इलाम । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह मरले लोकतन्त्रमा पार्टीभित्रको फरक मतले नै लोकतन्त्र बलियो हुने बताएका छन्।
शिक्षा विभाग प्रमुख समेत रहेका महरले काँग्रेस इलामको मान्सेबुङ गाउँपालिकास्थित चतुरे बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अहिले बहुमत सरकार निर्माणका लागि संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नु पर्ने बहस भइरहेको छ ।
तर पार्टीहरू भित्रको अन्तर विरोध र फरक मत सम्बोधन गर्न नसक्दा पार्टीहरू फुटको सङ्घार सम्म पुगेका कारण कुनै पनि बहुमत प्राप्त सरकारले स्थिरता दिनु त परै जाओस् ,५ वर्षे कार्यकाल समेत सत्ता सञ्चालन गर्न सकेनन् । यसर्थ लोकतान्त्रिक पद्धति बलियो बनाऊन दलहरू भित्रको बहु-बिचारको सम्मान आवश्यक छ ।
'लोकतन्त्रमा आफ्ना धारणा राख्न पाइन्छ। नेपालमा संविधान संशोधनको बहस चलिरहेको छ। बहुमतको सरकार निर्माण गर्न गाह्रो भयो। सरकार स्थिर भएन। स्थिर सरकार नहुँदा विकास भएन र जनता निराश भए। यो बहस चलिरहेको बेला कारबाहीको डन्डा बर्साउनु र फरक मतलाई पार्टीबाट बाहिराउने कदमले संविधान संशोधनले स्थिर सरकार बनाउने कुराको औचित्य पुष्टि गर्न गाह्रो हुन्छ' उनले भने।
सत्ताको नेतृत्व कर्ता दल नेकपा एमाले तर्फ सङ्केत गर्दै 'संविधान संशोधन गरेर निर्वाचन प्रणालीबाट स्थायी सरकार बनाउने बाटो तय गर्ने भनिरहेका छौँ। तर, दलहरूभित्र फरक आवाजलाई डन्डा बजाउँदा विद्रोह हुन्छ। विद्रोह हुँदा सरकार ढलेर अस्थिरता निम्तिएका थुप्रै उदाहरण छन् ;उनले भने, 'मातृकाप्रसाद कोइरालादेखि अहिलेसम्मका अपवाद बाहेक सबै सरकार दलभित्रका विद्रोह, समस्या र असन्तुष्टिले ढलेका छन्। पार्टीभित्रको फरक मतलाई सम्मान गर्न सके मात्र प्रजातन्त्र बलियो हुन्छ।
'पार्टीभित्रका फरक मत नसहने सरकारले जनताका असन्तुष्टिलाई कसरी सम्बोधन गर्छ भन्ने प्रश्न पनि उठ्न सक्छ,' उनले भने।
पार्टीभित्रको आजको फरक र अल्पमत पनि कुनै दिन बहुमतको अवस्थामा पुग्न सक्ने कयौँ उदाहरणलाई भुल्न नहुने महरको सुझाव छ।
'हिजो काङ्ग्रेसभित्र नै एउटा पक्षलाई बाहिर्याउने प्रयास भएको थियो। फरक मतलाई सम्मान गर्न नसक्दा पार्टी फुटको अवस्थामा पुग्यो। पुनः पार्टी एकीकरणपछि त्यही व्यक्ति पार्टीको मूलधार बन्न सफल हुनुभयो। त्यसैले लोकतन्त्रमा पार्टीभित्र कसैको आवाजलाई पनि दबाउनु हुँदैन,' उनको सुझाव छ।
माओवादीभित्र पनि फरक मतलाई सम्मान दिन नसक्दा पटक-पटक पार्टी फुटेको उदाहरण दिँदै उनले नेपालका कम्युनिस्टहरूले आफ्नो उक्त व्यवहारलाई सुधार्न आवश्यक रहेको औँल्याएका छन्।
काँग्रेसमा फरक मतलाई थोरै स्थान दिइने भए पनि फरक मत राख्ने नेतालाई मूलधारबाट बाहिर्याउने प्रयास हुने गरेको र त्यसलाई काँग्रेसले पनि सुधार्नुपर्ने महरको भनाइ छ।
'२०४६ सालपछि प्राय: सबै दलहरू भित्र फरक मत राखेका नेतालाई पार्टीको मूलधारमा आउने बाटो छेक्ने काम भएका कयौँ उदाहरण छन्।लोकतान्त्रिक पद्धति र लोकतन्त्रका लागि चुनौती हो,' उनले भने। राजनीतिक दलले आफ्नो पार्टी ,नेता र कार्यकर्ताको बानी र व्यवहारमा संशोधन नगरिकनै हामीले भनिरहेको संविधान संशोधनको मर्मलाई यस्तो व्यवहारले सम्बोधन गर्न नसक्ने उनको टिप्पणी छ।
संविधान संशोधनको समयमा पार्टीभित्र दसौँ धारणा आउन सक्ने र बहुमत, अल्पमतले निर्णय गर्नुपर्ने अवस्था आएमा फरक मत राख्नेहरूलाई पार्टीबाट बहिस्कृत गराउने हिजो कङ्ग्रेस,एमाले,नेकपा ,माओवादी ,मधेस केन्द्रित लगायतका दलहरूमा विगतमा देखिएको टुटफुटको जस्तै अवस्था सिर्जना भएमा संविधान संशोधनमै धक्का पुग्ने महरको चिन्ता छ।
उनले यस्तो अवस्थामा संविधान र लोकतन्त्र दुवै कमजोर हुने बताएका छन्। त्यसैले पार्टीभित्रको लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन फरक मतको सम्मान हुनुपर्ने र त्यसले समग्र लोकतान्त्रिक प्रणालीमा टेवा पुर्याउने उनको धारणा छ।
प्रतिक्रिया