विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत फेला परेका दुई नाबालिकाको हत्यामा संलग्न आमालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । उनलाई सार्वजनिक गरिएसँगै नाबालिकाहरूको हत्या आमाले नै गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सुन्दरहरैँचा–७ का स्थानीय नारायण न्यौपानेको केराघारीभित्र नाबालिकाहरू १ वर्षीया आइङ्का र ३ वर्षीया अर्पणा कार्कीको शव गत शनिबार दिउँसो भेटिएको थियो । उनीहरूलाई आमा २१ वर्षीया अस्मिता पौडेल (कार्की)ले विष खुवाएर मारेको प्रहरीले जनाएको छ ।
अस्मिताले उक्त कुरा स्वीकार गरेकी छन् । छोरीहरूलाई विष खुवाएपछि उनी तत्काल फरार थिइन् । उनलाई झापाबाट पक्राउ गरी विराटनगर ल्याएर मोरङ प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
मोरङ प्रहरी प्रमुख, एसपी नवराज कार्कीले घटनापछि फरार बनेकी अस्मितालाई झापाको बिर्तामोड नगरपालिका–५ पूर्व–पश्चिम लोकमार्गनजिक हिँडिरहेका बेला बुधबार (आज)बिहान ४ः३० बजेतिर फेला पारिएको बताए । उनका अनुसार शारीरिक अवस्था नाजुक रहेको र सडकमा भौतारिएर हिँडिरहेको विक्षिप्त अवस्थामा भेटिएकी अस्मितालाई विराटनगर ल्याएर उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको छ ।
नाबालिकाको शव भेटिएपछि घटनास्थल पुगेर एसपी कार्की आफैं अनुसन्धानमा खटिएका थिए । अस्मिताविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट चार दिनको म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अगाडि बढाइएको कार्कीले जानकारी दिए ।
‘घटनाको ५ दिनपछि अस्मितालाई सडकमा अस्वस्थ्य अवस्थामा फेला पारिएको हो । शारीरिक अवस्था निक्कै कमजोर छ,’ उनले भने, ‘उपचारका लागि अस्पताल भर्ना गरिएको छ । ज्यान मुद्दामा अनुसन्धान पनि अघि बढ्यो ।’
अस्मिता धनकुटाको पाख्रीबास नगरपालिका–५ घर भइ सुन्दरहरैँचा–७ स्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएका अर्जुन कार्कीकी पत्नी हुन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले आफ्नो निर्माणाधीन घरमा पानी लगाउने विषयमा पति अर्जुनसँग विवाद भएपछि शुक्रबार साँझ कलिला नानीहरू लिएर बेपत्ता भएकी अस्मिताले त्यही रात विष खुवाएर दुवै जनालाई मारेपछि आफू फरार भएको बताए ।
अस्मिताले ‘तेरा छोरी मारिदिइसकें, म पनि मर्छु’ भनेर मोबाइलमा म्यासेज पठाएको पति अर्जुनले प्रहरीलाई बताएका थिए ।
अस्मिताले प्रयोग गर्ने मोबाइल नाबालिकाहरूको शव नजिकै फेला परेको थियो । बस्नेतका अनुसार विष खुवाएर छोरीलाई मारेपछि रातभर विक्षिप्त भएर जंगलतिर भौतारिएको पाइयो । भोलिपल्ट बेलबारीको खोसार्नेबाट गाडी चढेर बिर्तामोड पुगेको पत्ता लागेको छ ।
‘बिर्तामोडमा यतिका दिनसम्म जंगलको छेउ र बस्तीनजिक भौतारिएर विक्षिप्त मानसिकतामा हिँडेको भन्ने कुरा छ । मंगलबार राति चैं एकजना शंकास्पद महिलाले स्थानीयको घरमा बास माग्दै हिँडेको जानकारी आएको थियो,’ उनले भने ।
प्राप्त जानकारीकै आधारमा हुलिया विश्लेषण गर्दै खोजी गर्दा अस्मिता फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अस्मिता केही मानसिक समस्यामा रहेजस्तो पनि देखिन्छ । अस्मिताले आफूले पनि विष सेवन गरेको बयान दिएकी छन् ।
‘मलाई पतिले धेरै तनाव दिन्थे । ‘मारेर गाड्छु’ भन्न थाले । ‘टर्चर’ सहन सकिन,’ उनले भनिन्, ‘त्यसपछि दुवै छोरीलाई लिएर हिँडे । मर्नलाई भनेर विष पनि लिएर गएकी थिएँ । छोरीहरुलाई मात्रै छाडेर एक्लै मर्न मन लागेन ।’
सुरुमा आफूले विष सेवन गरेको र छात्ती पोल्न थालेपछि अब चैं मर्छु होला भनेर छोरीहरुलाई समेत खुवाएको अस्मिताले बताएकी छन् ।
आफूलाई पतिले धेरै पहिलेदेखि तनाव दिँदै आएको र अति भएपछि यो बाटो अपनाएको उनले बताइन् ।
‘सुरुमा मैले विष खाएँ । त्यसपछि छोरीहरूलाई खुवाएँ । उनीहरू मरे । तर, म चैं मरिन,’ उनले भनिन्, ‘यस्तो बाटो अपनाउन मन थिएन । घरमा कहिल्यै मेलमिलाप भएन । मलाई लामो समयदेखि ‘टर्चर’ थियो । सहन सकिन ।’ उनको भनाइअनुसार पतिसँग बारम्बार झैझगडा र विवाद हुने गरेको थियो ।
तर, अस्मिता आफूले चैं विष खाइन् कि खाइनन् भन्ने विषय अनुसन्धानपछि पत्ता लाग्ने एसपी कार्कीले बताए । उनका अनुसार शारीरिक अवस्था हेर्दा विषको असर हो कि जस्तो देखिन्छ । तर, रगत परीक्षणपछि मात्रै पत्ता लाग्छ । परीक्षणको प्रक्रिया अघि बढाइसकिएको कार्कीले बताए ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टमपछि दुवै नाबालिकाको शवको अन्त्येष्टि गरिसकिएको छ । बाबु अर्जुन उनीहरुको काजकिरियामा छन् । केरा बगानभित्र दिदीले बहिनीलाई अँगालो हालेको अवस्थामा शव फेला परेको थियो ।
नाबालिकाहरूको शव भेटिएको स्थानमा कीटनाशक औषधि ‘मेटासिट’को बट्टा फेला परेको थियो । त्यही ‘मेटासिट’ खुवाएर अस्मिताले नाबालिका छोरीहरुको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अस्मिताको माइती संखुवासभाको मुढेशनिश्चरे हो भने अर्जुनसँग २०७५ साल फागुन ९ गते प्रेम विवाह भएको थियो ।
यो पनि – मोरङमा दुई नाबालिका मृत्यु प्रकरण : पक्राउ परेकी आमा प्रहरीद्धारा सार्वजनिकयो पनि –मोरङमा एकै घरका दुई नाबालिकाको मृत्यु प्रकरण : फरार रहेकी आमा बिर्तामोडबाट पक्राउयो पनि – मोरङमा एकै घरका दुई नाबालिकाको मृत्यु प्रकरण : दिनभर खोज्दा पनि फेला परिनन् आमायो पनि – मोरङको सुन्दरहरैँचामा एकै घरका दुई नाबालिकाको शव भेटियो, घटना रहस्यमय
प्रतिक्रिया