भ्रूण प्रश्न

विहीबार, १५ कार्तिक २०८१
यो ब्रह्माण्ड कहाँ रहन्छ यसको मासेर मूलै जरा? रोक्दैछौ किन जन्मिने पथ यहाँ छोरीहरूकै तर? त्रासैत्रास छ भ्रूणमै पनि हरे! पाउन्न कि जन्मिन? छोरी जन्मनु श्राप हो यदि भने संसार कस्को भन? आमा भन्दछ प्रेम प्यार दुनियाँ छोरी तिनी हैन र ? पत्नी रोज्दछ जिन्दगी सहजको छोरी उनी हैन र ? चाहन्छौ गुणकी सुशील युवती त्यस्ती बुहारी किन ? छोरी जन्मनु श्राप हो यदि भने संसार कस्को भन? प्राणी अन्य कुनै हुदैन यसरी छोरी भनी मार्दिने मान्छे चेत भएर चेतनविनै हिंसा झनै ल्याउने मान्छेको अति निर्दयी प्रकृतिको कस्ताे खुनी शासन छोरी जन्मनु श्राप हो यदि भने संसार कस्को भन? हे आमा कति बन्दछौ नियतिको सङ्घार पुज्ने बलि तिम्रो कोख अगाडि दैत्य उभियो बोकेर भाला छुरी आयो प्राण निभाउने प्रलय यो कस्तो अँध्यारो क्षण छोरी जन्मनु श्राप हो यदि भने संसार कस्को भन? देऊ जन्मिन कोखबाट धरती टेक्ने यही सोख छ तिम्रो काख सजाउँदै चुलबुले हाँसो दिने भोक छ त्यो हाँसो किन खोस्दछौ करुण यो चित्कार पैले सुन छोरी जन्मनु श्राप हो यदि भने संसार कस्को भन?

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार