विराटनगर । अपहरण र सामूहिक बलात्कार (जबरजस्ती करणी) घटनाका दुई जना अभियुक्त ११ वर्षपछि मोरङबाट पक्राउ परेका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार विराटनगर महानगरपालिका–१३ का ३८ वर्षीय पेशलकुमार सुनुवार र विराटनगर–१ का ३८ वर्षीय मनोज मण्डललाई पक्राउ गरिएको हो । सुनुवारलाई यसअघि नै अदालतले दोषी ठहर गर्दै कैद सजायको फैसला गरिसकेको थियो ।
घटना भएदेखि नै फरार रहेका कारण मण्डलको मुद्दा मुलतबीमा थियो । डीएसपी जोशीका अनुसार एउटा समूहले २०७० साल वैशाख १ गते युवतीलाई अपहरण गरेर साविकको कटहरी गाविस (गाउँ विकास समिति)–३ मा लगी सामूहिक बलात्कार गरेको थियो । प्रहरीले घटनामा संलग्नविरुद्ध अपहरण र जरबजस्ती करणी मुद्दा चलायो ।
तर, घटनामा संलग्न भनिएकामध्ये सुनुवारलाई जिल्ला अदालत मोरङको २०७१ असार २२ गते सफाइ दिएको थियो । अदालतले सफाइ दिएपछि उनी छुटेका थिए । त्यही मुद्दा उच्च हुँदै सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्च अदालतले जिल्लाको फैसला उल्टाउँदै २०७१ मंसिर ९ गते सुनुवारलाई ६ वर्ष ९ महिना २४ दिन कैद सजाय हुने फैसला गरेको प्रहरीले जनाएको छ ।
सजाय भुक्तान नगरिकन उनी लामो समयदेखि भागिरहेका थिए । अहिले सुनुवालाई पक्राउ गर्न प्रहरी सफल भएको जोशीले बताए । उनलाई पक्राउ गरेर प्रहरीले मोरङमा अदालतमा पेस गरेको छ । प्रहरीले पक्राउ गरेर बुझाएपछि सुनुवारलाई सजाय भुक्तानका लागि कारागार चलान गरिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।
यसअघि सुनुवार १ वर्ष २ महिना ६ दिन कारगार बसेका थिए । उनले अब ४ वर्ष ९ महिना १४ दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको अदालतले जनाएको छ ।
अपहरण र सामूहिक बलात्कारमा संलग्न भनिएका मण्डलविरुद्धको मुद्दा भने मुलतबीमा थियो । प्रहरीले पक्राउ गरेर बुझाएपछि उनलाई पनि मोरङ अदालतले कारागार चलान गर्न आदेश दिएको छ ।
थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश भएको सूचना अधिकारी बुढाथोकीले बताए । उनका अनुसार प्रतिवादीको बयान र थुनछेक बहस सकिएर अदालतबाट आदेश आएपछि मण्डललाई कारागार चलान गरिएको हो ।
सुनुवार र मण्डललाई गत सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । लामो समयदेखि फरार रहेका उनीहरुलाई खोजी गर्ने क्रममा फेला पारेर पक्राउ गरिएको जानकारी डीएसपी जोशीले दिए ।
प्रतिक्रिया