इटहरी : इटहरी १४ स्थित श्री शान्ति सिर्जना माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल तिम्सिनालाई विद्यालयबाट निलम्बन गरी कारबाही गर्नुपर्ने मागसहित आज (बिहीबार) उपमहानगरपालिकामा पत्र बुझाइने तयारी छ ।
तीन दिनअघि इटहरी उपमहानगरको छानबिन समितिले विद्यालयबाट सबै कागपत्र जफत गरेको थियो । बुधबार विद्यालय व्यवस्थापन समिति, स्थानीय अभिभावक, सल्लाहकार, सरोकारवाला निकाय, शिक्षक र कर्मचारीसहित बसेको बैठकले प्रअ तिम्सिनालाई निलम्बन गरी कारबाही गर्ने निर्णय भएको छ ।
उक्त निर्णय आज (बिहीबार) इटहरी उपमहानगरपालिकामा बुझाइने तयारी रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रम्तुल मियाँले जानकारी दिए ।
सोमबार छानबिनका लागि विद्यालयको बिल, भौचर, चेक र माइन्युट ‘जफत’ गरिएको थियो । प्रअ तिम्सिनाले उपमहानगरबाट गएको ८० लाख रुपैयाँ ‘घोटाला’ गरेको समाचार बाहिरिएसँगै अहिले छानबिन भइरहेको छ ।
आर्थिक वर्ष ०७९।८० मा शिक्षकको तलव शीर्षकको बजेटमा उपमहानगरले श्री शान्ति सिर्जना माध्यमिक विद्यालयलाई सात लाख ३६ हजार ६६३ रुपैयाँ उपलब्ध गराउनुपर्ने थियो । तर, उपमहानगरका कर्मचारीको लापरबाहीका कारण विद्यालयको खातामा ८८ लाख २४ हजार २४३ रुपैयाँ भुक्तानी भयो ।
उक्त रकम भुक्तानी भएको करिब दुई वर्ष (२२ महिना)सम्म प्रअ तिम्सिनाले उपमहानगरमा कुनै जानकारी गराएनन् । तर, आन्तरिक लेखा परीक्षणमा भने उक्त रकम बढी गएको देखिएपछि घटना बाहिरिएको थियो ।
घटना बाहिरिएपनि सामसुम पार्ने प्रयास गरिएको थियो । तर, समाचार बाहिरिएपछि भने विद्यालय व्यवस्थापन समितिलाई यसबारे थाहा भएको बताइन्छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मियाँ भन्छन्, ‘हेडसर आफैँले सबै कुरा स्वीकार गरिसकेपछि बाँकी कारबाहीका लागि हाम्रो माग छ । कसैलाई थाहै नदिईकन ८० लाख हिनामिना गर्नु अस्वभाविक भएका कारण छानबिन गरी कारबाही निलम्बन गरेर कारबाही गरीपाउँ भनी उपमहानगरमा पत्र बुझाउँदैछौँ ।’
उनका अनुसार इटहरी उपमहानगरमा विद्यालयका प्रअ तिम्सिनालाई निलम्बन गरीपाउँ भनेर पत्र बुझाइने तयारी छ ।
‘यस्तो किसिमको अपराध भएको पुष्टि भइसकेपछि अब निलम्बन नै हुनुपर्छ भनेर हामीले आज पत्र बुझाउने तयारी छ,’ मियाँले भने, ‘‘हेडसरले अहिलेसम्म त्यो रकम कहाँ, के गरेको भन्नेबारे हामी कसैलाई केही पनि जानकारी नभएको र सबैकुरा हेडसर आफैँले स्वीकार गरेपछि बाँकी कारबाहीको प्रक्रिया अगाडि बढाउन माग गरेका हौँ ।’
यसअघि गत शनिबार स्थानीय अभिभावक, विद्यालय व्यवस्थापन समितिसहित बसेको बैठकमा प्रअ तिम्सिना आँफूले नै ८० लाख रुपैयाँ चलाएको स्वीकार गरेका थिए । उनले आँफूबाट गल्ती भएको स्वीकार गर्दै बचाइदिनसमेत आग्रह गरेका थिए । ‘म बाट गल्ती भयो, मेरो पद र जागिर जोगाइदिनुहोस्’ भन्दै उनले बैठकमा हारगुहार गरेको स्रोतले जनाएको छ ।
अहिले इटहरी उपमहानगरपालिकाले लेखा अधिकृत लखन चौधरीको संयोजकत्वमा प्रशासन अधिकृत सञ्जीव खड्का र कानुन अधिकृत कमलराज पोखरेल सदस्य रहनेगरी छानबिन बनाएसँगै उक्त कमिटिले काम गरिरहेको छ ।
साउन मसान्तभित्रमा छानबिन सकेर प्रतिवेदन बुझाउनेगरी काम भइरहेको बताइएको छ । सत्ता र शक्तिको आडमा रमाउने प्रअ तिम्सिनाको फट्याइँमाथि निष्पक्ष छानबिन हुनुपर्ने स्वयम् विद्यालय व्यवस्थापन समितिलेसमेत बताउँदै आएको छ ।
यो पनि – इटहरीमा प्रअद्धारा ८० लाख ‘घोटाला’ प्रकरण : विद्यालयबाट बिल, भौचर, चेक र माइन्युट ‘जफत’
यो पनि – सम्पादकीय : राज्यको पैसा ‘घोटाला’ गर्ने प्रधानाध्यापकमाथि निष्पक्ष छानबिन गर
Discussion about this post