफ्नो गीत छायाँमा पर्ने र प्रतिस्पर्धा गर्न नसक्ने भन्दै नवोदित कलाकारहरूले साउन महिनामै तीज गीत सार्वजनिक गरेका थिए ।
सार्वजनिक जीवनमा नदेखिएकी माझीले विगतमा गाएका गीतले पनि रेकर्ड बनाएका थिए । २०७८ सालमा आएको ‘चरी जेलै’मा भन्ने गीत ‘५३ मिलियन’ अर्थात् ५ करोड ३० लाख पटक हेरिएको छ ।
प्रतिक्रिया