चितवन : व्यावसायिक रूपमा पालिएका कुखुरामा गम्बोरो रोगको समस्या देखिएको छ । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुरमा गम्बारो रोगको समस्या लिएर किसानहरु आउनेको सङ्ख्या बढेको छ ।
कार्यालयका सूचना अधिकारी इन्दु राय यादवका अनुसार दैनिक १२ देखि १५ वटा कुखुराको परीक्षणका क्रममा ४/५ वटामा गम्बोरो रोगको सङ्क्रमण भेटिने गरेको छ । उनले भने, “यो रोग तीव्र गतिमा सर्ने रोग हो । यसलाई इन्फेक्सियस बर्सल डिजिज भन्ने गरिन्छ ।”
कुखुरामा यो रोग देखिएमा कुखुराहरु झोक्राउने र मर्ने गर्छन् । यस्तै शरीर काप्ने, प्वाँख गुजमुजिए जस्तो हुने, श्वास बढ्ने, दानापानी नखाने, सेतो पहेंलो छेर्ने, ज्वरो आउने लम्पसार पर्ने जस्ता लक्ष्यणहरू देखिने यादवले जानकारी दिए ।
उनका अनुसार यो रोग लागेमा २ देखि २० प्रतिशत कुराहरु मर्छन् भने कहिलेकाहीँ ६७ प्रतिशतसम्म मर्ने गरेको पाइएको छ । रोग लाग्न नदीनका लागि गम्बोरोविरूद्धको खोप लगाउने, जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, इम्युनिटी पावर बढाउन कुखुरालाई भिटामिन तथा औषधिको प्रयोग गर्ने, ज्वरो कम गर्ने तथा तनाव कम गर्ने औषधिको प्रयोग गर्न सकिने उनले बताए ।
कतिपय स्थानमा भ्याक्सिन लगाइ सकिएका कुखुरामा समेत यो रोगको सङ्क्रमण देखिएपछि अहिले थप अनुसन्धान विभागले गरिरहेको उनले बताए।
रोग लाग्न नदिनका लागि खोरमा काम गर्न जानुभन्दा अघि जैविक सुरक्षाका साधनहरुको प्रयोग गर्न जरुरी रहने उनको भनाइ छ ।
कार्यालयमा चालु आर्थिक वर्षको तीन महिनामा नौ सय २३ कुखुरामा रोगको पहिचान गरिएको यादवको भनाइ छ ।
प्रतिक्रिया