इलाम : इलाममा एक किसानले यस वर्ष ३४ लाख माथिको अलैँची उत्पादन गरेका छन् । सन्दकपुर गाउँपालिका २ माइमझुवाका किसान गिरिराज खनालले मकैबारी मासेर लगाएको खेतीबाट ३० मन उत्पादन गरेका हुन् ।
अलैँचीको मूल्य हाल १२ वर्ष यताकै उच्च अर्थात् प्रतिमन एक लाख १५ हजार रहेको छ ।
गाउँ गाउँमा पुगेका व्यापारीले महँगो मूल्य लगाउने गरेका छन् । बजारमा व्यापारीले एक लाख १० हजार माथि खरिद गर्ने गरेका छन् ।
निवर्तमान वडाध्यक्ष समेत रहेका खनालले लामो समय देखी अलैँची खेती गर्दै आएका छन् । बिचमा किसानले लगाएको अलैँची मासिँदा पनि आफूले सो खेती नछोडेको उनले बताए । बिचमा दानाबाट समेत अलैँची उत्पादन गरेर जिल्ला तथा जिल्ला बाहिरका किसान समक्ष बिरुवा पुर्याएको उनले बताए ।
हाल उनले ३३ रोपनी र २४ रोपनीका दुई वटा प्लटमा सो खेती गरेका छन् । हिउँदको समयमा तुसारो पर्ने भएकाले यहाँ हिउँदका दिनमा तुसारोबाट जोगाउन ग्रिन नेट लगाउने गरिन्छ ।
उनले यस वर्ष करिब ३० मन अलैँची उत्पादन गरेका छन् । आगामी वर्षबाट अझैँ उत्पादन बढ्ने उनले बताए । अलैँची लगाएको तीन वर्षदेखी उत्पादन सुरु हुन्छ । गएको वर्ष लगाएको नयाँ बिरुवाबाट समेत उत्पादन बढ्ने उनले बताए ।
राजनीति गर्ने मान्छेले केही न केही काम गर्नु पर्ने उनी बताउँछन् । राजनीति गर्न खर्च आवश्यक पर्ने भएकाले पनि केही काम गर्नु पर्ने जसका लागि आफूले कृषि पेसा गर्ने गरेको उनी बताउँछन् ।
किसान खनालले मात्र हैन पूर्वी पहाडी जिल्लाका किसानले यस वर्ष अलैँचीबाट राम्रो मूल्य लिइरहेका छन् । इलाम उद्योग वाणिज्य सङ्घ इलामका अध्यक्ष कृष्ण पौडेलका अनुसार पछिल्लो समय एक लाख १० हजार भन्दा बढी मूल्यमा राम्रो अलैँची बिक्ने गरेको छ । यो मूल्य अलैँचीको १२ वर्ष यताकै उच्च हो ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार बर्सेनि सवा चार अर्ब रुपैयाँ बराबरको अलैँची निकासी भइरहेको छ । चालु वर्ष २०८१/०८२ को पहिलो तीन महिनामा सात सय ८३.७५ मेट्रिक टन अलैँची मेची भन्सारबाट निर्यात भएको छ ।
यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशत कमी हो । आव २०८०/०८१ यो अवधिमा एक हजार पाँच सय २५.९६ मेट्रिक टन अलैँची निर्यात भएको तथ्याङ्कमा उल्लेख छ ।
प्रतिक्रिया