उदयपुर । मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको बेलका नगरपालिका–६ मा क्षमताभन्दा बढी यात्रु सवार रहेको अटो टेम्पो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।
रामपुरबाट लालबजारतर्फ जाँदै गरेको प्रदेश १–०२–००४ ह ४९८७ नम्बरको अटो आफैं अनियन्त्रित भएर मंगलबार दिउँसो ३ः१५ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा बेलका–३ की २७ वर्षीया निशा राई, बेलका–४ की ५७ वर्षीया दिलकुमारी खड्का, ७२ वर्षीय कूलबहादुर सुवेदी, अटो चालक ४२ वर्षीय बद्रीकुमार विश्वकर्मा, बेलका–५ की ३० वर्षीया अप्सरा परियार र २० वर्षीया अनिषा परियार घाइते भएका छन् ।
घाइतेमध्ये दिलकुमारी र कूलबहादुरको अवस्था गम्भीर छ । घाइतेहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
क्षमताभन्दा बढी यात्रु बोकेर तीव्र गतिमा चलाइएका कारण अटो दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया