ताप्लेजुङ / जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले एक भारतीय नागरिक सहित तीनलाई प्रतिबन्धित लागु औषध खैरो हेरोइन सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्यको अररिया थाना वडा नं १२ घर भई फुङलिङ नगरपालिका वडा नं ५ शिवालय मन्दिर नजिक बस्ने २३ वर्षीय अमिर हम्जा अन्सारी, फुङलिङ नगरपालिका वडा नं ५ का २० वर्षीय जगत श्रेष्ठ र वडा नं ७ का २३ वर्षीय अनुप गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ परेका तीन जनालाई थप अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न ताप्लेजुङ जिल्ला अदालतबाट अनुमति लिई अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
प्रहरीले उनीहरूको शरीर तथा कोठाको खानतलासी गर्दा कालो रङ्गको प्लास्टिकमा ४ वटा पोकामा ७० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने लिसाईलो बस्तु सँगै सेतो कागजको टुक्रामा पोको पारेको अवस्थामा सुन जस्तो देखिने पहेँलो धातुका ५ वटा टुक्रा तथा नगद २६ हजार ६ सय रुपैयाँ, पर्स, मोबाइल सहितका सामग्री बरामद गरेको छ । उनीहरूका विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रतिक्रिया