मोरङ । यति बेला नेता चौकले नेताहरूलाई लस्कर लगाइरहेको छ । चौकमा बस्नेहरू चुनावकै कुरा गरिरहेका हुन्छन् ।
विराटचौक घिनाघाट सडक खण्ड अन्तरगत उत्तरपट्टिबाट मोरङको सुन्दरहरैंचा नगरपालिकाको विराट चौकबाट दक्षिण रहेको नेता चौक नपुग्दै ग्रामथान गाउँपालिका सुरु हुन्छ । पालिका टेक्नसाथ चुनावी पर्चा भेटिन्छन् ।
घरघरमा पार्टीका झन्डा, सवारी साधनमा समेत झन्डा र उम्मेदवारको पर्चाका साथ दगुरिरहेका हुन्छन् । कोशी प्रदेशको एक मात्र पालिकाको अध्यक्ष पदका लागि आगामी मङ्सिर १६ गते यहाँ उपनिर्वाचन हुँदै छ ।
प्रदेशको एक मात्र पालिका अध्यक्ष पदको निर्वाचन हुँदै गर्दा सबै पार्टीका उम्मेदवार पार्टीको दलबलसहित घरघरमा भोट माग्न व्यस्त छन् । भित्री गाउँका स्थानीयलाई भने धान भित्राउन धमाधम छ ।
स्थानीय ज्ञान चन्द्र गच्छदार भन्छन्, 'यहाँ उपनिर्वाचनको चर्चा राम्रै चुलिएको छ । मुख्यरुपमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच प्रतिस्पर्धा हुने देखिन्छ ।’ उम्मेदवारहरू आफ्ना बाचा सहित घरदैलोमा पुगिरहेको अवस्था रहेको उनले बताए ।
२०७९ को स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवार जयप्रकाश गच्छदार विजयी भएका थिए । उनको गत असार ३ गते हृदयाघातका कारण निधन भएपछि यस ठाउँमा उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनमा होमिएको नेकपा एकीकृत समाजवादी पार्टी आफ्ना उम्मेदवार दिलबहादुर विश्वकर्मालाई अगाडि सारेर मैदानमा होमिएको छ ।
तेतरियामा स्थापित सम्पर्क कार्यालयमा भेटिएका नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका वसिम आलम भन्छन्, ‘हामी नयाँ दल हौँ । सबै ठाउँमा पुरानाले चुनाव जित्न सक्दैनन् भन्ने उदाहरण नजिकैको धरान उपमहानगरपालिकाको मेयरलाई पनि हामी देख्न सक्छौँ ।’ आफ्नो पार्टी जित निकाल्नका लागि आफ्ना कार्यक्रम र एजेन्डा सहित चुनावमा होमिएको बताउँदै परीक्षण समेत हुने उनले उल्लेख गरे ।
विश्वकर्मा सहित ग्रामथानमा एक जना अध्यक्ष पदका लागि १६ जनाको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले उल्लेख गरेको छ ।
जसमा नेकपा एमालेबाट तुलसीराम विश्वास, नेपाली काँग्रेसबाट बलराम सरदार थारु, नेकपा माओवादी केन्द्रबाट नमोनारायण माझी, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिनेशकुमार थन्दार, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवीनकुमार चौधरी विश्वास उम्मेदवार रहेका छन् ।
यस्तै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट धर्मेन्द्रकुमार चौधरी, नेपाल मजदुर किसान पार्टीबाट पर्शुराम विश्वास थारु, मङ्गोल नेशनल अर्गनाइजेसनबाट भरत राई, नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहर, जसपा नेपालबाट सुरेशकुमार राजवंशी, समावेशी समाजवादी पार्टी नेपाल पार्टीबाट बोधनारायण माझी र स्वतन्त्र रूपमा नमनारायण चौधरीले उम्मेदवारी दिएर उम्मेदवारहरू घरदैलोमा व्यस्त देखिन्छन् ।
नेपाली काँग्रेस आफ्ना उम्मेदवारको जीत निश्चित रहेको दाबी गर्दछ । जयप्रकाश जी ले सोचेका धेरै कुराहरू पुरा गर्नका लागि बलराम सरदार सक्षम उम्मेदवार रहेको उल्लेख गर्दै काँग्रेस मोरङका सभापति डिकबहादुर लिम्बु भन्छन्, ‘जसरी घरदैलोमा पुगेर मतदाताका कुरा हामीले सुनिरहेका छौँ र हाम्रा प्रतिबद्धता जाहेर भएका छन्, त्यसमा हाम्रो जीत निश्चित जस्तै छ ।’
