विराटनगर : वन्यजन्तुको चोरी सिकारी गर्दै गरेको अवस्थामा नेपाल प्रहरीका पूर्व डीआईजीसहित १० जनालाई सप्तकोशी नदी किनार क्षेत्रबाट पक्राउ परेका छन् ।
वन्यजन्तुको अवैध चोरी सिकारीमा संलग्न पूर्वडीआईजी र बहालवाला प्रहरी पक्राउ परेका छन् । नेपाल प्रहरीका पूर्वडीआईजी इटहरी उपमहानगरपालिका–२ घर भएका ६१ वर्षीय ज्ञानविक्रम शाह, बहालवाला सइ विराटनगर महानगरपालिका–३ का ४४ वर्षीय सञ्जय न्यौपानेलगायत १० जनालाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो ।
उनीहरूसहित पक्राउ पर्नेमा सप्तरीको तिरहुत गाउँपालिका–१ का ५१ वर्षीय लक्ष्मण मण्डल, हुनमाननगर कंकालिनी नगरपालिका–१ का ५० वर्षीय लक्ष्मण मण्डल, हुनमाननगर कंकालिनी–२ का ५१ वर्षीय जनार्दन राउत, हुनमाननगर कंकालिनी–३ का ५१ वर्षीय शंकरप्रसाद यादव, हुनमाननगर कंकालिनी–५ का २३ वर्षीय ओमशंकर प्रसैला, हुनमाननगर कंकालिनी–८ का ३७ वर्षीय आकाश यादव, राजविराज नगरपालिका–७ का २५ वर्षीय रविन दास र इटहरी उपमहानगरपालिका–२० का ३३ वर्षीय प्रदीप लिम्बू रहेका छन् ।
स्रोतका अनुसार उनीहरूलाई सप्तरीको हनुमाननगर कंकालिनीको भारदह क्षेत्रबाट पक्राउ गरिएको हो । पक्राउ परेकाहरूले प्वाइन्ट २–२ क्यालिबर राइफल लिएर वन्यजन्तुको अवैध सिकार गरिरहेको खुलेको छ ।
पक्राउ परेकाहरूको साथबाट राइफल १, म्याग्जिन २, गोली १५ राउण्ड, बाइनाकुलर ३, ट्राइपोर्ट १ फलामको हथौडा १, खुर्पा १, प्रदेश ३–०१–०२२ च ६८५५ नम्बरको स्कोरपिओ गाडी, को २ त ६९ नम्बरको ट्याक्टर र एउटा मृत बँदेल बरामद गरिएको मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेलले जानकारी दिए । गोली हानेर मारेको अवस्थामा बँदेल फेला परेको जनाइएको छ ।
स्रोतका अनुसार पूर्वडीआईजी शाह पहिल्यैदेखि वन्यजन्तुको सिकार खेल्न सौखिन थिए । प्रहरी सेवाबाट अवकाश पाइसकेपछि उनी व्यापार–व्यावसायमा पनि लागेका थिए ।
मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी पोखरेलले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको बताए । उनले भने, ‘धान खान आएको बँदेललाई गाउँलेले मारेको भन्ने कुरा पनि आएको छ । यसबारे पनि हामी बुझ्दै छौं ।’
प्रतिक्रिया