कार्यक्रमका वक्ता, एकीकृत सरकारी कर्मचारी संगठनका महासचिवसमेत रहेका राईले एड्भोकेसी हुनु र एकेडेमिक हुनुमा आकाश पातलको फरक रहेको बताए । राईले भने, ‘बुद्धिजीवी पनि पार्टीको भइदिनुपर्ने ? अथवा, अहिले त जातिको पनि भइदिनुपर्ने ? अझै बढी क्षेत्रको पनि भइदिनुपर्ने ? हाम्रो संस्कृति कतातिर जाँदैछ ?’
आार्थिक, राजनीतिक र सांस्कृतिक आयामबाट मानिसको संगठित जीवन चलिरहेको उनको तर्क छ । अहिलेको नेपाली समाज कर्पोरेट संस्कृतिमा केन्द्रीत भएको उनी बताउँछन् । ‘अब हामीलाई खोलाको माछा होइन, प्याकिङ गरेको माछा चाहियो । यो च्यालेन्जमा अल्पसंख्यकहरूले सामना गर्नको निम्ति नयाँ जुक्ति र बहस अगाडि बढाउन आवश्यक छ,’ उनले भने ।
अर्का वक्ता, कलालय इटहरीका अध्यक्षसमेत रहेका नाट्यकर्मी जयन्तीले जीवनमा थाहा हुनु र हुनुबीचको अन्तर छुट्याउनुपर्ने सुनाए ।
‘संस्कृतिको कुरा गर्दा भूगोलको कुरा आउँदोरहेछ । मानिस कोही मान्छे गोरा छन्, कोही काला छन् । हरेक ठाउँको संस्कार र संस्कृति फरक हुनुको कारण भनेको भूगोल नै हो,’ उनी भन्छन्, ‘भूगोल र वरिपरीको वातावरणले निर्माण गर्ने चीज र जीवनशैलीको रूपमा जे उतारिन्छ त्यो नै संस्कृति हो ।’
भूगोल फरक हुनेबित्तिकै बजारीकरण र काम गर्ने तरिका नै अलग हुने उनको तर्क छ । सांस्कृतिक रूपान्तरण भनेको रूपलाई अन्तर पार्ने प्रक्रिया रहेको उनले सुनाए । जे भइरहेको थियो, त्यो होइन, त्यसलाई राम्रो कसरी गर्ने भन्ने बोध हुनु नै सांस्कृतिक रूपान्तरण रहेको उनको भनाइ छ ।
आयोजक संस्था पेसागत महासंघ सुनसरीका अध्यक्ष राजनकुमार ढकालले सांस्कृतिक चेतना शैक्षिक चेतनाभन्दा शक्तिशाली हुने बताए । सांस्कृतिक चेतनाले व्यक्तिगत चेतना निर्धारण गर्ने उनको भनाइ छ ।
                        
प्रतिक्रिया