रकम घोटाला गरेर निलम्बनमा परेका कमल तिम्सिना जब प्रधानाध्यापकको बैठकमा पुगे...

बुधबार, १७ पुस २०८१
इटहरी : इटहरी उपमहानगरपाकिलाको शिक्षा शाखाले यहाँ रहेका ३६ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई मंगलबार बैठकमा डाक्यो । मंगलबार दिउँसो उपमहानगरपालिका परिसरमै बैठक बस्ने भएसँगै सबै विद्यालयका प्रधानाध्यापकहरू सहभागी भए । त्यतिकैमा रकम घोटाला प्रकरणमा सहभागी भएर निलम्बनमा परेका कमल तिम्सिना पनि सहभागी भए । उनको उपस्थितिले अन्य प्रधानाध्यापकहरू एकअर्कामा हेराहेर गरे । तर, केही प्रतिक्रिया जनाएनन् । बरू उनै तिम्सिनाले भने लामो समय लिएर विद्यालयमा विभिन्न समस्या रहेको भन्दै जानकारी गराए । इटहरी उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख रमेश कुमार साहले पुस ११ गतेको मितिमा इटहरी १४ मा रहेको श्री शान्ति सिर्जना माध्यमिक विदालयका तत्कालीन प्रधानाध्यापक रहेका तिम्सिनालाई प्रधानाध्यापकबाट निलम्बनमा परेको पत्र पठाएका थिए । प्रावि द्धितीय श्रेणीमा कार्यरत तिम्सिनाले माविको जिम्मेवारी सम्हाल्दै आएका छन् । उपमहानगरबाट गएको करिब ७८ लाख रुपैयाँ रकम तिम्सिनाले घोटाला गरेको विषय उत्कर्षमा पुगेपछि उनलाई निलम्बन गरिएको हो । उनै निलम्बित शिक्षक तिम्सिना प्रधानाध्यापकको बैठकमा उपस्थित भएर आफ्नो मन्तव्यमा समय खर्चिए । हेर्दा र उनको भाषण सुन्दा शालीन र इमानदार देखिएपनि उनले रकम घोटाला गरेको पुष्टि भएपछि यसअघि इटहरी उपमहानगरले छानबिन समिति पनि बनाएको थियो । तर, उक्त छानबिन समितिले भने बढी गएको रकम सबै फिर्ता आएकाले तत्कालीन प्रअ तिम्सिनालाई चोख्याएको थियो । उनलाई छानबिन समितिले चोख्याएपनि कार्यपालिका बैठकमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले कुनै हालतमा कारबाही हुनैपर्ने माग राखेका थिए । सोही विषयलाई लिएर इटहरीको कार्यपालिका बैठक तीन महिनासम्म बस्न सकेन । तर, प्रअ तिम्सिनालाई गत ११ गते निलम्बन गरेको पत्रसँगै पुस १२ गते कार्यपालिका बैठक बसेको थियो । उक्त बैठकमा पनि सो विषयलाई राम्रै ‘स्पेस’ पायो । निलम्बनमा परेका तिम्सिनालाई शिक्षा समितिको बैठकबाट थप निर्णय गर्ने र कार्यपालिका सदस्यकै भावनाअनुसार निर्णय गर्ने मेयर हेमकर्ण पौडेलले आश्वासन दिलाएपछि बैठक अगाडि बढेको थियो । बैठकमा सहभागी भएको विषयमा उपमहानगरका शिक्षा महाशाखा प्रमुख रमेश कुमार साह भन्छन्, ‘खासमा हेडसरहरूलाई बोलाएको हो । तर, तिम्सिना सर भने आफूलाई विद्यालयले पठाएको भनेर सहभागी हुनुभयो ।’ आफूलाई विद्यालयले प्रतिनिधिका रूपमा पठाएको भनेर उनी बैठकमा बसेको साहले बताए । ‘मैले प्रअको हैसियतमा बस्न दिइँन र हस्ताक्षर गर्दा पनि प्रअ लेख्न पाएनन्,’ उनले भने, ‘निलम्बनमा परेको व्यक्तिलाई बैठकमा राखेको भनेर हामीलाई पो आक्षेप आउने अवस्था भइसक्यो, मैले विद्यालय व्यवस्थापन समितिलाई अर्को प्रधानाध्यापक तत्काल नियुक्ति गर्नुहोस् भनिसकेको छु ।’ आगामी कुनै पनि कार्यक्रममा तिम्सिनालाई सहभागी हुन नदिने उनले बताए । ‘हाजिरीमा प्रअ लेख्न दिइएको छैन । तर, कुनै हेडसर नभ्याएको बेला प्रतिनिधि पठाउने व्यवस्था छ । सोहीअनुसार आएको भनेपछि बैठकमा बसे,’ साहले भने । उनका अनुसार विद्यालय व्यवस्थापन समितिले तत्कालै अरू शिक्षकलाई नै प्रधानाध्यापक नियुक्त गरेर उपमहानगरमा पत्र पठाउन आग्रह गरिएको छ । विद्यालयका प्रअ भने विद्यालय व्यवस्थापन समितिले नै नियुक्ति गर्ने व्यवस्था छ । बैठकमा सहभागी एक प्रधानाध्यापक भन्छन्, ‘निलम्बनमा परेका शिक्षक प्रअको बैठकमा सहभागी भएपछि हामीलाई त लाजै भयो । बैठकमा बस्नु कि, हिँड्नुजस्तो भयो ।’ तिम्सिना सहभागी भएपछि आफूहरूलाई बैठकमा बसिरहन लज्जास्पद भएको उनले जनाए । यता, शान्ति सिर्जना मावि व्यवस्थापन समितिका अध्यक्ष रम्तुल मियाका अनुसार यसअघि पनि बैठक बसेर प्रअ कसलाई बनाउने भन्नेबारे छलफल भएको थियो । छलफलबाट कुनै निष्कर्ष निस्किएन । ‘हेडसर चलाउन इच्छुक को भनेर कुरा हुँदा जो पनि म बस्दिन भन्छ,’ उनले भने, ‘अब बिहीबार अर्को बैठक छ । कोही छनोट भयो भने हुन्छ, नभए नगरपालिकामा गएर हामीलाई अलिक राम्रो मान्छे चाहियो भनेर माग गर्छौँ ।’ उनले उपमहानगरले असल शिक्षक पठाउनुपर्ने प्रतिक्रिया दिए । खासगरी आर्थिक वर्ष ०७९।८० मा शिक्षकको तलव शीर्षकको बजेटमा उपमहानगरले श्री शान्ति सिर्जना माध्यमिक विद्यालयलाई ८ लाख ७३ हजार ६८३ रुपैयाँ रकम उपलब्ध गराउनुपर्ने थियो । तर, ७८ लाख ६३ हजार रकम भुक्तानी भयो । २०७९ सालको श्रावण, भाद्र असोज (चाडपर्व खर्चसमेतको) तलवभत्ता वापत उपमहानगरले उपलब्ध गराउनुपर्ने भन्दा करिब ८० लाख रकम भुक्तानी गरेपछि उक्त रकम तिम्सिनाले ‘घोटाला’ गरेको पुष्टि नै भएको थियो । इटहरीका ३६ वटै सामुदायिक विद्यालयलाई उपमहानगरले २०७९ असोज ५ गते राष्ट्रिय वाणिज्य बैँकको खातामार्फत कुल ६ करोड ३० लाख ६१ हजार ६६० रुपैयाँ जम्मा गरेको थियो । जसमध्ये शान्ति सिर्जना माध्यमिक विद्यालयलाई ८ लाख ७३ हजार ६८३ रुपैयाँ रकम उपलब्ध गराउनुपर्ने थियो । तर, उपमहानगरबाट भने ७८ लाख ६३ हजार बढी रकम भुक्तानी भयो । उक्त रकम भुक्तानी भएको २२ महिनासम्म तत्कालीन प्रअ तिम्सिनाले जानकारी गराएनन् । तर, आन्तरिक लेखा परीक्षणमा भने उक्त रकम बढी गएको देखिएपछि घटना बाहिरिएको थियो । घटना बाहिरिएपनि सामसुम पार्ने प्रयास गरिएको थियो । तर, पहिलोपटक प्रदेश खबरले उक्त विषयबारे समाचार प्रकाशन गरेपछि यो घटना बाहिरिएको हो । यसअघि उपमहानगरको लेखा अधिकृत लखन चौधरीको संयोजकत्वमा प्रशासन अधिकृत सञ्जीव खड्का र कानुन अधिकृत कमलराज पोखरेल सदस्य रहनेगरी छानबिन समिति बनाएको थियो । उक्त समितिले २०८१ भदौ १३ गते प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनमा बढी गएको रकम बुझाउनुपर्ने भएकाले यसअघि नै बुझाइसकिएको भन्दै तिम्सिनालाई उन्मुक्ति दिइएको छ । यो पनि – एक सातामा बस्ने भनिएको इटहरीको कार्यपालिका बैठक तीन महिनापछि बस्दै, रकम घोटाला गर्ने शिक्षकलाई के हुन्छ ? यो पनि – इटहरीमा ‘८० लाख घोटाला गर्ने हेडसर’लाई अझै भएन कारबाही, कार्यपालिका बैठक नै रोकियो यो पनि – इटहरीमा प्रधानाध्यापकद्धारा ८० लाख घोटाला प्रकरण : कर्मचारी मुछिने डरले ‘चोख्याइयो’ यो पनि – इटहरीमा प्रधानाध्यापकद्धारा घोटाला प्रकरण : हर्जनासहित रकम फिर्ता, छानबिनको प्रतिवेदन के आउँछ ? यो पनि – इटहरीमा प्रअद्धारा ‘घोटाला’ प्रकरण : निलम्बनको मागसहित आज उपमहानगरमा पत्र बुझाइने यो पनि – इटहरीमा प्रअद्धारा ८० लाख ‘घोटाला’ प्रकरण : विद्यालयबाट बिल, भौचर, चेक र माइन्युट ‘जफत’ यो पनि – इटहरीमा प्रधानाध्यापकले ‘कीर्ते हस्ताक्षर’ गरी ८० लाख ‘झ्वाम’ पारेको खुलासा, छानबिन समिति गठन यो पनि – सम्पादकीय : राज्यको पैसा ‘घोटाला’ गर्ने प्रधानाध्यापकमाथि निष्पक्ष छानबिन गर यो पनि – एक्सक्लुसिभ : इटहरी उपमहानगरको लापरबाही र विद्यालयका प्रधानाध्यापकको ‘नियत’का कारण ८० लाख रकम ‘घोटाला’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार