लायन्स क्लबको सहयोगमा दमक अस्पतालमा आइसियु निर्माण हुने

शुक्रबार, ०४ माघ २०८१
दमक : लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ सी को अग्रसरता र दमकमा रहेका स्थानीय लायन्स क्लब तथा दमक नगरपालिकाको सहभागितामा दमक अस्पतालमा सुविधा सम्पन्न आइसियु निर्माण हुने भएको छ । लायन्स डिस्ट्रिक्ट ३२५ सी का गभर्नर विकास अधिकारीका अनुसार लायन्स क्लब फाउन्डेसनले दमकका स्थानीय लायन्स क्लब तथा दमक नगरपालिका समेतको सहभागितामा निर्माण हुने आइसियुका लागि बजेट छुट्याएको हो । अधिकारीका अनुसार फाउन्डेसनले आवश्यकताका आधारमा विभिन्न सेवाका कार्यका लागि सहयोग गर्दै आएको छ । सोही आधारमा ३२५ सी को माग बमोजिम सहयोग गर्न फाउन्डेसन तयार भएको हो । दमकमा सरकारी अस्पताल भए पनि सुविधा सम्पन्न आइसियुका अभावमा बिरामीलाई बिराटनगर धरान तथा भद्रपुरसम्म रेफर गर्नुपर्ने बाध्यता रहेको थियो । तर, लायन्सले आइसियु निर्माण गरिदिने भएपछि अप्ठ्यारो अवस्थाको अन्त्य हुने विश्वास लिइएको छ । भवन निर्माणका लागि लागि करिब साढे दुई करोड लाग्नेमा लायन्स फाउन्डेसनले १.५ लाख डलर (नेपाली रुपैयाँ दुई करोड) र स्थानीय क्लब तथा नगरपालिकाले म्याचिङ फण्डका रुपमा ५० लाख जुटाउने छन् । गभर्नर अधिकारीका अनुसार सबै प्रक्रिया अन्तिम चरणमा पुगेको र चाडै नै शिलान्यास गरी आइसियु निर्माणलाई तीव्रता दिइने छ । बैशाखसम्म निर्माण पूरा गरी अस्पताललाई हस्तान्तरण गरिनेछ । लायन्सले पुनःनिर्माण, बाढीपहिरो भुकम्पमा परी पीडामा रहेका जनताको सेवा, शिक्षा स्वास्थ तथा सेवाका अन्य कार्यमासमेत सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार