१९ औँ अम्बर ललित डिपो कप : उद्घाटन खेलमा आयोजक विजयी

शुक्रबार, १२ पुस २०८१
धरान : डिपो स्कुलको आयोजनामा आयोजित १९ औँ अम्बर ललित डिपो कपको उद्घाटन खेलमा आयोजक डिपो स्कुल रेड टिम विजयी भएको छ । आजदेखि सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा डिपोले देउराली चिल्ड्रेन स्कुललाई ५–० फराकिलो गोल अन्तर निकाल्दै सहज रूपमा जित निकालेको छ । खेलमा डिपोका सुरज राणा मगरले ह्याट्रिक गरेका छन् । उनले पहिलो हाफको ३ मिनेट, दोस्रो हाफमा ३ र २३ मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए । यसैगरी डिपोका कुशल राईले दोस्रो हाफको १२ मिनेटमा गोल गरे । यसैगरी देउराली चिल्ड्रेनका सक्षम राईले पहिलो हाफको ११ औँ मिनेटमा आफ्नै गोल पोस्टमा अत्मघाती गोल गरेका थिए । खेलको म्यान अफ द म्याच देउराली चिल्ड्रेनका उज्वल घतानी घोषित भए । उनलाई कार्यक्रमका प्रमुख अतिथि सुनसरी फुटवल संघका अध्यक्ष नवीन राईले ट्रफी प्रदान गरे । कक्षा ५ सम्मका विद्यार्थीहरूले मात्र सहभागिता जनाउन पाइने विद्यालयस्तरीय प्रतियोगितामा १६ टिमले सहभागिता जनाएको छ । सहभागी विद्यालयहरूमा आयोजक डिपो स्कुल रेड र व्लु, देउराली चिल्ड्रेन, धरान लिगामेन्ट, प्रभात वोड्रिङ्ग स्कुल, समिट स्कुल, इमानुयल स्कुल, सुनाखरी स्कुल, हिविकस स्कुल, काम्रेल हाइ स्कुल, जोलसाय स्कुल, नेपाल पुलिस स्कुल, आइडियल स्कुल, दिल्ली पव्लिक स्कुल, नेवेल एकेडेमी र माउण्ट हर्मन स्कुलले सहभागिता जनाएका छन् । पुस १९ गते सम्पन्न हुने प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि राई र कार्यक्रमका सभाध्यक्ष डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अमरबहादुर लिम्बूले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरेका थिए । खेलको विजेताले नगद ११ हजार एक सय ११ रुपैयाँ, दोस्रोले नगद ७ हजार एक सय ११ र तेस्रो हुनेले नगद पाँच हजार एक सय ११ रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने विद्यालयका प्राचार्य राजकुमार राईले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार