इटहरी : इटहरी १२ स्थित श्री शान्ति सिर्जना माध्यमिक विद्यालयका ‘हेडसर’ कमल तिम्सिनाले ८० लाख रुपैयाँ अपचलन गरेको घटनामा अझै कारबाही भएको छैन ।
इटहरी उपमहानगरपालिकाको नगर शिक्षा समितिले उनलाई कारबाही गर्नुपर्ने भएपनि घटनालाई अझै सामसुम बनाउने प्रयास रोकिएको छैन ।
अघिल्लो शुक्रबार उपमहानगरको कार्यपालिका बैठकमा प्रअ तिम्सिनालाई कारबाही गर्नुपर्ने, जिम्मेवारीबाट हटाउनुपर्ने, निलम्बन गर्नुपर्ने र रकम घोटाला गरेको विषयमा कार्यपालिका बैठकबाटै छानबिन समिति बनाउनुपर्ने विषय व्यापक बहस भएको थियो । तर, मेयर हेमकर्ण पौडेलले ‘अनिच्छा’ देखाएका कारण उनीमाथि कारबाही नभएको एमालेको आरोप छ ।
विद्यालयलाई जानुपर्ने भन्दा करिब ८० लाख रकम उपमहानगरका कर्मचारीको गम्भीर त्रुटिका कारण विद्यालयको खातामा गएको थियो । रकम गएको २२ महिनासम्म प्रअ तिम्सिनाले उक्त रकमबारे कुनै जानकारी नगराइकन घोटाला गरेका थिए ।
उक्त रकम घोटाला गरेको प्रमाणसहित पहिलोपटक प्रदेश खबरले समाचार सार्वजनिक गरेको थियो । समाचार सार्वजनिक भएसँगै इटहरी उपमहानगरपालिकाले छानबिन समिति बनाएपनि उक्त समितिले ‘झारो मात्रै टार्ने’ काम गरेको स्रोतको दाबी छ ।
यसअघि लेखा अधिकृत लखन चौधरीको संयोजकत्वमा प्रशासन अधिकृत सञ्जीव खड्का र कानुन अधिकृत कमलराज पोखरेल सदस्य रहनेगरी छानबिन समिति बनाएको थियो । उक्त समितिले गत भदौ १३ गते नै प्रतिवेदन बुझाएको छ । तर, समितिले भने ‘झारो टारेर’ प्रअ तिम्सिनालाई चोख्याएको थियो ।
बढी गएको रकम बुझाउनुपर्ने भएकाले यसअघि नै बुझाइसकिएकाले चोख्याइएको कुरा प्रतिवेदनमा उल्लेख छ ।
गत शुक्रबारको कार्यपालिका बैठकमा प्रअ तिम्सिनामाथि कारबाही हुनुपर्ने व्यापक कुरा उठेपनि कुनै निष्कर्ष बिना नै बैठक सकिएको थियो । मेयर हेमकर्ण पौडेलले हरेक शुक्रबार बैठक बस्ने र सोही विषयदेखि बैठक प्रारम्भ हुने भन्दै बैठक समापन भएको घोषणा गरेका थिए । रकम घोटाला गर्ने प्रअमाथि आफूले कारबाही गर्ने तर उनीसहित कर्मचारीलाई पनि कारबाही गर्ने उल्लेख गरेका थिए ।
तर, शुक्रबार (असोज १८) मा भने बैठक बस्न सकेन । बैठक बस्न नसक्नुको एक कारण भने उक्त घोटालाको विषय पनि रहेको बताइएको छ । त्यससँगै ठेक्का सम्झौता म्याद थप गर्ने कि नगर्ने भन्ने पनि अर्को कारण रहेको इटहरी ३ का वडाध्यक्ष उमेश सुवेदीले बताए ।
उनले अघिल्लो साता नै प्रअ तिम्सिनामाथि कारबाही हुनुपर्ने व्यापक छलफल भएपनि मेयरले नै ‘अनिच्छा’ देखाएको आरोप लगाए ।
‘मेयर साबले ८० लाख रकम घोटाला गर्ने कमल तिम्सिनासहित तत्कालीन शिक्षा शाखा प्रमुख सूर्यप्रसाद सुवेदी र लेखा प्रमुख विकास पोखरेललाई पनि कारबाही गर्ने भन्नुहुन्छ,’ सुवेदीले भने, ‘त्यसो हुँदा चेकमा हस्ताक्षर गर्ने प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहतालाई पनि कारबाही हुनुपर्छ भन्ने हाम्रो माग हो । तर, प्रमुख प्रशासकीयलाई जोगाएर अरुलाई मात्रै कारबाही गर्छु भन्नु अस्वभाविक हो ।’
नगर शिक्षा समितिले यसअघि नै प्रअ तिम्सिनालाई कारबाही गर्नुपर्ने भएपनि नौ महिनादेखि शिक्षा समितिको बैठक बस्न नसकेको उनले बताए । उक्त समितिको संयोजक स्वयम् मेयर पौडेल रहेका छन् ।
‘रकम घोटाला गर्ने र नैतिक पतन हुने काम गरेपछि हेडसरको जिम्मेवारीबाट अटाएर छानबिन समिति बनाऔँ भन्ने हामीले माग राखेका हौँ,’ वडाध्यक्ष सुवेदीले भने, ‘तर कारबाही नै गर्न नखोजेकोजस्तो देखिन्छ ।’
खासगरी इटहरी उपमहानगरपालिकाका कर्मचारीले भूलवश रकम बढी खातामा पठाएको र बढी रकम दिनेले थाहा नपाएपनि प्रअ तिम्सिनाले भने बढी गएको रकम थाहा पाएपनि कसैलाई थाहा नदिई गुपचुप राखेर २२ महिनासम्म घोटाला गरेको घटना बाहिरिनुले उनी (तिम्सिना) नैतिक पतन भएको सुवेदीको भनाइ छ ।
‘कारबाही हुनुपर्छ भन्ने माग राख्दा मेयरले अरु दुईजनालाई पनि गर्छौँ भन्ने कुरा आउँछ । नीतिगत रूपमा कर्मचारीलाई तत्काल कारबाही गर्ने आधार छैन । तर, हेडसरको त नियत नै रकम घोटाला गर्ने देखिएकाले कारबाही गर्ने प्रशस्तै प्रमाण छन्,’ उनले भने, ‘तर कारबाही गर्न नचाहेको हो वा किन हो हालसम्म यसबारे तैँ चुप मै चुपजस्तो देखिन्छ ।’
उक्त विषयबारे अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयले पनि अनुसन्धान गरिरहेको छ । यसअघि तत्कालीन शिक्षा शाखा प्रमुख सूर्यप्रसाद सुवेदी र लेखा प्रमुख विकास पोखरेललाई बयान नै लिइसकेको स्रोतको दाबी छ ।
शुक्रबार (असोज १८)मा बैठक बस्ने स्वयम् मेयर पौडेलले उद्घोष गरेपनि ठेक्का सम्झौतामासमेत विवाद भएको छ ।
एमाले पक्षधरका जनप्रतिनिधिले ठेक्का सम्झौता म्याद थप गर्नुपर्ने र काम गर्न चाहेका ठेकदारले काम गर्ने नचाहेकाले नगर्ने भएपनि मेयर पौडेलले भने सबै ठेक्का हटाउने अडान लिएपछि बैठक बस्न नसकिएको एक कार्यपालिका सदस्यले बताए ।
उनले भने, ’जजसले काम गर्छु भन्छन्, त्यसलाई दिऔँ । काम गर्न नचाहेकालाई हटाऔँ भन्ने कुरा हुँदा सबै ठेक्का हटाऔँ भन्ने कुरा आउँदा बैठक बस्न सकिएन । खासमा मेयरले अघिल्लो सरकारले गरेको काम हटाउन खोजेकोजस्तो देखिन्छ ।’
प्रअ तिम्सिनाले रकम घोटाला गरेको विषयमा प्रदेश खबरले पहिलोपटक गत साउन १५ गते समाचार सार्वजनिक गरेको थियो ।
इटहरी १२ स्थित शान्ति सिर्जना माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल तिम्सिनाले करिब ८० लाख रकम घोटाला गरेको समाचार सार्वजनिक भएसँगै यो विषय उत्कर्षमा आएको थियो । आर्थिक वर्ष ०७९।८० मा शिक्षकको तलव शीर्षकको बजेटमा उपमहानगरले श्री शान्ति सिर्जना माध्यमिक विद्यालयलाई ८ लाख ७३ हजार ६८३ रुपैयाँ रकम उपलब्ध गराउनुपर्ने थियो । तर, ७८ लाख ६३ हजार रकम भुक्तानी भयो ।
२०७९ सालको श्रावण, भाद्र असोज (चाडपर्व खर्चसमेतको) तलवभत्ता वापत उपमहानगरले उपलब्ध गराउनुपर्ने भन्दा करिब ८० लाख रकम भुक्तानी गरेको थियो । उक्त रकम तिम्सिनाले ‘घोटाला’ गरेको पुष्टि नै भएको थियो । स्रोतका अनुसार संघीय सरकारको बजेटबाट उक्त रकम विद्यालयको खाता २२२०१००००१३९६०१ नम्बरमा जम्मा भएको थियो ।
उक्त रकम भुक्तानी भएको करिब २२ महिनासम्म प्रअ तिम्सिनाले उपमहानगरमा कुनै जानकारी गराएनन् । तर, आन्तरिक लेखा परीक्षणमा भने उक्त रकम बढी गएको देखिएपछि घटना बाहिरिएको थियो ।
घटना बाहिरिएपनि सामसुम पार्ने प्रयास गरिएको थियो । तर, समाचार बाहिरिएपछि मात्रै विद्यालय व्यवस्थापन समितिलाई थाहा भएको बताइन्छ ।
त्यसो त प्रअ तिम्सिनाले विद्यालयका लेखापालको हस्ताक्षर नै कीर्ते गरेर रकम बैँकबाट झिकेकोसमेत आरोप लागेपनि उनीमाथि कुनै कारबाही नभएकाले उपमहानगरका जिम्मेवार व्यक्तिको नै ‘मिलेमतो’ हुनसक्ने आशंका गरिएको स्रोतको दाबी छ ।
‘रकम घोटालाकै विषयलाई लिएर पनि कार्यपालिका बैठक रोकिएको हो भन्ने आधार छ,’ अर्का एक कार्यपालिका सदस्य भन्छन्, ‘किनकि, यसअघि सो विषयको टुंगो नलागीकन बैठक रोकिएको थियो । रकम घोटाला गरेको प्रमाणै प्रमाण रहेपनि कारबाही गर्न नखोज्नुले धेरै शंकाहरू उब्जनी हुन्छ ।’
उपमेयर संगीता चौधरीले रकम घोटाला गर्ने प्रअ तिम्सिना र ठेक्काको विषयलाई लिएर शुक्रबारको बैठक बस्न नसकिएको बताइन् । ‘हेडसरको विषयमा जोडिने सबैलाई कारबाही हुनुपर्छ, केही सीमितलाई मात्रै होइन । नत्र स्वयम् रकम घोटाला गर्ने हेडसरलाई कारबाही हुनुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भनिन् ।
यता, प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले संसदीय समितिमै छलफल गर्ने र कार्यपालिका बैठकलाई लामो नबनाउने उदेश्य भएका कारण शुक्रबार बैठक बस्न नसकिएको प्रतिक्रिया दिए ।
‘खासमा संसदीय समितिबाटै धेरै विषय टुंग्याएर जाने भन्ने थियो । अनौपचारिक छलफलमा ठेक्काको विषय पनि जोडिएका कारण निष्कर्षमा पुग्न नसकिएको हो,’ उनले भने, ‘उता रकम घोटालाको विषयमा अख्तियारले छानबिन गरिरहेको विषयलाई हामीले चलाउन नमिलेकाले केही नगरिएको हो ।’
रकम घोटालाको विषयलाई अहिले अख्तियारले अनुसन्धान गरिरहेको उनले बताए ।
‘कार्यपालिका भन्दा माथि अख्तियार भएका कारण र अख्तियारले अनुसन्धान गरिरहेकाले त्यसलाई प्रभावित बनाउन हामीले कुनै किसिमको दबाब दिन मिल्दैन,’ मेहताले भने, ‘संवैधानिक निकायभन्दा माथि कोही छैन । नीतिगत कुरा पनि जोडिन्छ ।’
अख्तियारले तीनजनालाई बोलाएर बयानसमेत लिइसकेको उनले जनाए । ‘विद्यालयका प्रअ कमल तिम्सिना, तत्कालीन शिक्षा महाशाखा प्रमुख सूर्य सुवेदी र लेखा प्रमुख विकास पोखरेललाई बयान लिइसकेको छ,’ उनले भने, ‘अख्तियारले छानबिन गरिरहेको विषयमा राजनीतिक दबाब दिन खोजिनु हुँदैन ।’
उनले ठेक्काको म्याद थप्ने कि नथप्ने भन्ने विषयमा पनि छलफल नटुंगिएका कारण बैठक बस्न नसकिएको जानकारी दिए । ‘संघीय कानुनको कारण कतिपय अधिकार क्षेत्रभन्दा बाहिर जान नभएकाले बैठक बस्न नभ्याइएको हो,’ उनले थपे ।
यो पनि – इटहरीमा प्रधानाध्यापकद्धारा ८० लाख घोटाला प्रकरण : कर्मचारी मुछिने डरले ‘चोख्याइयो’यो पनि – इटहरीमा प्रधानाध्यापकद्धारा घोटाला प्रकरण : हर्जनासहित रकम फिर्ता, छानबिनको प्रतिवेदन के आउँछ ?यो पनि – इटहरीमा प्रअद्धारा ‘घोटाला’ प्रकरण : निलम्बनको मागसहित आज उपमहानगरमा पत्र बुझाइनेयो पनि – इटहरीमा प्रअद्धारा ८० लाख ‘घोटाला’ प्रकरण : विद्यालयबाट बिल, भौचर, चेक र माइन्युट ‘जफत’यो पनि – इटहरीमा प्रधानाध्यापकले ‘कीर्ते हस्ताक्षर’ गरी ८० लाख ‘झ्वाम’ पारेको खुलासा, छानबिन समिति गठनयो पनि – सम्पादकीय : राज्यको पैसा ‘घोटाला’ गर्ने प्रधानाध्यापकमाथि निष्पक्ष छानबिन गरयो पनि – एक्सक्लुसिभ : इटहरी उपमहानगरको लापरबाही र विद्यालयका प्रधानाध्यापकको ‘नियत’का कारण ८० लाख रकम ‘घोटाला’
प्रतिक्रिया