घरदैलोमै भेटिएका उम्मेदवार रहेका बलराम सरदार थारुले पनि आफूले यस ठाउँको माटो चिनेको र समस्या बुझेको प्रतिनिधि भएकाले जनताले विश्वास गर्ने बताए । वैचारिक, सरल, झुट नबोल्ने, विश्वास गर्न योग्य उम्मेदवार भएकाले सरदारलाई भोट दिनुपर्ने नेपाल महिला सङ्घकी ग्रामथान गाउँपालिका अध्यक्ष निमा नेपाल‘पोखरेल’ बताउँछिन् ।
निर्वाचनमा काँग्रेसले आफ्ना सबै संयन्त्रलाई परिचालन गरेको अवस्था छ ।
नेपाल विद्यार्थी सङ्घका मोरङ जिल्ला सभापति सरोज पोखरेल भन्छन्,‘हाम्रो उम्मेदवारलाई जिताउन हामीले सबै संयन्त्र परिचालन गरेका छौँ । बलराम सरदार नै यहाँको उपयुक्त उम्मेदवार हो ।’
सरदारलाई जिताउन पुर्वमन्त्री सहित केन्द्रीय नेताहरू पनि एक भएका छन् । नेपाली काँग्रेसका मोरङ सभापति तथा पूर्व युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बु, पूर्व अर्थमन्त्री महेश आचार्य, डा।मिनेन्द्र रिजाल लगायतको जम्बो टोली काँग्रेसका उम्मेदवार जिताउन हिँडिरहेको अवस्था छ ।
‘कुनै तुस प्रकट नगरी हामी प्रत्याशी समेत एकताको सन्देशका साथ होमिएका छौँ ।’ काँग्रेसमा प्रत्याशी रहेका जीतनारायण भगतले भने ।
वैचारिक नेताको छवि बनाएका नेकपा एमालेका महासचिव महासचिव शङ्कर पोखरेललाई ल्याएर चुनावी प्रचारको सुरुवात गरेको नेकपा एमालेले पनि अध्यक्षमा काँग्रेसको किल्ला भत्काउने रणनीति बनाएको छ ।
२०७४ साल र ७९ सालको चुनावमा जितेको काँग्रेसलाई रोक्दै जित हासिल गर्ने उद्देश्यका साथ महासचिव पोख्रेलको प्रशिक्षणपछि एमालेले घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ ।
एमालेबाट अध्यक्षका प्रत्याशी रहेका तुलसीराम विश्वास आफू युवाका साथै नवीन सोचका साथ अभियानमा होमिएको बताउँछन् । ‘नेकपा एमालेले यो पटक जित्नुपर्ने अवस्था छ ।
उनले भने, ‘युवाले नै समस्या बुझ्ने, समाधान गर्नेका साथै निराश रहेको युवा वर्गलाई विश्वासमा लिन सकिने भएकाले पनि यहाँका नागरिकले एमालेलाई विश्वास गर्नुहुने छ ।’
२०७४ को निर्वाचनमा काँग्रेसबाट वडा नं १ को अध्यक्ष जितेका नमोनारायण माझीलाई उम्मेदवार बनाएको माओवादी केन्द्रका नेताहरू कार्यकर्ता भेटघाट र जनतासँग भेट्ने कार्यक्रमहरूमा व्यस्त देखिन्छन् ।
यता नयाँ पार्टीको रूपमा देखा पारेको रास्वपा पनि पुराना दलले अराजकता, भ्रष्टाचार तथा कुशासन निम्त्याएको भन्दै रास्वपा लाई मत गर्नुपर्ने आवाजका साथ टोल टोलमा माइकिङ गर्दै भोट मागिरहेको छ ।
उम्मेदवारी दिएका प्रायः दलहरूले आफ्नो कार्यालय स्थापनाका साथ चुनावी मैदानमा छन् । एमालेलाई ‘टाउको दुखाइका पात्र’ टिकट नपाएर बागी उम्मेदवार नमनारायण चौधरी पनि अभियानमा व्यस्त छन् ।
त्यहाँका स्थानीयबिचका कुराकानी र चुनावी अभियानका आधारमा यस उपनिर्वाचनमा मुख्यतः नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबिच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । २०७९ निर्वाचनमा काँग्रेसका स्व।गच्छदारले एमालेका शिवनारायण माझीलाई १ हजार ५ सय १२ मतान्तरले पराजित गरेका थिए ।
सात वटा वडा रहेको ग्रामथानमा उपमेयरका साथ पाँच वडाको वडाध्यक्ष भने नेकपा एमालेले जितेकोले उसले उपस्थिति बलियो देखाएको छ । तर, आफ्नै उम्मेदवार बागी भएकाले एमालेलाई चुनौती पनि उत्तिकै छ ।
नयाँ र स्वतन्त्रको उभार पनि व्याप्त भइरहेको अवस्थामा यस चुनावमा नयाँले आफूलाई परीक्षण गर्ने मौका पनि पाएका छन् । अन्तिम मत परिणाम त अब १० दिन पछि हुने निर्वाचनमा जनताले आफ्नो नेता कसलाई रोज्छन् त्यो हेर्न बाँकी नै छ । किनभने, लोकतन्त्रमा जनताको मत नै सर्वाधिकार हुन्छ ।
प्रतिक्रिया
लेखकको बारेमा
खेमराज सापकाेटा
सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।
प्रतिक्रिया