इटहरी । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख एवं डीएसपी लक्ष्मी भण्डारीले कानुन कार्यान्वयन गर्ने सबालमा कुनै पनि सम्झौता नहुने स्पष्ट पारेका छन् ।
प्रचलित कानुनले दिएको अधिकार प्रयोग गर्दै कार्यसम्पादन गरिने उनले बताए । डीएसपी भण्डारी ३ दिनअघि मात्रै इटहरी हाजिर भएका हुन् । उनले बुधबार पत्रकारसँग परिचयात्मक कार्यक्रमको आयोजना गर्दै कानुनभन्दा बाहिर गएर कामकारबाही नगर्ने प्रतिबद्धता जनाए ।
साथै, इटहरीमा शान्ति सुरक्षाको अवस्था मजबुत बनाउन सबै उपाय अवलम्बन गरिने पनि बताए । ‘शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धान प्रहरीका मुख्य जिम्मेवारी हुन् । आफ्नो जिम्मेवारीलाई पूरा गर्न प्रहरी लाग्नुपर्छ,’ उनी भन्छन्, ‘कानुनभन्दा बाहिर गएर काम गर्न हुँदैन । कानुनको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्छ ।’
डीएसपी भण्डारीले उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गर्दै कानुन बमोजिम कार्यसम्पादन गर्ने प्रतिबद्धता पनि जनाएका छन् । उनले कसैको दबाब र प्रभावमा नपरिकन शान्ति सुरक्षा, अपराध नियन्त्रण एवं अनुसन्धानलाई प्रभावकारी बनाउँदै इटहरीको शान्ति सुरक्षाको अवस्थालाई मजबुत पारिने उल्लेख गरे ।
शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा कुनै पनि सम्झौता गर्न आवश्यक नरहेको उनको भनाइ छ । भण्डारीको जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट इलाका प्रहरी कार्यालय इटहरी सरुवा भएको हो ।
उनले प्रदेश र जिल्ला प्रहरी कार्यालयले बनाएको सुरक्षा योजनालाई प्रभावकारी रूपमा लागू गर्न आफू प्रतिबद्ध रहेको बताए । साथै, शान्ति सुरक्षा कायम गर्ने सबालमा इलाका स्वयंले पनि योजना बनाएर लागू गर्ने भण्डारीको भनाइ छ ।
डीएसपी भण्डारीसँगै इन्स्पेक्टरहरु राजेन्द्र पौडेल र महेन्द्र पराजुलीसमेत इटहरी हाजिर भएका छन् । दसैं, तिहार, छठलगायतका चाडपर्व नजिकिँदै गइरहेका बेला इलाका प्रहरी कार्यालय इटहरीमा सरुवा भएर नयाँ प्रहरी अधिकृतहरु आएका हुन् ।
डीएसपी भण्डारीले चाडपर्व लक्षित शान्ति सुरक्षामा विशेष ध्यान दिएर प्रहरीले काम गर्ने जानकारी दिए । ‘चाडपर्वलाई सुरक्षित, भयरहित र मार्यादित बनाउन प्रहरी सक्रियता बढाइएको छ,’ उनले भने, ‘विशेष सुरक्षा योजना लागू गरेर काम गरिने छ ।’
प्रतिक्रिया