देशभित्रको स्रोत र साधनले मात्र विकास गर्न पुग्दैन: गगन थापा

बुधबार, १२ मंसिर २०८१
विराटनगर : नेपाली काँग्रेसका महामन्त्री गगन थापाले देशभित्रको स्रोत र साधनले मात्र विकास गर्न नपुग्ने बताएका छन् । विराटनगर विमानस्थलमा बुधवार पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै थापाले यस्तो बताएका हुन । साथै उनले सत्तारुढ दलहरू चिनियाँ परियोजना ‘बेल्ट एण्ड रोड इनिसीएटीभ (बीआरआई)  कार्यान्वयनको पक्षमा रहेको बताएका छन् । उनले भनेका सत्तारुढ दलहरू काँग्रेस र नेकपा (एमाले) ले हुन् । बीआरआईका सन्दर्भमा सत्तारुढ काँग्रेस र एमालेको धारणा समान रहेको उनको भनाइ छ । यसअघि हस्ताक्षर भएका परियोजना यस पटक कार्यान्वयनको चरणमा जाओस् भन्ने चाहना आफूहरूले राखेको उनले बताए । सबै मित्र राष्ट्रसँग मित्रवत् सम्बन्ध स्थापित गर्न चाहेको भन्दै थापाले बीआरआई सम्झौता नेपालमा लागू गर्ने कुरा काँग्रेसका लागि नयाँ र नौलो नभएको बताए । थापाले बहुपक्षीय दातृ निकायबाट सस्तो र सहुलियतमा ऋण लिने पक्षमा काँग्रेस र एमाले रहेको स्पष्ट पारे । अमेरिका, भारत, चीन, जापान जुनसुकै राष्ट्रहरूबाट पनि सस्तोमा ऋण लिन काँग्रेस र एमाले तयार रहेको उनको भनाइ छ । ‘सन् २०१७ मा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को सरकार रहँदा तत्कालीन परराष्ट्र मन्त्री प्रकाश सरण महतले बीआरआई सम्झौता गर्नु भएको हो,’ उनी भन्छन्, ‘त्यसअघि चीनसँग भएका दर्जनौँ सम्झौताहरू कार्यान्वयन नभएकाले ती सबै सम्झौताहरूले पूर्णता पाओस् भन्ने अपेक्षा पनि छ ।’ चीनसँग भएका दर्जनौँ समझदारीहरूमा हस्ताक्षर र कार्यान्वयनको अपेक्षा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणबाट राखिएको उनले बताए । नेपाली काँग्रेस र एमालेबिच संविधान संशोधनको विषयमा साझा धारणा बनाउन पहल भइरहेको थापाले बताए । संविधान संशोधनका लागि पहिला काँग्रेस र एमालेका बिचमा साझा धारणा बनाएर त्यसपछि माओवादी, मधेसवादीलगायतका अन्य दलहरूसँग छलफल एवं बहस गर्ने उनको भनाइ छ । कसैले चाहेर संविधानका मूलभूत कुराहरू संशोधन गर्न नसक्ने उनको जिकिर छ । सङ्घीयता, गणतन्त्र, समावेशिता, समानुपातिक निर्वाचन प्रणाली, बहुदलीय व्यवस्था र संसदीय व्यवस्था परिवर्तन गर्न नसकिने थापाले बताए । उनले काँग्रेस र एमाले विकासका सवालमा एक रहेको स्पष्ट पारे । सरकारका विषयमा बाहिर आएको हल्लाजस्तो वास्तविकता नभएको उनको भनाइ छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार