पोखरा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेकपा एमालेसँगको गठबन्धन सरकार सञ्चालनका लागि पार्टीबाट बनेको संयन्त्रले पर्दा पछाडिबाट प्रभावकारी काम गर्न नसकेको बताएका छन् ।
शनिबार नेपाल मुस्लिम संघको दोस्रो गण्डकी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।
कांग्रेसको सरकार सञ्चालनका लागि बनेको संयन्त्रले पर्दा पछाडि प्रभावकारी काम गर्न नसकेको र त्यसलाई गतिशील बनाउनुपर्ने उनले औंल्याए ।
‘आम कार्यकर्ता र जनताको भावनामा रहेको संयन्त्रले काम गर्न सकेको छैन । कांग्रेसको ओज र स्टेन्थलाई बराबर राख्न संयन्त्रले बढी ध्यान दिनुपर्छ। टुलुटुलु हेरेर बस्नु भएन। कांग्रेसको ओज घटाउन हुन्न भनेर गम्भीर बन्नुपर्यो,’ उनले भने।
गठबन्धन र देशको भावना विपरीत कुरामा कांग्रेसको संयन्त्रले सरकारसँग डिभेड गर्न सक्नुपर्ने उनको भनाइ छ ।
‘सरकारसँग संयन्त्रले धेरै डिभेड गर्न नसकेको देशभरका साथीहरूको ठम्याइ छ । त्यसैले कांग्रेसको ओज र स्थितिलाई मध्यनजर गर्दै सम्मानको शक्ति सन्तुलन हुनुपर्छ। यसमा शीर्ष नेतृत्वको ध्यान पुगोस्,’ महरले भने।
यसका साथै समावेशीताको पूर्ण कार्यान्वयनका संविधानको अक्षरंश पालना हुनुपर्ने महरले बताए ।
संविधानले सबै जातजाति, समुदायका मानिसको अधिकार सुनिश्चित गरेको बताउँदै महरले त्यसको सफल कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया