मोरङका लघुवित्त कार्यालयमा ‘डकैती शैली’मा आगजनी र तोडफोड

मंगलबार, ११ भदौ २०८१
विराटनगर : मोरङमा दुईवटा लघुवित्तका कार्यालयमा मंगलबार दिउँसो ‘डकैती शैली’मा आगजनी र तोडफोड गरिएको छ । जिल्लाको कानेपोखरी गाउँपालिका–२ दलेलीमा रहेको अभियान लघुवित्त र बेलबारी नगरपालिका–७ नयाँ बाहुनीमा रहेको नेशनल लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयमा मंगलबार आगजनी र तोडफोड भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार अभियान लघुवित्तमा कानेपोखरी–२ कालीस्थानका रामबहादुर लिम्बूसहित १०–१२ जनाको संख्यामा पुगेको समूहले दिउँसो १२ः४० बजेतिर आगजनी गरेको हो । अचानक लघुवित्तमा छिरेको समूहले कम्प्युटरको मनिटर र कागजात जलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार काठको कुर्सी तोडफोडसमेत गरिएको छ । घटनालगत्तै आगजनीमा संलग्नहरू फरार भएका थिए । प्रहरीले घटनामा संलग्न चार जनालाई पक्राउ गरेको दाहालले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा रामबहादुर लिम्बूसहित कानेपोखरी–२ की ३५ वर्षीया चन्द्रकला मगर, उर्लाबारी नगरपालिका–७ की ४० वर्षीया मीना रसाइली र ४३ वर्षीया राधा विश्वकर्मा रहेका छन् । फरार रहेका अन्य व्यक्तिहरूको खोजी भइरहेको डीएसपी दाहालले जानकारी दिए । घटनामा संलग्नमध्ये केही व्यक्तिहरू त्यसअघि बेलबारीको नयाँ बाहुनीमा रहेको नेशनल लघुवित्त वित्तीय संस्थामा आक्रमणमा संलग्न रहेको पाइएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । यसैगरी नेशनल लघुबित्तमा आज बिहान ११ः४० बजेतिर घटना भएको हो । बेलबारी ६ का ५० वर्षीय माधव गिरीसहित ३०–३५ जनाको समूह प्रवेश गरेर नेशनलको कार्यालयमा रहेको ल्यापटप र कागजात पानीमा हालेर नष्ट गरिदिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी बस्नेतले जानकारी दिए । उनका अनुसार गिरीकी पत्नी ४५ वर्षीया पवित्रादेवी गिरी र छोरी २७ वर्षीया दोर्णकुमारी गिरी नेशनल लघुवित्तका सदस्य रहेको खुलेको छ । आमा–छोरीले नै त्यहाँबाट ऋणसमेत लिएको पाइएको प्रहरीले जनाएको छ । ऋण लिएका उनीहरूले तिर्न आलटाल गर्दै आएको लघुवित्तले जनाएको छ । पत्नी र छोरी ऋणि रहेको लघुवित्तको कार्यालयमा गिरीसहितको समूह प्रवेश गरी ल्यापटप र कागजात नियन्त्रणमा लिँदै सुनसरी–मोरङ सिचाई आयोजनाको नहरमा फालेर नष्ट गरिदिएको डीएसपी बस्नेतले बताए । उनका अनुसार घटनामा संलग्नहरुको पहिचान भइसकेको छ । घटनापछि फरार रहेका कारण खोजी तीव्र पारिएको जानकारी बस्नेतले दिए । नेशनल लघुवित्त शाखा कार्यालयका सेक्सन अफिसर नवीन सापकोटाले अचानक एउटा हुल प्रवेश गरेर आतंक मच्चाएको जानकारी दिए । ‘४–५ वटा बोरा लिएर आएका रहेछन् । लघुवित्तभित्र प्रवेश गरेर ल्यापटप, कागजातलगायतका कागजात धमाधम बोराभित्र हाल्न थाले । दुई वटा बोरा हामीले खोसेर राख्यौं,’ उनले भने, ‘त्यसक्रममा कर्मचारीसँग धकेलाधकेल भयो । ल्यापटप र कागजात जलाउन पेट्रोल नै लिएर आएका रहेछन् । तर, सम्भव भएन ।’ सापकोटाका अनुसार जलाउन सम्भव नभएपछि नहरको पानीमा फालेर त्यो समूह फरार बनेको छ । पानीमा हालेका कारण ल्यापटप र कागजात कामै नलाग्ने गरी बिग्रिएको उनले बताए । ‘हामीले कहिल्यै नदेखेका नयाँ मान्छेहरू आएका थिए । भीडमा रहेका दुई जना मात्रै चिन्यौं,’ उनले भने, ‘अरुलाई चिनेनौं । तत्काल प्रहरीलाई घटनाको जानकारी गराएका छौं ।’ मोरङमा भएका दुवै घटनाको जिम्मेवारी लघुवित्त तथा वित्तीय संस्थाविरूद्धको संघर्ष समितिका संयोजक मणिराम ज्ञवालीले लिएका छन् । संयोजक ज्ञवालीले लघुवित्तविरुद्ध मुलुकभर विभिन्न २५ स्थानमा प्रदर्शन गरिएको बताए । सरकारसँगको सहमति कार्यान्वयन नभएपछि आन्दोलनमा उत्रिएको उनको भनाइ छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले चैत २ गते लघुवित्त पीडित संघर्ष समितिसँग ६ बुँदे सहमति गरेको थियो । सहमतिपछि संघर्ष समितिले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको थियो । सरकार परिवर्तन भएलगतै संघर्ष समितिले आन्दोलन सुरु गरेको हो । सरकारसँगको सहमति कार्यान्वयन नभएपछि संघर्षमा उत्रिएको ज्ञवालीले बताए । ‘सरकारसँग सहमति भएको थियो । तर कार्यान्वयन भएन । त्यसैले संघर्षमा उत्रिएका छौं । साथीहरूले आक्रोशमा के–के गर्नुभयो हामी बुझ्दैछौं,’ ज्ञवालीले भने ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार