नवीन दहाल/ इटहरी : इटहरीमा कुकुर आतङ्क बढेको छ । गत साउन पहिलो सातादेखि इटहरीका सबैजसो वडामा कुकुर आतङ्क बढेको हो ।
बहुलाएको कुकुरले मानिस र घरपालुवा पशु चौपायालाई टोक्दा स्थानीयबासी तनावमा परेका छन् ।
खासगरी गत साउन ७ गते इटहरी ५ काब्यवाटिका नजिकै गाईको बाछालाई कुकुरले टोकेको थियो । त्यसपछि कुकुर आतङ्क फैलिएको इटहरी उपमहानगरपालिका पशुपन्छी शाखाका प्रमुख दुर्गा श्रेष्ठले जानकारी दिए ।
इटहरी ५ नं. वडाबाट सुरू भएको कुकुर आतङ्क यहाँका १, २, १९, २०, ४ नं. वडाहरूमा फैलिएको समेत उनको भनाइ छ । ‘कुकुरको टोकाइबाट ४ वटा गाई १ वटा गाईको बाछा र १ वटा भैँसीको पाडा मरेको छ,’ उनले भने, ‘इटहरी २ मा ६ वर्षीया बालिकाको अनुहारमा टोकेर सख्त घाइते हुँदा उनको हालपनि उपचार भइरहेको छ ।’
उपमहानगरले एउटा कुकुरलाई व्यवस्थापन गरेको र अन्य कुकुरको खोजी भइरहेको उनले बताए ।
रेबिज लागेको कुकुरले टोकेको र कुकुरले टोकेपछि रेबिज लागेको पशु चौपाया सम्पर्कमा आएका ५० जना भन्दा बढी मानिसहरूले इटहरी अस्पतालबाट रेबिजविरुद्धको खोप लगाएको उनले बताए ।
बुधबार (भदौ ७ गते) इटहरी वडा नं. २० मा पाँच जना मानिसहरूलाई कुकरले टोकेको पशुपन्छी शाखा प्रमुख श्रेष्ठ बताउँछन् । इटहरीमा कुकुर आतङ्क बढेसगै इटहरी उपमहानगरपालिकाले रेबिज विरूद्धको खोप हान्ने कार्यलाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।
‘हामीसँग एक हजार भन्दा बढी रेबिजविरूद्धको खोप स्टकमा छ । खोप हान्ने कामलाई प्राथमिकतामा राखेर काम भइरहेको छ,’ उनले भने ।
खासगरी जंगली जनावरले कुकुरलाई टोक्ने र कुकुरले घरपालुवा पशुलाई टोक्दा क्षति भइरहेको उनको भनाइ छ । पछिल्लो समय कुकुर आतङ्क फैलिएपछि सचेत रहन पनि आग्रह गरिएको छ ।
कुकुरले टोकेपटि गाईबस्तुले ¥याल निकाल्दा मानिसहरूले भने घाँटीसम्मै हात हाल्ने गरेकाले त्यसो गर्न नहुने उनले सुझाए ।
श्रेष्ठले भने, ‘कुकुरले टोकेपछि गाईवस्तुले ¥याल निकाल्छ । तर, कतिपयले भने घाँटीमा केही अड्कियो कि भनेर हात हाल्नुहुन्छ । त्यसो गर्दा रेबिज फैलन सक्छ । बरु त्यसको सट्टा बेलैमा रेबिज विरुद्धको खोप हान्नुपर्छ र उपचार अगाडि बढाउनुपर्छ ।’
इटहरी नगरभरी बहुला कुकुर र रेबिज लागेका कुकुरको संख्या बढ्दै गएका कारण सचेत रहन उनले आग्रह गरे ।
यता, इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठका अनुसार यहाँको बुद्ध चौकमा कुकुर निस्किएपछि स्थानीय एक बालिकालाई टोकेपछि क्रमैसँग अरूहरूलाई पनि टोकेको बताए ।
‘फरक फरक दिनमा पाँच जनालाई टोकेको छ,’ उनले भने, ‘भुस्याहा कुकुरको संख्या बढिरहेको छ । हामीले पशु शाखामा सम्पर्क गरेर यसको नियन्त्रण र समाधानका लागि काम गर्ने प्रयासमा छौँ ।’
प्रतिक्रिया